
२१ भदौ, काठमाडौं । नेकपा एमालेको दोस्रो विधान महाधिवेशनमा प्रस्तुत प्रतिवेदनमाथि अहिले प्रतिनिधिहरूले छलफल गरिरहेका छन् ।
अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको संशोधन प्रतिवेदन र महासचिव शंकर पोखरेलले पेश गरेको सांगठनिक प्रतिवेदनमाथि प्रतिनिधिहरूले छलफल गरिरहेका हन् ।
ललितपुर, गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा शुक्रबारदेखि सुरु भएको विधान महाधिवेशनमा २ हजार ३४१ जना सहभागी छन् ।
विधान महाधिवेशनमा २ हजार २६ जना प्रतिनिधि र आयोजक समितिका थप ३ सय १५ जना गरी कुल २ हजार ३४१ पुगेका हुन् ।
प्रतिनिधिहरूलाई १० वटा समूहमा विभाजन गरी छलफल भइरहेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनका अनुसार जारीप्रतिनिधिलाई प्रदेश, उपत्यका र केन्द्रीय संरचनालाई आधार बनाएर समूह विभाजन गरिएको छ ।
मधेस, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आधारित प्रतिनिधिहरूले छुट्टाछुट्टै समूहमा छलफल गरिरहेका छन् ।
त्यसैगरी उपत्यका विशेष प्रदेश, विभिन्न जनसङ्गठन, सम्पर्क समन्वय समिति र प्रवास, केन्द्रीय निकायका प्रतिनिधि तथा केन्द्रीय कार्यालय र विभागीय संरचना, केन्द्रीय निकाय आयोजकले पनि छलफल गरिरहेको गौतमले जानकारी दिए ।
उनका अनुसार कोशी प्रदेशले समूहगत छलफल सकाएर प्रतिवेदन लेख्न समेत थालिसकेको छ ।
प्रचार विभाग प्रमुख गौतमले आज छलफल सकेर भोलि प्रतिनिधिको सुझावसहितको प्रतिवेदन समूहगत नेताले हलमा प्रस्तुत गर्ने बताए ।
समूहगत रूपमा आएका प्रतिवेदनमा समेटिएका सुझाव, जिज्ञासाको अध्यक्ष ओलीले जवाफ दिने र कुनै विषयमा सहमति हुन नसकेमा मतदानबाट टुङ्गो लगाउने तयारी भएको गौतमले बताए ।
सकेसम्म सबैलाई सुझाव समेटिगरी एकीकृत रूपमा पार्टी विधान तयार गरिने उनले बताए । समसामयिक प्रस्ताव पारित गरेर एमालेको दोस्रो विधान महाधिवेशन भोलि सकिने प्रचार विभाग प्रमुख गौतमले बताए ।
प्रतिक्रिया 4