+
एभरेस्ट महिला भलिबल लिग :

एभरेस्ट महिला भलिबल लिग आजदेखि, कर्णाली र पोखरा उद्घाटन खेलमा खेल्दै

२०८२ भदौ  २० गते ९:०४ २०८२ भदौ २० गते ९:०४
एभरेस्ट महिला भलिबल लिग आजदेखि, कर्णाली र पोखरा उद्घाटन खेलमा खेल्दै

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वात्सल्या एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करण २० भदौदेखि पोखरामा सुरु हुँदैछ।
  • साविक विजेता कर्णाली यशविस र घरेलु टोली पोखरा निन्जाज उद्घाटन खेलमा भिड्नेछन्।
  • कर्णालीले ब्राजिल र ग्रीसका तीन विदेशी खेलाडी अनुबन्ध गरेको छ भने पोखराले तीन फरक राष्ट्रका विदेशी खेलाडी राखेको छ।

२० भदौ, पोखरा । वात्सल्या एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी)को दोस्रो संस्करण आजदेखि पोखरामा सुरु हुँदैछ ।

इन्फिनिटी ड्रिम्सको आयोजनामा गत वर्ष देखि सुरु भएको लिग पहिलो पटक काठमाडौं बाहिर पोखरामा हुन लागेको छ ।

पहिलो संस्करणको विजेता कर्णाली यशविस र पोखरा निन्जाज उद्घाटन खेलमा भिड्नेछन् । उद्घाटन खेल दिउँसो २ बजे पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा सुरु हुनेछ ।

आजै ललितपुर क्विन्स र मधेश युनाइटेडबीच दोस्रो खेल अपरान्ह ४ बजे सुरु हुनेछ ।

साविक विजेता कर्णालीको मार्कीमा सुमिता रेग्मी र मुख्य प्रशिक्षकमा कुमार राई नै निरन्तर छन् । यस संस्करणमा कर्णालीलाई अपराजित च्याम्पियन बनाएको सुमित्रा रेग्मीकै कप्तानीमा कर्णाली यस पठक पनि कोर्ट उत्रनेछ भने घरेलु टोली पोखरा निन्जाजको मार्की तथा कप्तानमा युवा सेटर प्रगती नाथ छन् ।

पहिलो संस्करण खेलेको गण्डकी थण्डर्सको सट्टा यस संस्करणमा पोखरा निन्जाज खेल्दैछ । प्रगतीले पहिलो संस्करण गण्डकीबाटै खेलेको थियो । यस पटक उनी नयाँ मार्की बन्दै पोखराको नेतृत्व समेत गर्दैछन् ।

कर्णाली र पोखरा दुवै टिम उद्घाटन खेलका लागि तयार छन् । दुवै टिममा घरेलु भलिबलको सफल टोली न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबमा खेलिरहेका सुमित्रा र प्रगति मार्की छन् । त्यसैले यो खेल अझ हेर्न लायक हुनेछ । क्लब र राष्ट्रिय टिममा सँगै खेल्ने सुमित्रा र प्रगति यस पटक भने प्रतिद्वन्दी बनेर खेल्दैछन् ।

साविक विजेता कर्णाली पहसलो खेलदेखि नै राम्रो प्रदर्शन गर्दै उपाधि जोगाउने अभियानमा छ । कप्तान सुमित्रा रेग्मीले तयारी राम्रो भएको बताइन् । ‘साविक विजेता भएकोले यस पटक उपाधि जोगाउनुपर्ने चुनौती छ । हाम्रो तयारी पनि राम्रो छ’ सुमित्राले भनिन् ।

यसपटक खेलाडीको अक्सन भएकोले सुमित्रा बाहेक सबै खेलाडी फेरिएका छन् भने विदेशी पनि नयाँ छन् । त्यसले गर्दा केही चुनौती भएपनि सँगै ट्रेनिङ गरेकोले टिम बण्डिङ राम्रो भएको सुमित्राले बताइन् ।

‘चुनौती त छ । तर टिम बोण्डिङ राम्रो भएको छ । नेपाली खेलाडीसँग सँगै ट्रेनिङ गरेर घुलमिल भइकसका छौं । विदेशी खेलाडीसँग पनि केही दिन सँगै ट्रेनिङ गर्‍यौं । विदेशी खेलाडीहरु पनि राम्रो हुनुहुन्छ । उहाँहरुसँग खेल्न पाउँदा खुशी छौं’ सुमित्राले अन्य टिममा पनि विदेशी खेलाडीहरु राम्रो भएकोले यस पटक राम्रो खेल हुने बताइन् ।

