
२४ भदौ, काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले आज बिहान ७ बजेदेखि मध्यराति १२ बजेसम्म कर्फ्यु समय थप गरेको छ । प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले ललितपुर महानगरपालिका वडा नम्बर २, ४, ९, १८ र २५ भित्रका चार किल्ला तोकेर कर्फ्यु आदेश जारी गरिएको जानकारी दिए ।
वडा नम्बर ४, १८ र २५ भैंसेपाटी क्षेत्र पर्दछ । त्यहाँ पूर्वमा भैंसेपाटीबाट बुंगमती जाने सडक, पश्चिममा सिजी हाउजिङ तथा चोभार गल्छी सडक, उत्तरमा एकान्तकुनाको गायत्री पेट्रोलपम्प भन्दा तल रहेको विष्णुदेवी मन्दिर र दक्षिणमा इटनी जाने ओह्रालो क्षेत्रमा कर्फ्यु लगाइएको छ ।
यसैगरी वडा नम्बर २ सानेपास्थित इन्द्राणि मार्ग आसपासमा पनि भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ गर्न नपाउने गरी कर्फ्यु लगाइएको छ ।
सानेपा क्षेत्रमा सानेपा चोकबाट इन्द्राणी मन्दिर पक्की सडक, पश्चिमतर्फ बल्खु पुलदेखि मनमोहन पार्कसम्म बागमती करिडोर सडक, उत्तरतर्फ चक्रपथ सडकको सर्भिस लेन (बल्खु पुलदेखि सानेपा चोकसम्म) भित्र र दक्षिणतर्फ इन्द्राणी मन्दिरबाट बागमती करिडोर जाने पक्की सडक क्षेत्रमा कर्फ्यु लगाइएको छ ।
ललितपुर महानगरपालिकाको वडा नम्बर ९ को च्यासल क्षेत्रमा पूर्वमा मनोहरा खोला करिडोरको झोलुङ्गे पुल, पश्चिममा च्यासल रंगशाला, उत्तरमा मनोहरा खोला र दक्षिणमा पश्चिम मल पोखरी जाने बाटोसम्म कर्फ्यु लगाइएको प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जानकारी दिए ।
प्रतिक्रिया 4