+
+
Shares
विश्लेषण :

एमालेले ‘वैचारिक रूपान्तरण’ गर्न खोजेको हो ?

ओलीको अवधारणा जबजबाट पूर्ण विच्छेद नभई त्यसकै पूरक वा विकसित संस्करण अर्थात् 'जबज–२.०' को रूपमा आएको देखिन्छ

‘नेपाली विशेषताको समाजवाद’ भन्ने प्रसंग विधानमा पनि औपचारिक प्रवेश गर्नुको पछाडि ‌ओलीले वैचारिक नेताको रूपमा पनि आफूलाई वैधानिक रूपमा दस्तावेजीकृत गर्न खोजेको देखिन्छ ।

दुर्गा खनाल दुर्गा खनाल
२०८२ भदौ २१ गते २२:३५

२१ भदौ, काठमाडौं । कम्युनिस्ट पार्टीहरूका गतिविधि जस्तासुकै हुन्, दस्तावेजहरू चाहिँ दर्शन, सिद्धान्त, समाजको वर्ग विश्लेषणदेखि तल्कालीन कार्यनीति र दीर्घकालीन रणनीतिका विषयहरूले सज्जित हुन्छन् ।

नेपालमा पनि कम्युनिस्ट पार्टी नामधारी जोसुकै हुन्, उनीहरूका दस्तावेजहरूमा समाजवाद हुँदै साम्यवादमा पुग्ने मूल लक्ष्य भेटिन्छ । जसको बाटो कसरी तय गर्ने भन्ने पार्टीपिच्छे फरक विचार छन् । त्यसैले त नेपालमा कम्युनिस्टहरूका एकआपसमा मिल्दैनन् र धेरैवटा झुण्डहरुमा विभाजित छन् ।

समाजवाद हुँदै साम्यवादमा पुग्ने लक्ष्य लिने कम्युनिस्ट पार्टीहरू मध्ये नेपालको ठूलो पार्टी हो- एमाले, जो अहिले सरकारको नेतृत्व गरिरहेको छ । एमालेले समाजवाद र साम्यवादमा पुग्ने लक्ष्य भने परम्परागत कम्युनिस्ट भन्दा फरक ‘लोकतन्त्र’ को बाटोबाट हासिल हुने ठानेको छ ।

त्यसैले परम्परावादी कम्युनिस्ट विचारधारा र जडसूत्रले मात्र गतिशील नहुने ठान्दै एमालेले २०४९ सालमा लोकतान्त्रिक विचारधाराको रूपमा ‘जनताको बहुदलीय जनवाद’ (जबज) को बाटो अंगाल्यो ।

पाँचौ महाधिवेशनमा तत्कालीन महासचिव मदन भण्डारीले अघि सारेको उक्त बाटो एमालेलाई कम्युनिस्ट जडसूत्रबाट बाहिर निकाल्ने एउटा महत्वपूर्ण कडी थियो । त्यही बाटो हुँदै अहिले एमाले लोकतान्त्रिक पार्टीको रूपमा आफूलाई चिनाउँदै आएको छ ।

समयक्रम अनुसार विचार र सिद्धान्तलाई अनुकूलन गर्दै लैजानु पर्ने मान्यताको जगमा एमालेभित्र भण्डारीले अघि सारेको ‘जबज’ को व्याख्या हुने गरेको छ ।

प्रत्येक महाधिवेशनमा एमालेले जबजको व्याख्या र विश्लेषण गर्छ । यसपटक पनि दोस्रो विधान महाधिवेशनमा पेस भएका सबै दस्तावेजमा पटक-पटक ‘जबज’ को प्रसंग उल्लेख छन् । तर, सँगसँगै यसपटक अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दस्तावेजमा ‘नेपाली विशेषतासहितको समाजवाद’ भन्ने धारणा पनि अगाडि सारेका छन् ।

पार्टीको राजनीतिक प्रतिवेदनमा ओलीले यसबारे छुट्टै पाठ नै लेखेका छन् । जसलाई विधानमा पनि वैधानिक रूपमा प्रवेश गराइएको छ । यही शब्द समावेश गर्न विधानको प्रस्तावनामै संशोधन गरिँदैछ ।

‘नेपाली विशेषताको समाजवाद’ भन्ने प्रसंग विधानमा पनि औपचारिक प्रवेश गर्नुको पछाडि ‌ओलीले वैचारिक नेताको रूपमा पनि आफूलाई वैधानिक रूपमा दस्तावेजीकृत गर्न खोजेको देखिन्छ ।