लिगको पहिलो खेल खेल्न सबै खेलाडीहरु उत्सहित रहेको र राम्रो प्रदर्शन गर्ने बताइन् । ‘हामी आफ्नो उत्कृष्ट प्रदर्शन दिनेछौं र पहिलो खेलका लागि सबै जना उत्सहित छौं । शतप्रतिशत दिनेछौं’ सुमित्राले बताइन् ।

कर्णालीले यस संस्करणमा ल्याटिन अमेरिकी राष्ट्र ब्राजिलबाट दुई र ग्रीसबाट एक खेलाडी अनुबन्ध गरेको छ । ब्राजिलियन खेलाडीको प्रदर्शन कस्तो हुन्छ त्यसमा पनि कर्णालीको प्रदर्शन थाहा हुनेछ ।

कर्णालीमा ब्राजिलियन सेटर आना फ्लाभिया र आउटसाइड हिटर मायरा भिटोरिया र ग्रीसकी आउटसाइड हिटर एभान्जेलिया चान्टाभालाई अनुबन्ध गरेको छ ।

मिडल ब्लकरमा कप्तान सुमित्रा, आउटसाइडहिटर सफिया पुनसँगै अपोजिटमा पुजा थारु र रेबिका लामा लगायतको प्रदर्शन कर्णालीका लागि महत्वपूर्ण हुनेछ ।

यस्तै प्रगति नाथले पनि तयारी राम्रो भएको र अब कोर्टमा प्रदर्शन गर्न बाँकी रहेको बताइन् । ‘तयारी राम्रो भएको छ । अब बाँकी कस्तो हुन्छ खेलमा देखिन्छ’ उनले भनिन् ।

प्रगतिले खेलाडी र मार्की हुँदा फरक भएपनि दबाब लिने नलिनेमा भर पर्ने बताइन् । ‘खेलाडी हुँदा आफैं खेले हुन्छ । मार्की हुँदा पनि दबाब त हुँदैन तर दबाब लिएर खेल्यो भने दबाब हुन्छ’ उनले भनिन् ।

यस्तै विपक्षीको बारेमा सोध्दा कर्णाली च्याम्पियन टिम भएकोले राम्रो रहेपनि आफ्नो टिम पनि राम्रो रहेको प्रगतिले बताइन् । ‘कर्णाली च्याम्पियन टिम हो । हाम्रो टिम पनि राम्रो छ । पहिलो खेल देखि नै हामी बेस्ट दिने प्रयास गर्छौं’ प्रगतिले भनिन् ।

पोखरा भलिबलमय शहर रहेकोले यहाँ भलिबलका समर्थकहरु धेरै छन् । त्यसमा पनि पोखरा निन्जाज घरेलु टिम नै भएकोले अझ धेरै दर्शकको साथ पाउनेछ । ‘यहाँको दर्शकको अगाडि खेल्नु अझै फाइदाको कुरा हुनेछ । खेल राम्रो खेल्दै गयौं भने दर्शकको साथ पनि आइहाल्छ’ प्रगतिले भनिन् ।

लिगका लागि पोखराले तीन फरक राष्ट्रबाट विदेशी खेलाडी अनुबन्ध गरेको छ । अमेरिकन आउटसाइड हिटर एडेओला ओवोकोनिरान, क्रोएसियाकी मिडल ब्लकर लियो बोबान र रोमानियाकी आउटसाइड हिटर एना-मारिया बेरडिलालाई अनुबन्ध गरेर पोखराले टिमलाई सन्तुलित बनाएको छ ।

पोखराका लागि मार्की प्रगति नाथसँगै आउटसाइड हिटर पुनम चन्द र मिना सुनार, अपोजिट हिटर गरिमा बोहराको खेल निर्णायक हुनेछ ।

विशेषगरी पोखरामा युवा खेलाडीहरुको बाहुल्य छ । विदेशी खेलाडी र युवा नेपाली खेलाडीहरुको मिश्रणसहितको पोखराले पोखराकै कोर्टमा कस्तो सुरुवात गर्छ हेर्न बाँकी छ ।

एभरेष्ट महिला भलिबल लिग कर्णाली यशविस पोखरा निन्जाज
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय