
२३ भदौै, विराटनगर । सुनसरीको इटहरीमा प्रहरीले चलाएको गोली लागेर २ जनाको मृत्यु भएको छ ।
सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र भ्रष्टाचारविरूद्ध भएको आन्दोलन हिंसात्मक बनेपछि प्रहरीले गोली चलाएका थिए । अस्पताल स्रोतका अनुसार गोली लागेर अन्दाजी २५ र ३० वर्षीय पुरूषको मृत्यु भएको हो । मृतकको पहिचान खुलेको छैन ।
प्रहरीले चलाएको गोली लागेर गम्भीर घाइते भएकालाइ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो । धरान पुर्याए लगतै चिकित्सकले मृत घोषित गरेको प्रहरीले बताएको छ ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रका अनुसार इलाका प्रहरी कार्यालय इटहरीमा ढुंगामुढा भएपछि प्रहरीले गोली चलाएको थियो । गोली लागेर घाइतेको उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको उनले बताए । मृत्युको पुष्टि भइनसकेको उनले बताए ।
सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र सरकारकाविरुद्ध आन्दोलनमा उत्रिएको युवापुस्ताले सुनसरीको इटहरी उपमहानगरपालिकाको कार्यालयमा आगो लगाइदिएका थिए । आगजनीमा संलग्न भएको भन्दै प्रहरीले केही युवालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय इटहरीमा लगेपछि प्रदर्शनकारीले ढंगामुढा गरेका थिए ।
प्रतिक्रिया 4