प्रायः कम्युनिष्ट नेताले नयाँ वैचारिक अवधारणा ल्याएर आफूलाई वैचारिक नेताको रूपमा प्रस्तुत गर्ने परम्परा नै देखिन्छ । ओलीको यो प्रयासलाई त्यही निरन्तरताको नयाँ संस्करण मान्न सकिन्छ ।

यद्यपि ओलीले ‘नेपाली विशेषताको समाजवाद’ लाई जबजभन्दा छुट्टै विचारको रूपमा अगाडि सारेको  भन्दा पनि समयअनुसार अघि बढ्ने पूरक विचारको रूपमा ओलीले ‘नेपाली विशेषताको समाजवाद’ अघि सारेको देखिन्छ ।

महाधिवेशनमा उपाध्यक्ष विष्णु पौडेलले पेस गरेको विधान संशोधन प्रस्तावमा भनिएको छ, ‘… सामाजिक न्याय र समानतामा आधारित सामाजिक-आर्थिक रूपान्तरण गर्न, जनताको बहुदलीय जनवाद कार्यान्वयन गर्दै समाजवाद निर्माण गर्न र नेपाली विशेषता सहितको समाजवाद स्थापना गर्न प्रतिबद्ध छ ।’

विधानमै यो व्यवस्था राख्नुपर्ने कारणबारे प्रष्ट पार्दै अगाडि भनिएको छ, ‘हामीले निर्माण गर्ने समाजवाद नेपाली विशेषतामा आधारित हुने हुँदा यो संशोधन प्रस्ताव गरिएको हो ।’

के हो नेपाली विशेषताको समाजवाद ?

राजनीतिक प्रस्तावमा ओलीले ‘नेपाली विशेषताको समाजवाद’बारे ८ पृष्ठ लामो व्याख्या गरेका छन् ।

उनले नेपाली विशेषताको समाजवाद पूर्व सोभियत मोडलको समाजवाद र प्रजातान्त्रिक समाजवादको जस्तो नभएको उल्लेख गरेका छन् । उनका व्याख्याका अधारमा नेपाली विशेषताको समाजवादका केही विशेषता यसप्रकार हुनेछन् :

१. प्रतिष्पर्धात्मक, जनमुखी र पारदर्शी आर्थिक नीति अबलम्बन । विश्व मानव समुदायले विकास गरेका नवीनतम प्रविधिलाई आवश्यकता अनुसार ग्रहण गर्दै तीव्र आर्थिक विकास गर्ने ।

२. नेपाली समाजलाई एकरूपतामा एकता होइन, विविधतामा एकतालाई प्रवर्धन गर्ने ।

३. पार्टी जनताको सुख-दु:खको साथी हुने । राज्यको नेतृत्व गरिरहँदा उत्पन्न हुनसक्ने भ्रष्टाचार र नोकरशाहीको जोखिमबाट बचाउन निरन्तर शुद्धीकरण गर्ने ।

४. राष्ट्रिय हितको रक्षा, राष्ट्रिय स्वाभिमान, पहिचान र स्वाधीनताको रक्षा तथा विकास समाजवादका अनिवार्य कार्यभार हुने ।

नेपाली विशेषतासहितको समाजवादमा लोकतन्त्र र शासन व्यवस्था कस्तो हुन्छ भन्ने प्रश्नको जवाफमा ओलीले विशेष जोड दिएर ‘परिपूर्ण लोकतन्त्र’ को उल्लेख गरेका छन् ।

परिपूर्ण लोकतन्त्र बारे ओलीको परिभाषा छ- ‘हामी परिपूर्ण लोकतन्त्रको पक्षमा छौं। यस्तो लोकतन्त्रका पक्षमा होइन, जहाँ अधिकारका नाममा पाँच वर्षमा एक पटक भोट हाल्ने र बोल्ने, लेख्ने, सभा सङ्गठन गर्न पाउने औपचारिकतामा सीमित हुनु परोस् । आधारभूत आवश्यकता पूरा भएन भने जनताका लागि यस्तो लोकतन्त्र कागलाई बेल पाके जस्तो बन्न पुग्छ। हामी यस्तो लोकतन्त्रको पक्षमा छौँ, जहाँ आम नागरिकलाई अधिकार बराबर हुनेछ। अवसरमा पहुँच समान हुनेछ । सुरक्षा र सम्मानमा बराबरी हक हुनेछ ।’

