
२१ भदौ, काठमाडौं । सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको २ दिनपछि नेपालमा युट्युब पनि बन्द भएको छ । सरकारले गरेको निर्णय र नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशन अनुसार इन्टरनेट सेवा प्रदायक संघ (आईस्पान) ले नेपालमा युट्युब बन्द गरेको हो ।
युट्युब बन्द भएसँगै त्यहाँभएका म्युजिक भिडियो, फिल्म, वेब सिरिज, गीत–संगीत, समाचार, कमेडीलगायतका थुप्रै भिडियोहरूमा नेपाली दर्शकको पहुँच रोकिएको हो ।
आईस्पानका अध्यक्ष सुधीर पराजुलीले युट्युबका सबै आइपी एड्रेसहरू खोज्दै बन्द गर्ने प्रक्रिया सुरू भइसकेको बताए । उनका अनुसार अहिले वेब ब्राउजरमा युट्युबको आईपी एड्रेस बन्द गरिएको छ । यद्यपि शनिबारसम्म मोबाइल एपमा भने युट्युब चलिरहेको छ ।
उनले अनलाइनखबरसँग भने, ‘हामीले सरकारको निर्णय र दूरसञ्चार प्राधिकरणको निर्देश मान्दै दर्ता नभएका सामाजिक सञ्जालहरूको आईपी एड्रेसहरू बन्द गर्न थालेका छौं । हिजो फेसबुक, एक्स, इन्स्टाग्राम वेब पेजमा बन्द भएका छन् भने आज बिहानदेखि वेब ब्राउजरमा युट्युब पनि बन्द छ भने मोबाइलमा बन्द हुने क्रममा छन् । ‘
पराजुलीका अनुसार, यो संवेदनशील प्राविधिक पक्ष सरकारले बुझ्नै सकेको छैन । ‘सामाजिक सञ्जाल बन्द गर्ने निर्णय राजनीतिक र प्रशासनिक तहमा भएको छ । प्राविधिक ज्ञानबिना यस्ता आदेश दिइएको छ, जसको असरबारे सरकारले अनुमानै गरेको छैन,‘ उनले भने ।
नेपालमा सामाजिक सञ्जालहरू प्रतिबन्धसँगै इन्टरनेट प्रयोगमा देखिएको असरबारे कुरा गर्दै पराजुलीले भने, ‘युट्युब ब्लक गर्दा आईपी एउटै परे जिमेल पनि बन्द हुन्छ, अनि त्यसको असर हामीले चलाइरहेको फोनले पनि आंशिक रूपमा काम नगर्न सक्छ ।‘
सामाजिक सञ्जाल बन्द भएपछि डिजिटल अर्थतन्त्र, स्टार्टअप र साना व्यवसायको अनलाइन मार्केटिङ ठप्प भएको छ भने समग्र आर्थिक सूचकहरूमा नकारात्मक प्रभाव परेको छ । कलाकारहरूले सार्वजनिक गर्न लागेको नयाँ गीत रोकेका छन् भने विभिन्न टेलिसिरियल, कमेडीलगायतका हास्यव्यङ्ग्य कार्यक्रम पनि प्रसारण हुन सकेका छैनन् ।
यस्तै कन्टेन्ट क्रिएटर र स्टार्टअपको आम्दानी गुम्न थालेको भन्दै सरोकारवालाहरूले गुनासो गरेका छन् ।
प्रतिक्रिया 4