
२० भदौ, काठमाडौं । सामाजिक सञ्जाल बन्द गर्ने क्रममा युट्युब बन्दा गर्दा आईपी एउटै परेमा जिमेलसमेत बन्द हुनसक्ने इन्टरनेट सेवा प्रदायक संघ (आईएसपान) का अध्यक्ष सुधीर पराजुलीले बताएका छन् ।
नेपालमा सामाजिक सञ्जालहरू प्रतिबन्धसँगै इन्टरनेट प्रयोगमा देखिएको असरबारे अनलाइनखबरसँग कुरा गर्दै पराजुलीले भने, ‘युट्युब ब्लक गर्दा आईपी एउटै परे जिमेल पनि बन्द हुन्छ, अनि त्यसको असर हामीले चलाइरहेको फोनले पनि आंशिक रूपमा काम नगर्न सक्छ ।’
पराजुलीका अनुसार, यो संवेदनशील प्राविधिक पक्ष सरकारले बुझ्नै सकेको छैन । ‘सामाजिक सञ्जाल बन्द गर्ने निर्णय राजनीतिक र प्रशासनिक तहमा भएको छ। प्राविधिक ज्ञानबिना यस्ता आदेश दिइएको छ, जसको असरबारे सरकारले अनुमानै गरेको छैन,’ उनले भने ।
किन आंशिक चलिरहेको छ सामाजिक सञ्जाल ?
फेसबुक जस्ता प्लेटफर्म रोक्नका लागि कम्तीमा ५-६ हजार आईपी ब्लक गर्नुपर्ने भएकाले सबै सञ्जाल बन्द गर्न समय लाग्ने पराजुलीले प्रष्ट पारे । उनका अनुसार, अहिले इन्टरनेट सेवा प्रदायकहरूले बढी ध्यान फेसबुक, ह्वाट्सएप, इन्स्टाग्राम र युट्युबजस्ता ठूला एपहरूमा दिइरहेका छन् ।
उनले भने, ‘सामाजिक सञ्जालहरू एकैचोटि बन्द हुँदैनन्, राउटरहरू क्रमशः ब्लक गर्दै जानुपर्छ । एउटै नेटवर्कमा एउटै प्रयोगकर्ताको इन्टरनेट चल्छ भने अर्काको चल्दैन, यसलाई सामान्य प्रक्रिया मान्नुपर्छ ।’
पराजुलीले नेपाल सरकारको सूचना प्रविधि कम्पनीहरूको नेतृत्वसम्म पुगेकोमा आशंका व्यक्त गरे । ‘हालसम्म हाम्रो सम्पर्क त्यहाँका प्राविधिक कर्मचारीहरूसँग मात्रै भएको छ। यदि सरकार प्रत्यक्ष सम्पर्कमा गएर कुरा गरेको भए सजिलो हुने थियो,’ उनले भने, ‘सरकारसँग प्रत्यक्ष सम्पर्कमै काम भएको भए हुने थियो ।’
ब्यान्डविथमा दबाब
सामाजिक सञ्जाल बन्द भएसँगै प्रयोगकर्ताहरूले भीपीएनको प्रयोग गरेर सामाजिक सञ्जाल चलाउने विकल्प रोज्छन् ।
भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) एउटा यस्तो सुरक्षित इन्टरनेट बाटो हो । यसले प्रयोगकर्ताको वास्तविक लोकेसन (आईपी ठेगाना) लुकाउँछ र ब्लक गरिएको वेबसाइट वा एप चलाउन मद्दत गर्छ ।
सामान्यतया प्रयोगकर्ता नेपालमै बसेर फेसबुक चलाउँदा ट्राफिक सिधै फेसबुकको नजिकैको सर्भर (भारत, सिंगापुर वा नेपालमै भएको सीडीएन) बाट आउँछ।
तर, प्रयोगकर्ताले भीपीएन चलाउँदा इन्टरनेट पहिले भीपीएन प्रदायकको सर्भर पुगेपछि मात्र काम गर्छ । यो क्रममा बाटो लामो हुन्छ र डाटाले दुई-तीनपटकसम्म इनक्रिप्ट-डिक्रिप्ट हुन्छ ।
अध्यक्ष पराजुलीका अनुसार, आजसम्म आंशिक रूपमा सामाजिक सञ्जाल चलेकोले इन्टरनेटको कुल ब्यान्डविथ प्रयोग धान्नै नसक्ने गरी बढेको छैन । तर पनि सोमबार भाइबरको सर्भर क्र्यास हुँदा केही समय एप डाउनलोड र सञ्चालनमा समस्या देखिएको थियो ।
पराजुलीले भने, ‘१०-२० प्रतिशतसम्मको अतिरिक्त मार्जिन इन्टरनेट प्रदायकहरूले राखेकै हुन्छ, अहिले त्यहीभित्रै सञ्चालन भइरहेको छ ।’
उनले थपे, ‘अन्ततः अन्तर्राष्ट्रिय ब्यान्डविथ बढाउनैपर्छ, जसले थप खर्च बढाउँछ । टिकटकको प्रयोग बढेकाले ब्यान्डविथ थप्नुपर्नेछ, तर उनीहरूले हालसम्म थप्न मानिरहेका छैनन्।’ यसबाट इन्टरनेटको मूल्यसमेत बढ्न सक्ने उनले संकेत गरे ।
प्रतिक्रिया 4