अध्यक्ष ओलीको बुझाइमा, परिपूर्ण लोकतन्त्रमा राज्य साँचो अर्थमा जनताको हुने छ ।

समाजवादी लोकतन्त्रलाई पुँजीवादी लोकतन्त्रभन्दा हरेक आयाममा अझ उन्नत, सुसंस्कृत र सार्थक बनाउन प्रयास गर्ने उनले उल्लेख गरेका छन् । यसमा नागरिक अधिकारका कुराहरू पनि छन् ।

‘नागरिकहरूको अभिव्यक्ति, आलोचना वा विरोध, सिर्जना र व्यक्तिगत स्वतन्त्रतालाई प्रत्याभूत गरिने छ । राज्य सञ्चालनमा आम समूदायको संस्थागत सहभागिता एवं निर्णायक भूमिका सुनिश्चित गरिनेछ’ ओलीले परिपूर्ण लोकतन्त्रको व्याख्या गर्दै भनेका छन् ।

उनले अघि सारको यो अवधारणा विल्कुल नयाँ नै भने होइन । आम लोकतन्त्रको प्रचलित परिभाषा भित्रैका विषय यसमा समेटिएका छन् ।

समाजवादको गन्तव्य के ?

ओलीले आफ्ना हरेक भाषण तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा ‘समृद्ध नेपाल, सुखी नेपाली’ को भन्ने वाक्यांश छुटाउँदैनन् ।

उनले अघि सारेको नेपाली विशेषतासहितको समाजवादी विचारधारा कार्यान्वयनको मूल राष्ट्रिय गन्तव्य भनेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ हुनेछ । ‘नेपाली मौलिकतासहितको समाजवादलाई हामीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा र गन्तव्यको रूपमा व्याख्या गर्न सक्छौं’ ओलीले भनेका छन् ।

उनले समृद्ध नेपाल, सुखी नेपाली बन्ने विभिन्न आधार सहितको व्याख्या गरेका छन् । यो बाटो हुँदै नेपाली विशेषतासहितको समाजवादको बाटोमा पुग्ने ‘राष्ट्रिय गन्तव्य’ हुने उल्लेख छ ।

ओलीले अघि सारेको यो कुरालाई पनि एमालेले विधान मार्फत् नै वैधानिकरण गर्दैछ । विधान संशोधन प्रस्तावमा ‘समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा’ भन्ने वाक्यांशपछि ‘एवं राष्ट्रिय गन्तव्य’ भन्ने शब्द राख्ने भनिएको छ ।

राजनीतिक दस्तावेज र विधान संशोधन प्रस्तावमा आएको यी विषय पारित भएपछि पार्टीमा ओलीले अघि सारेको नवीन विचारको वैधानिकता प्राप्त हुनेछ ।

‌ओलीले अघिसारेको नेपाली विशेषतासहितको समाजवादको विचारलाई एमालेमा वैचारिक नेताको रूपमा चिनिने शंकर पोखरेलले आफ्नो संगठनात्मक प्रस्तावमा समेत सैद्धान्तिकृत गरेका छन् । पार्टी निर्माणको सैद्धान्तिक आधार शीर्षकमा उनले व्याख्या गरेका छन् ।

जबजले राजनीतिक क्रान्ति पूरा भएपछि समाजवादमा पुग्ने तीनवटा अवधिको परिकल्पना गरेको उल्लेख गर्दै उनले अब तेस्रो अवधि आर्थिक, सामाजिक विकासको कामलाई तीब्रता दिन नेपाली विशेषतासहितको समाजवाद आवश्यक परेको धारणा राखेका छन् ।

‘समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा र राष्ट्रिय गन्तव्य हासिल गर्ने क्रममा नै नेपाली समाजमा नेपाली विशेषतासहितको समाजवाद निर्माण गर्न सकिने पार्टीको निष्कर्ष र विश्वास छ’ पोखरेलले भनेका छन् ।

एमालेले नेपाली विशेषतासहितको समाजवादको कुरा गरिरहँदा पार्टी संगठनको स्वरूप पनि बदल्न खोज्दैछ ।

