+

जलिरहेको काठमाडौंलाई मध्यरात फन्को मार्दा

२०८२ भदौ  २५ गते १७:४३ २०८२ भदौ २५ गते १७:४३

आगोको भयानक लप्कामा सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, जिल्ला प्रशासन कार्यालय काठमाडौं लगायत जलिरहेका थिए। निभाउने दमकल त छाडिदिनुस्, चुकचुकाउँदै हेरिदिने साक्षीसमेत थिएनन्, त्यो मध्यरातमा।

जलिरहेको काठमाडौंलाई मध्यरात फन्को मार्दा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • शीतलनिवासमा आन्दोलनकारीले आगो लगाएर राष्ट्रपति कार्यालय जलाएका थिए र सेनाले राष्ट्रपति त्यहाँबाट निकालिसकेको थियो।
  • प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटारबाट भाग्न विवश भए र प्रधानमन्त्री निवास पनि आगोले क्षतिग्रस्त भयो।
  • संविधानसभाको ऐतिहासिक संसद् भवनमा आन्दोलनकारीले कब्जा गरी आगजनी गरेका थिए जसमा १९ जनाको मृत्यु भएको थियो।

रातभर निदाउन सकिएन। त्यसो त, बिहान साढे २ बजेतिर ओछ्यानमा पल्टिएको थिएँ। दिनभरको अपडेट बिट मार्दै अनलाइनकर्मीहरू राति ११ बजेतिर कार्यालयबाट निस्किएका थियौं।

अन्तिम अपडेटमा पनि सहकर्मी कमल प्रसाईंले दनदनी बलिरहेको संसद् भवनको भिडियो सामग्री राख्नुभएको थियो। आँखामा ती दृश्य लिएर सहजै ओछ्यान चढ्न सकिएन। त्यसैले सेनाले नियन्त्रणमा लिएको काठमाडौंमा रातभर फन्को लगाइरहेँ।

सडकमा सेनाको कडा पहरा थियो। चेकिङ उत्तिकै कडा। प्रसूति गृह हुँदै थापाथली सडक निस्कँदा मात्र पनि (करिब ५० मिटरको दूरीमा) चारवटा चेकिङ। प्रत्येकलाई एउटा आर्कमा बसेको सैनिकले सोधपुछ र कार्ड जाँच गरेको देखिरहेको भए पनि नजिकै रहेको अर्को आर्क पुग्दा फेरि त्यही प्रक्रिया थियो।

जसोतसो वासस्थान पुगियो। तर, माथि नै भनेजस्तै ओछ्यान चढ्न मन लागेन्। सिंगो देश आगोको लप्काभित्र थियो। संघीय राजधानी त्यसको केन्द्र। अनेक प्रश्नले हुँडलिरहेको थियो मन। त्यसैले फेरि निस्किएँ।

सबैभन्दा पहिले पुगेँ शीतलनिवास।

२३८ वर्ष लामो राजतन्त्रको अन्त्यसँगै मुलुक गणतन्त्रमा गएपछि पहिलो राष्ट्रपति निर्वाचित भएका थिए, डा. रामवरण यादव। उनलाई त्यही शीतलनिवासमा विराजमान गराइयो। त्यसयता शीतलनिवास एउटा शक्तिकेन्द्र बन्यो। संविधानले सेनाको परमाधिपति अतिरथि राष्ट्रपति हुने व्यवस्था गरेकाले पनि शीतलनिवासको चमक बेग्लै रह्यो।

प्रथम राष्ट्रपति यादवको कार्यकाल सकिएपछि विद्या भण्डारी दुईपटक राष्ट्रपति बनिन्। उनको कार्यालयपछि रामचन्द्र पौडेल राष्ट्रपति चुनिए, जो अहिले पनि राष्ट्रपति हुन्।

