
म भर्खरै बानेश्वरको सिभिल अस्पतालमा पुगेर आएँ । त्यहाँ घाइतेहरूके बेहाल अवस्था देखेँ । त्यो हदसम्मको क्रुरता मैले देखेको थिएन ।
मलाई लाग्छ, कुनै सद्दे अवस्थाको मानिस अथवा सामान्य समझ भएको व्यक्तिले यो हदसम्मको कठोरता अपनाउँदै सक्दैन । क्रुर र हिंस्रक मानसिकता भएको मानिसले दिएको निर्देशनपछि मात्रै सुरक्षाकर्मीहरू यो तहमा पुगेको हुनुपर्छ ।
मलाई सिभिल अस्पतालको अवस्था देखेर भुक्कानो छुट्यो । एउटा कलिलो बालिका घाइते भएर लडिरहेकी थिइन् । उनको के दोष थियो ? के अपराध गरेकी थिइन् । हाम्रो पुस्ताले गरिखान पाउनुपर्छ भनेर सडकमा आउन नपाउनु ?
बाबुआमाको छोराछोरीसँग कुनै आग्रह र अपेक्षा हुँदैन । उनीहरूको प्रगतिमा नै आफ्नो खुसी देखेका हुन्छन् । ती हुर्कंदै गरेका केटाकेटीलाई कुन आँटले गोली हान्ने आदेश दिन सकेका ? कुन हृदयले दमन गर्नु भन्न सकेका ? यस्तो क्रुर हृदय भएका मानिसहरूले हामीमाथि शासन गर्ने ?
अब यी १९ जनाका बाबुआमाले के देखेर चित्त बुझाउने ? के भनेर मन थाम्ने ? गरिखान त दिएनन् नै, भएको सन्तानलाई पनि कोखबाट हरण गरे । मैले उत्तर कोरियामा पनि यो हदसम्मको अपराध र क्रुरता होला भनेर कल्पना गरेकी छैन ।
युद्धमा आमनेसामना भएको शत्रु फौजका सिपाहीलाई पनि अलिकति दयाभाव राखिन्छ । यहाँ त अलिकति पनि मानवीय संवेदनता भएन, अत्यन्त क्रुरता प्रदर्शन गरियो ।
भीड नियन्त्रणका अनेक तरिका हुन्छन् । लाठीचार्ज गरिन्छ । अश्रुग्यास र पानीको फोहोरा हुन्छ । चेतावनीका अनेक तह हुन्छन् । साह्रै भए घुँडामुनी गोली हानेको भए यो तहको मानवीय क्षति हुने थिएन । उनीहरूको टाउको र छाती नै ताकेर गोली हान्नुपर्ने के बाध्यता भयो ? ती आतंककारी हुन् कि हाम्रै काखका छोराछोरी हुन् ?
यी नेताहरूलाई बारम्बार सत्तामा बसेर कमाएको अथाह सम्पत्तिको दम्भ छ । पैसा भएपछि जे पनि गर्न सक्छौं भन्ने दुस्साहस छ । त्यही पैसाको बलमा यो हर्कत गरेका हुन् । खाने बेलामा मिलेका छन्, बाडीचुडी गरेका छन् । एक अर्काको संरक्षण छ, यति भएपछि हामीलाई कसैले छुन सक्दैन भन्ने दम्भ छ ।
मैले आन्दोलनमा होमिएका युवाहरूलाई भेटेँ, म निकै भावुक पनि भए । के गर्नु ? तिमीहरूले अब अत्याचार सहन हुँदैन, संयमित बन्नु तर यो अत्याचारलाई घुँडा टेकाउनुपर्छ भनेकी छु । यो बेथिति र भ्रष्टाचारलाई गलहत्याउनुपर्छ भनेकी छु । संयमिता चै नछाड्नु र आवेशमा नआउनु भनेकी छु ।
यी अपराधि र सत्ताको बलमा कलिका युवाको हत्या गर्नेहरूलाई अब सत्तामा बस्ने र शासन गर्ने छुट छैन । यिनीहरूले तत्काल सत्ता छाड्नुपर्छ । अनि यो हदसम्मको दमन र अपराधमाथि गम्भिरतापूर्वक छानबिन गरेर यिनलाई कानूनको कठघरामा उभ्याउनुपर्छ । मैले युवाहरूलाई आफ्नो संयमता र आत्मवल नगुमाउन भनेकी छु ।
(घाइतेहरू र आन्दोलनकारी युवालाई भेटेपछि अनलाइनखबरलाई दिएको प्रतिक्रियामा आधारित)
प्रतिक्रिया 4