
२३ भदौ, काठमाडौं। संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्च आयुक्तको कार्यालयले नेपालमा शान्तिपूर्ण प्रदर्शन गरिरहेका जेनजीको राज्यले गरेको हत्याबारे छिटो र पारदर्शी छानबिनको माग गरेको छ।
सोमबार उच्च आयुक्तको कार्यालयकी प्रवक्ता रविना शाम्दासानीले नेपालको जेनजी आन्दोलनमाथि प्रहरी प्रशासनले गरेको हिंसामाथि धारणा राख्दै यस्तो बताएकी हुन्।
‘हामी नेपालमा आज प्रदर्शनकारीहरूको हत्या भएको तथा घाइते भएको घटनाबाट स्तब्ध भएका छौँ र छिटो तथा पारदर्शी छानबिनको माग गर्दछौँ,’ प्रवक्ता शाम्दासानीले भनिन् ।
भ्रष्टाचारविरुद्ध तथा सरकारले सामाजिक सञ्जालमा लगाएको प्रतिबन्धको विरोधमा युवाहरूले आयोजना गरेका प्रदर्शनमा सुरक्षा निकायले अनावश्यक वा अत्यधिक बल प्रयोग गरेको गम्भीर आरोपहरू उच्च आयुक्तको कार्यालयले प्राप्त गरेको पनि उनले बताइन् ।
‘सबै सुरक्षा निकाय तथा कानून पालना गराउने अधिकारीहरूले बल र हातहतियार प्रयोग गर्ने आधारभूत सिद्धान्तहरूलाई पालना गर्नुपर्छ,’ उनले भनिन् ।
शान्तिपूर्ण भेला हुन पाउने तथा अभिव्यक्ति स्वतन्त्रताको नागरिक अधिकारको सम्मान गर्न मात्रै नभई त्यसको सुनिश्चितताका लागि समेत उनले आग्रह गरेकी छन् ।
‘नेपालमा जीवन्त लोकतन्त्र तथा सक्रिय नागरिक समाज छ । युवाहरूको चिन्तालाई सम्बोधन गर्न संवाद नै सर्वोत्तम माध्यम हो,’ उनले भनेकी छन् । सामाजिक सञ्जाल नियन्त्रणसम्बन्धी सरकारी निर्णयमा पुनर्विचार गर्न पनि उच्चआयुक्तको कार्यालयले आग्रह गरेको छ।
प्रतिक्रिया 4