
News Summary
Generated by OK AI. Editorially reviewed.- सरकार विरुद्ध जेनजी युवाहरूले मंगलबार काठमाडौंका विभिन्न प्रहरी बिटमा आगजनी र तोडफोड गरेका छन्।
- सोमबार सुरु भएको भ्रष्टाचार विरोधी प्रदर्शनमा कम्तीमा १९ जनाको मृत्यु भएपछि युवा आक्रोश बढेको छ।
- प्रदर्शनकारीले महाराजगंज, बसुन्धारा, रातोपुल र कालोपुल प्रहरी बिट जलाएर नागरिक सरकार गठनको माग गरेका छन्।
२४ भदौ, काठमाडौं । सरकार विरुद्ध मंगलबार सडकमा उत्रिएका जेनजी युवाहरूले विभिन्न स्थानका प्रहरी बिटमा आगजनी र तोडफोड गरेका छन् । राजनीतिक नेताहरूको निजी निवासको खोजी गर्दै हिँडेका युवाले प्रहरी बिट देख्नसाथ आगजनी गरेका हुन् ।
सोमबार जेनजीले सुरु गरेको समाजिक सञ्जाल बन्द र भ्रष्टाचार विरोधी प्रदर्शनमा सरकारले कम्तीमा १९ जनाको हत्या गरेपछि युवा आक्रोश झनै बढेको हो । आन्दोलनको दोस्रो दिन मंगलबार देशका मुख्य सहरमा तथा नेताहरूका निजी आवास तथा प्रहरी बिट जलाउँदै नाराबाजी गरेका हुन् ।
मंगलबार प्रदर्शनकारीले महाराजगंज स्थित प्रहरी बिटमा आगजनी गरेका छन् । उक्त बिट पुर्ण रुपमा जलेर नष्ट भएको छ । साथै बिटमा प्रहरीका केही थान मोटरसाइकल पनि जलेका छन् ।
साथै आन्दोलनका क्रममा घाइते भएका प्रदर्शनकारीलाई उपचारका क्रममा रगतको अभाव हुन नदिन प्रदर्शनकारीले विभिन्न ठाउँमा रक्तदानका कार्यक्रम पनि सञ्चालन गरेका छन् । सामाखुसीको सिटी स्क्वायर र ग्रीन सिटी हस्पिटलको प्राङगढमा रक्तदान कार्यक्रम जारी छ ।
महाराजगंज प्रहरी बिट सँगै प्रदर्शनकारीले बसुन्धारा, रातोपुल र कालोपुलस्थित प्रहरी बिट पनि जलाएका छन् । सरकारले कर्फ्यु लगाएपनि काठमाडाैंका चोकचोकमा जम्मा भएका प्रदर्शनकारीले नाराजुलुस सहित प्रदर्शन तथा तोफोड गरेका हुन् । प्रदर्शनकारीले नारा जुलुसका क्रममा नागरिक सरकार गठनको माग गरेका छन् ।
प्रतिक्रिया 4