शीतलनिवासले थुप्रै प्रधानमन्त्रीहरूको सपथ समारोह आयोजना गर्‍यो। पुष्पकमल दाहाल प्रचण्डदेखि माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराई, अन्तरिम सरकारका प्रमुख खिलराज रेग्मी, सुशील कोइराला, केपी शर्मा ओली र शेरबहादुर देउवासम्मलाई शीतलनिवासले देशको कार्यकारी प्रमुखको सपथ दिलायो।

सरकारका सिफारिसमा अनेक विभुषण, मानपदवी वितरणदेखि अनेकथरि भूमिका शीतलनिवासले निभाइरह्यो। राष्ट्रपतिको सार्वजनिक सवारीका क्रममा नागरिकले अनेकपटक सकस झेल्थे। त्यसले आक्रोश चुलिन्थ्यो।

शीतलनिवास प्रवेश गरेपछि आन्दोलनकारीले पहिले लुटपाट गरे अनि आगो लगाए। मध्यरातसम्मै शीतलनिवास त्यही आगोको लप्काभित्र थियो।

लाजिम्पाटबाट महाराजगञ्जतर्फ लाग्दा जब सेनाको घेराबन्दी देखिन्थ्यो, त्यसले हिजोका राजा–महाराजाको झल्को दिन्थ्यो। जनताको अभिमत लिएर गएकाहरूले जनताकै बीचमा रमाउन किन नखोजेका होलान् ? अनेकपटक प्रश्न उठ्थ्यो।

अनि लाग्थ्यो, कुनै दिन त त्यस्ता राष्ट्रपति पनि देशले पाउला जसले सुरक्षा प्रोटोकलका नाममा हुने अनेक तामझाम तिरस्कार गर्नेछ र जनताको बीचमा नै आफूलाई सुरक्षित महसुस गर्नेछन्।

यी सबै असन्तोषका बीच पनि जबजब म शीतलनिवास भएर यात्रा गर्थें, आफूलाई गणतन्त्र नेपालको नागरिक हुँ भन्ने महसुसले आनन्द दिन्थ्यो। तर, मंगलबारको मध्यरात जब म शीतलनिवास आसपास पुगेँ, गणतन्त्रको त्यो प्रतीक दन्दनी बलिरहेको थियो।

सुरक्षा जाँचकै क्रममा सेनाले सवारी साधन नरोकी फटाफट अघि बढ्न भनेकाले म रोकिइनँ। तर, आगोको लप्काभित्र विलुप्त हुँदै गएको शीतलनिवास देखेर छटपटी महसुस भयो। आन्दोलनकारीले आगो झोस्नुअघि नै सेनाले राष्ट्रपतिलाई त्यहाँबाट निकालिसकेको थियो। बाँकी थियो त केवल निर्जीव भवन र सायद महत्वपूर्ण दस्तावेजहरू।

अघिपछि जनतालाई उभिएर हेर्न पनि नदिउँलाझैं गर्ने सुरक्षाकर्मीले मंगलबार आक्रोशित भिडलाई रोक्न सकेनन्। सुरक्षाकर्मीले हात उठाएपछि भित्र प्रवेश गरेका आन्दोलनकारीले पहिले लुटपाट गरेपछि आगो लगाए। मध्यरातसम्मै शीतलनिवास त्यही आगोको लप्काभित्र थियो।

चढ्दो अहंकार र सत्ताउन्माद तथा जेनजी पुस्ताको शक्तिलाई नजरअन्दाज गर्दा कामचलाउ बनिसकेका प्रधानमन्त्री ओली बालुवाटारबाट भाग्न विवश भए।

शीतलनिवासबाट महाराजगञ्जतर्फ नबढी म बालुवाटारतर्फ अघि बढें। तर, सेनाले सीधा बाटो जान नदिएपछि भित्री बाटो हुँदै नेपाल राष्ट्र बैंक अघिल्तिर निस्किएँ। त्यहाँ पनि सेनाको कडा सुरक्षा घेरा थियो। केही अगाडि रहेको देशको कार्यकारी प्रमुखको सरकारीनिवास दनदनी बलिरहेको थियो।

केही घन्टा अघिसम्म त्यो भवनमा केपी शर्मा ओलीको सुदृढ नियन्त्रण थियो। तर, लगातार चढ्दो अहंकार र सत्ताउन्माद तथा जेनजी पुस्ताको शक्तिलाई नजरअन्दाज गर्दा ओली त्यहाँबाट भाग्न विवश भए।

ओलीकै रहरमा अर्बौं खर्च गरेर बनाइएको अत्याधुनिक सुविधासम्पन्न प्रधानमन्त्रीनिवास शीतलनिवासझैं आगोको लप्काभित्रै थियो। सिलिन्डर विस्फोटका आवाज आइरहेका थिए।

चलचित्रको रिलझैं राजनीतिमा ओलीको शक्तिआर्जन, सत्ता र शक्तिका लागि विभिन्न समयमा उनले गरेका षड्यन्त्र, अनैतिक र असंवैधानिक हर्कतहरू घुम्न थाले।

रहस्यमय दासढुङ्गा दुर्घटनामा मदन भण्डारीको निधनपछि एमालेभित्र ओली एउटा शक्तिकेन्द्र निर्माणमा जुटेका थिए। त्यसका लागि मदन पत्नी विद्याको फेरो समाएरै अघि बढे। छोटो समयमै पार्टीभित्र प्रभावशाली बन्न पुगे।

माधवकुमार नेपाल, झलनाथ खनालहरूलाई समेत पछि पार्दै ओली निरन्तर शक्तिशाली बने। पार्टी अध्यक्ष र प्रधानमन्त्री बनेपछि ओलीमा शक्तिको अकण्टक मोह देखियो। त्यही पूरा गर्न विचार, सिद्धान्त र व्यवहारसमेत नमिलाई नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गरे र इतिहासकै बलियो प्रधानमन्त्री बन्न पुगे।

देउवासँगको सत्ता साझेदारी अकन्टक बनाउने उनको योजना थियो। तर, जेनजी आन्दोलनले एक झड्कामै तुहाइदियो। शक्तिको शिखरमा पुगेका ओली एकाएक भाग्दै र लुक्दै हिँड्नुपर्ने अवस्थामा पुगे।

उनी जतिजति शक्तिशाली बनेका भए, त्यतित्यति निरंकुश पनि। पार्टीभित्र उठेका फरक विचारलाई जरैदेखि उखेल्न थाले। प्रतिस्पर्धामा आउन चाहनेलाई नामेट गर्न पार्टीबाटै निकाल्न थाले।

नेकपाभित्रको विवाद चर्किंदै जाँदा सरकार गुमाउनुपर्ने अवस्था आयो। तर, प्रधानमन्त्री त्याग्नुपर्छ भने कुर्सी नै भाँचिदिन्छु भन्दै ओलीले संसद् विघटन गरिदिए। त्यो पनि दुई–दुईपटक।

आफ्ना विरोधीको समूल नष्ट गर्दै रूसका भ्लादिमिर पुटिन शैलीमा अघि बढिरहेका ओलीले आफ्नो उन्नयनमा प्रमुख सहयोगी रहेकी विद्या भण्डारीसमेतलाई शिकार बनाएका थिए। दुई दिनअघि गोदावरीमा भएको विधान महाधिवेशनमार्फत् ओलीले पार्टी नेतृत्वका निम्ति सधैंका लागि ढोका खुला गराएका थिए।

देउवासँगको सत्ता साझेदारी अकन्टक बनाउने उनको योजना थियो। तर, जेनजी आन्दोलनले एक झड्कामै तुहाइदियो। शक्तिको शिखरमा पुगेका ओली एकाएक भाग्दै र लुक्दै हिँड्नुपर्ने अवस्थामा पुगे।

दन्दनी बलिरहेको प्रधानमन्त्रीनिवासको दृश्यले मनभित्र कोलाहल मच्चाइरहेको थियो।

बालुवाटारबाट पुन: भित्रीबाटो हुँदै विशालनगर निस्किएँ। थोरै अगाडि बढ्दा खण्डहरमा परिणत हुँदै गरेको भाटभटेनी देखियो। अनि सम्झिएँ मीनबहादुर गुरुङ दम्पती। सरकारी बैंकको जागिर छोडेर सानो व्यवसाय थालेका उनीहरूले अनेक संघर्षपछि बलियो विरासत तयार पारेका हुन्।

यसबीचमा उनको राजनीतिक संलग्नता, आबद्धता वा शुभेच्छा जोसुकैसँग भए पनि उनको एक पहिचान धेरै कर तिर्ने व्यवसायी र विशेषत: स्वास्थ्यक्षेत्रमा धेरै चन्दादाताका रूपमा परिचित छ। त्यस्तै अन्य सामाजिक कार्यले पनि उनको परिचय बढाएकै थिए। तर, मंगलबार आन्दोलनकारीको निसानामा भाटभटेनी पर्‍यो। त्यसो त, भोटभटेनी गत वैशाख १५ मा राजावादीले गरेको आन्दोलनको निसानामा पनि परेको थियो।

टंगालको भित्री मार्ग हुँदै सानोगौचरण अगाडि निस्कँदा हिल्टन जलिरहेको थियो। भर्खर–भर्खर उठ्दै गरेको पर्यटन उद्योगलाई अत्याधुनिक सुविधा सम्पन्न यस्ता थुप्रै होटल आवश्यक छ। तर, निर्माण सकिएर राम्रोसँग सञ्चालनमा पनि हुन नपाई हिल्टन आगजनीले खण्डहर बन्यो।

बाइक स्लो गरेको थिएँ। आगोको राप थियो। दनदनी बलेको आगोको ज्वालामा सर्वोच्च जनप्रतिनिधिमूलक थलो स्वाहा हुँदै थियो।

ज्ञानेश्वर निस्किएर पुतलीसडक हुँदै सिंहदरबारको पश्चिम गेट जान अघि बढें। तर, डिल्लीबजार नपुग्दै रोकेको सेनाले त्यसअघि जान दिएन। बाटो मोड्नुको विकल्प थिएन। गौशाला निस्किएर मध्यबानेश्वर हुँदै अघि बढ्न खोजें। गौशाला चोकको केही तल ४, ५ युवा थिए। उनीहरूले रोक्न खोजे। तर, म नरोकी अघि बढें। तीमध्ये एउटाले हातमा लिएको लामो काठको झटारो हान्यो। संयोगले लागेन। मनमा ढ्यांग्रो ठोक्यो।

केही अघि बढेपछि गौशाला चोकमा सेनाको टोली देखियो। अधिकांश बसिरहेका थिए। केही सैनिक केही युवालाई कर्फ्यू लागिसकेकाले बाटो लाग्न भनिरहेका थिए। सोधपुछ र सुरक्षा जाँचपछि बत्तीसपुतली, पुरानो बानेश्वर हुँदै अघि बढें।

आइप्लेक्स मल नपुग्दै सेनाले फेरि फर्काउन खोज्यो। यसपटक चाहिं मैले अनलाइनखबरको अफिस नजिकै भएकाले कार्यालय जानका निम्ति बाटो मागें।

उनले आगो निकै ठूलो रहेकाले असुरक्षित हुने भन्दै सुरक्षा जोखिम बताए। त्यसमा म सहमत भएँ, नभएर अरु उपाय पनि थिएन। तर, थापागाउँतिर जाने बाटोका लागि आग्रह गरें। उनले त्यसमा भने सहमति दिए। तर सरासर कार्यालय जान र बाहिर ननिस्कन भने।

हस् भन्दै म अघि बढें। पाइलैपिच्छे सोधपुछपछि म संसद् भवनको उत्तर–पश्चिमतर्फबाट थापागाउँतर्फ मोडिए।

बाइक स्लो गरेको थिएँ। आगोको राप थियो। दनदनी बलेको आगोको ज्वालामा सर्वोच्च जनप्रतिनिधिमूलक थलो स्वाहा हुँदै थियो।

उभिने अनुमति थिएन, अब उभिने जाँगर पनि भएन।

००० ०००

१५ जेठ २०६४। संविधानसभाको पहिलो बैठक बस्ने तरखर थियो। केही दिन अघिदेखि नै संसद् भवनलाई बेहुलीजस्तै सिंगारिएको थियो। संविधानसभाको ऐतिहासिक पहिलो निर्वाचन र मनोनित गरी ६०१ जना सदस्य भेला हुँदै थिए। ती ६०१ मा पहिले–पहिलेजस्तो एक जात, एक भाषा, एक संस्कृतिको बाहुल्यता थिएन।

तीमध्ये ठूलो संख्या महिलाको थियो। दलित, आदिवासी–जनजाति, मधेसी, थारु, मुस्लिम, अल्पसंख्यक र फरक पहिचान भएकाको समेत प्रतिनिधित्व थियो। त्यसैले संविधानसभा थरिथरि फूलको रंगीन बगैंचाजस्तो देखिन्थ्यो।

तिनका अनुहारमा चमक थियो। अदम्य साहस थियो। मुलुक बनाउने हुटहुटी देखिन्थ्यो। उनीहरू सभा बैठक सुरु हुने व्यग्र प्रतीक्षामा थिए। तर, त्यसको केही किलोमिटर पर शक्तिको हानथाप चलिरहेको थियो। संविधानसभाले त्यसैदिन गणतन्त्र कार्यान्वयनको घोषणा गर्ने पूर्वसहमति थियो।

तर, निर्वाचनको लामो समयसम्म पनि सरकार छाड्ने मनसाय नदेखाएका तत्कालीन राष्ट्रप्रमुख तथा प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला अन्तरिम संविधान २०६३ का केही व्यवस्था संशोधन नगरी सरकार बुझाउन तयार थिएनन्।

सरकार गठनपछि हटाउन दुईतिहाइको मत आवश्यक पर्ने व्यवस्था अन्तरिम संविधानमा गरिएको थियो। संविधानसभाबाट नेकपा माओवादी सबैभन्दा ठूलो दल बनेको थियो। ऊ बाहेकको सरकार बन्ने अवस्था थिएन। अन्तरिम संविधानको सोही व्यवस्था कायम रहे माओवादी नेतृत्वमा सरकार बनेपछि त्यसलाई विस्थापित गर्न सम्भव थिए। त्यसैले कोइराला सरकार सम्पन तयार थिएनन्।

नेताहरूबीच चर्काचर्की चलिरहेकै थियो। संसद् भवनमा भेला भएका संविधानसभा सदस्यहरू कुहिरोको काग बनेका थिए। घन्टा बित्दै गए, आआफ्ना अडानबाट पछि हट्न कोही तयार देखिएनन्।

मध्यरात हुन लागेपछि माओवादी संशोधनका लागि तयार भयो। र, संविधानसभाको ऐतिहासिक बैठक प्रारम्भ भयो। प्रधानमन्त्री कोइरालाले संविधानको व्यवस्था फेर्न राजी नभए गणतन्त्र घोषणा गर्न आफू तयार नहुने दबाब दिएपछि माओवादीले अडान त्यागेको नेताहरू बताउँथे।

मध्यरातसम्म पनि देश सुतेको थिएन। अधिकांश जनता जागै थिए। सचेततापूर्वक संविधानसभालाई हेरिरहेका थिए। त्यसदिनको ऐतिहासिक बैठकले देशलाई औपचारिक रूपमा गणतान्त्रिक मुलुक घोषणा गर्‍यो। मध्यरात नै सारा देशले खुसीयाली मनायो।