एमाले चुनावी प्रतिस्पर्धाबाट खारिँदै आएको पार्टी हो । त्यसैले यसको मूल आधार त आम जनता नै थियो । तर, पार्टी सदस्यता चाहिँ ‘क्याडर बेस्ड’ नै थियो । पार्टीको मूल संगठनात्मक आधार चाहिँ कार्यकर्ता नै हुन्थे ।

तर, अब एमालेले संगठित सदस्यता पनि थपेको छ । दुई प्रकारका सदस्यहरू राख्नुको कारण चाहिँ ‘जनआधारित कार्यकर्ता पार्टी’ को संगठनात्मक सिद्धान्त अनुरूप पार्टी निर्माणको कामलाई प्रभावकारी रूपमा अघि बढाउन दुई प्रकारका सदस्यता आवश्यक भएको विधान संशोधन प्रस्तावमा उल्लेख छ ।

प्रस्ताव- ‘जबज २.०’ को !

‘मिसन ८४’ मा अर्जुनदृष्टि लगाइरहेका ओलीले ‘नेपाली विशेषताको समाजवाद’ को प्रस्ताव अगाडि सारे मतदातामाझ एमालेसँगै आफ्नै पनि नयाँ पहिचान बनाउने प्रयास गरेका हुनसक्छन् ।

जबजका प्रणेता मदन भण्डारी पत्नी विद्या भण्डारीले पार्टीभित्र बलियो चुनौती प्रस्तुत गर्ने प्रयास गरिरहेको बेला ओलीको पार्टीभित्र संगठनात्मकसँगै आफू पनि वैचारिक नेता  रहेको सन्देश प्रवाहित गर्ने प्रयत्न पनि गरेका छन् ।

ओलीले तत्काल जबजको विकल्पका रूपमा आफ्नो विचारलाई अगाडि लैजान सक्ने अनुकूलता भने देखिंदैन । त्यसैले उनको यो अवधारणा जबजबाट पूर्ण विच्छेद नभई त्यसकै पूरक वा विकसित संस्करण अर्थात् ‘जबज–२.०’ को रूपमा आएको देखिन्छ ।

सँगै, समाजवाद उन्मुख संविधान कार्यान्वयन भइरहेको सन्दर्भमा नेपाली विशेषतासहितको मौलिक समाजवादको व्याख्या गरेर ओलीले राष्ट्रिय राजनीतिमा पनि आफूलाई वैचारिक नेताको रूपमा प्रस्तुत गर्ने प्रयत्न गरेका छन् ।

राजनीतिक व्यवस्थाको अन्तिम लक्ष्य नागरिकको सुख र समृद्धि हो भन्ने उद्देश्यवादी दर्शनअनुरूप ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को गन्तव्य पटक-पटक अगाडि सार्दै आएका छन् ।

दस्तावेजमा ओलीले पटकपटक सोभियत वा चिनियाँ मोडेललाई अस्वीकार गर्दै ‘नेपाली मौलिकता’लाई जोड दिएका छन्। यहींनेर ओलीले परिपूर्ण लोकतन्त्रको अवधारणा अगाडि सारेका छन् जहाँ नागरिकलाई पाँच वर्षमा एकपटक भोट दिने औपचारिकताबाट माथि उठाएर उनीहरूको जीवनयापन, सम्मान र समान अवसरलाई सुनिश्चित गर्नुलाई लोकतन्त्रको सारको रूपमा व्याख्या गरेका छन् । यहाँ ओलीले दार्शनिक रूपमा अभावबाट मुक्ति र सकारात्मक स्वतन्त्रताको दार्शनिक सोचमा आफूलाई उभ्याउने प्रयत्न गरेका छन् ।

त्यसैले, ओलीले ‘नेपाली विशेषताको समाजवाद’ अगाडि सारेर एकातिर जबजको वैधानिक र नैतिक तागतबाट आफूलाई विमुख गराएका छैनन् भने सँगै, यसलाई समकालीन राजनीतिक, वैचारिक र दार्शनिक सन्दर्भमा पुनःअभिव्यक्त गर्ने प्रयास गरेका छन् ।

यसबाट आफूलाई पार्टीभित्र वैधानिकता दिलाउनुका साथै नेपाली समाजवादको विशिष्ट मार्गको व्याख्याताको रूपमा दाबी गर्ने वैचारिक प्रयोगको प्रयास ओलीले गरेका छन् ।

लेखक
दुर्गा खनाल

खनाल अनलाइनखबरका समाचार सम्पादक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?