
२५ भदौं, काठमाडौं । प्रदर्शनकारीहरुको आगजनीका कारण सिंहदरबारका दर्जनौं मन्त्रालयहरु जलेका छन् । प्रारम्भीक विवरण अनुसार, केही सीमित निकाय बाहेक सबैजसोमा क्षति पुगेको छ ।
एक सुरक्षाकर्मीका अनुसार, सिंहदरबारको मुख्य भवनमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय आगोले ध्वस्त हुने क्रममा छ । अहिले पनि प्रधानमन्त्री कार्यालयमा आगो बलिरहेको ती सुरक्षाकर्मीले बताए ।
त्यसबाहेक गृह, ऊर्जा, शिक्षा, परराष्ट्र लगायतका मन्त्रालयमा आगो बलेको थियो । अहिले पनि कतिपय ठाँउमा आगो लागिरहेकाले भित्रको अवस्था थाह हुन नसकेको उनले बताए ।
प्रदर्शनकारीहरुले सबैजसो मन्त्रालय र अरु निकाय र परिसरमा रहेका सवारीसाधनमा आगो लगाएका छन् । संघीय संसदको सिंहदरबारस्थित सचिवालयको कार्यालयमा रहेका सबैजसो गाडी जलेका छन् । प्राय: सबै दलको संसदीय दलको कार्यालयमा क्षति पुगेको छ । एक मन्त्रीको गाडीसमेत जलेको छ ।
प्रदर्शनकारीहरूले नेपाल टेलिभिजनमा प्रवेश गरेर तोडफोड गरेपनि केही कर्मचारीहरुको आग्रहपछि आगजनी गरेनन् । त्यसको ठीक अघिल्तिर रहेको राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा पनि प्रदर्शनकारीहरु गएनन् ।
प्रदर्शनकारीहरू पटकपटक रेडियो नेपालको कार्यालयमा प्रवेश गर्न खोजेका थिए, तर त्यहाँका केही कर्मचारीहरूको आग्रह र अनुनय विनयपछि उनीहरु फर्किएका थिए ।
रेडियो नेपालका एक कर्मचारीका अनुसार, प्रदर्शनकारीहरुले लखेटेपछि केही सुरक्षाकर्मीहरु रेडियो नेपालभित्र भागेर लुकेका थिए । पछि कर्मचारीहरुले उनीहरुलाई सर्वसाधारणको लुगा फेरेर उद्धार गरिएको थियो ।
सुरक्षाकर्मीहरुले आफ्नो साथमा रहेका केही हतियारहरु रेडियो नेपालभित्रै लुकाएर कपडा फेरेर फर्किएको ती कर्मचारीले बताए ।
अहिले सिंहदरबार परिसरमा नेपाली सेनाको टोलीले गस्ती गरिरहेको छ । सर्वसाधारण र कर्मचारीलाई समेत प्रवेशमा रोक लगाइएको छ । मुख्य भवन र केही कार्यालयहरुबाट अहिले पनि आगो दन्किरहेको छ । ती कर्मचारी भन्छन्, ‘दमकल आएर पानीको फोहोरा फालिरहे पनि आगो निभेको छैन ।’
प्रतिक्रिया 4