+
+
Shares

एमाले नेता महेश बस्नेतले भने- ‘नेपो बेबी’ अभियानले छोरी ज्वाइँलाई मानसिक यातना दियो’

एमाले नेता महेश बस्नेतले आफ्नो छोरीको विवाह जस्तो पवित्र पारिवारिक अवसरलाई समेत ईर्ष्या र द्वेषका आधारमा टिकटकमार्फत तोडमोड गरी गलत प्रचार गरिएको भन्दै आपत्ति जनाएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २२ गते १६:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एमाले नेता महेश बस्नेतले \'नेपो बेबी\' अभियानले आफ्नो छोरी र ज्वाइँको तस्बिर जोडेर भ्रम फैलाएको भन्दै आपत्ति जनाएका छन्।
  • उनले \'Gen Z Nepo baby अभियान\' कुनै स्वतन्त्र वा रचनात्मक आन्दोलन नभएको उल्लेख गर्दै सामाजिक मर्यादामा आँच आउने काम गर्नेलाई कारबाहीको माग गरेका छन्।
  • बस्नेतले आफ्नो परिवारले नातावाद वा कृपावाद प्रयोग नगरेको स्पष्ट चुनौती दिएका छन् र यस्ता गतिविधि आपराधिक प्रकृतिका भएको बताएका छन्।

२२ भदौ, काठमाडौं । एमाले नेता महेश बस्नेतले युवा पुस्ताले चलाएको ‘नेपो बेबी’ अभियानले आफ्नो छोरी ज्वाइँको तस्बिर जोडेर भ्रम फैलाएको भन्दै आपत्ति जनाएका छन् । उनले ‘जेन-जी’ ले चलाएको यो कुनै स्वतन्त्र र रचनात्मक आन्दोलन नभएको उल्लेख गर्दै सामाजिक मर्यादामा आँच आउने काम गर्नेलाई कारबाहीको माग गरेका छन् ।

‘अहिले चर्चामा आएको ‘Gen Z Nepo baby अभियान’ कुनै स्वतन्त्र वा रचनात्मक आन्दोलन होइन। यो पुनरुत्थानवादी र अराजकतावादी प्रवृत्तिले सोसल मिडिया तथा पेड मिडियालाई हतियार बनाएर राज्य, त्यसका संयन्त्र, स्थापित दल र नेताहरूमाथि बदनाम अभियान सञ्चालन गर्न थालेको घिनलाग्दो प्रयास असफल भएपछि तिनै तत्वहरूले आफ्नो असफलता ढाकछोप गर्न र गलत लोकप्रियता कमाउन यसलाई अफवाहका रूपमा प्रयोग गरिरहेका छन्’ उनले समाजिक सञ्जाल फेसबुक मार्फत भनेका छन् ।

उनले आफ्नो छोरीको विवाहजस्तो पवित्र पारिवारिक अवसरलाई समेत ईर्ष्या र द्वेषका आधारमा टिकटक मार्फत तोडमोड गरी गलत प्रचार गरिएको भन्दै आपत्ति जनाएका छन् ।

‘मेरो स्पष्ट चुनौती छ। मेरो छोरी, ज्वाइँ वा मेरो परिवारले नातावाद, कृपावाद वा राज्यका कुनै सेवा–सुविधा अनुचित रूपमा प्रयोग गरेका छैनन् । छ भने पुष्टि गराउन चुनौती दिन्छु। मेरो र मेरो परिवारको सम्पत्ति तथा जीवनशैली पूर्ण पारदर्शी छ र म गौरवपूर्वक जुनसुकै स्थानमा यसको पुष्टि गर्न सक्छु’ उनले लेखेका छन्,’मेरो चिकित्सक छोरी र राष्ट्रसेवक ज्वाइँको सामाजिक मर्यादामा आँच आउने, मानसिक यातना दिने र भ्रम फैलाउने यस्ता गतिविधि आपराधिक प्रकृतिका हुन् ।’

उनले रास्वपाका केही विवादित व्यक्तिहरूले आफ्ना व्यक्तिगत झगडा र लफडासम्ममा मेरो नाम जोड्ने प्रयास गरेको देखिएकोले यस्तो प्रवृत्तिको भर्त्सना गरेका छन् ।

‘म सरकारसमक्ष माग गर्दछु । यस्ता अपराधी तत्वहरूलाई तत्काल कानूनी कारबाहीको दायरामा ल्याइयोस् र टिकटक जस्ता सामाजिक सञ्जाललाई अपराध र द्वेष फैलाउने माध्यम नबनाइयोस्’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?