तर, जनताले दिएको जनादेशमाथि न्याय गर्न नसकेका दलहरूले निर्धारित समयमा संविधान जारी गर्न सकेनन्। पटकपटक म्याद थप्दा पनि संविधान जारी नभएपछि सर्वोच्च अदालतले अन्तिमपटक म्याद थप्यो। त्यसमा पनि संविधान जारी भएपछि पहिलो संविधानसभा स्वत: विघटन भयो।

यो निराशा र राजनीतिक पराजयको साक्षी त्यही संसद् बनेको थियो। दलहरूले आआफ्नो अस्तित्व नस्वीकार्दा सर्वोच्चका बहालवाला प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा अन्तरिम मन्त्रिपरिषद् गठन भयो। त्यसले २०७० मंसिरमा संविधानसभाको दोस्रो निर्वाचन सम्पन्न गरेपछि संविधान लेखनको कार्य पुन: प्रारम्भ भयो।

यसपछि पनि व्यवस्थापिका र संविधानसभाको दुवै काम त्यही भवनबाट हुन थाल्यो। संविधानसभाको काम भने सोचेजस्तो प्रभावकारी बन्न सकेन। पहिलो संविधानसभामा सबैभन्दा ठूलो दल माओवादी खुम्चिएर तेस्रो भएको थियो। पहिलो र दोस्रो दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार गठन गरेका थिए।

आगोको भयानक लप्कामा सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, जिल्ला प्रशासन कार्यालय काठमाडौं लगायत जलिरहेका थिए। निभाउने दमकल त छाडिदिनुस्, चुकचुकाउँदै हेरिदिने साक्षीसमेत थिएनन्।

प्रमुख प्रतिपक्षी दलमा परिणत भएपछि माओवादीले सानासाना २८ भन्दा बढी दलको मोर्चा बनाएर ठूला दललाई दबाब दिने रणनीति लियो। तर, त्यो प्रभावकारी भएन। उल्टै संविधान निर्माण प्रक्रिया अवरुद्ध भइरह्यो।

दलहरूका टकरावले सहमति जुट्न नसकिरहेका बेला १२ वैशाख २०७२ मा गोरखाको बारपाक केन्द्रविन्दु बनाएर विनाशकारी भूकम्प आयो। भूकम्प आउँदा संसद् भवनमा व्यवस्थापिका संसदको बैठक चलिरहेको थियो।

भूकम्पको धक्काको केहीपछि माओवादीसमेत संविधान निर्माणका लागि आफ्ना प्रमुख मागबाट पछि हट्यो। प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिलगायतका आफ्ना मागलाई माओवादीले लिखित रूपमा दर्ज गरायो।

अन्तत: ३ असोज २०७२ मा संविधानसभाको बैठकमा प्रथम राष्ट्रपति डा. रामवरण यादवबाट संघीय लोकतान्त्रिक गणतान्त्रात्मक संविधान सार्वजनिक भयो। तर त्यो संविधानमा सबैभन्दा ठूलो जनसंख्या रहेको मधेश–तराईको प्रतिनिधित्व गर्ने मधेशवादी दलहरूको अपनत्व थिएन।

उनीहरूले संविधान लेखन प्रक्रियामा आफ्ना मुद्दा समावेश नभएको भन्दै संविधानसभा सदस्य पद त्यागेका थिए। नेपाली कांग्रेसका नेता तथा चिन्तक प्रदीप गिरिले संविधानको अन्तिम मस्यौदामा हस्ताक्षर गर्न अस्वीकार गरे।

यिनै कारणले संविधान जारी हुँदा सिंगो देशले एकसाथ खुसीयाली मनाएन। जसरी गणतन्त्र घोषणा हुँदा देश एकजुट थियो, साढे ६ वर्षपछि संविधान जारी हुँदा संविधानको अनपत्वलाई लिएर देश विभाजित बनेको थियो। यी सबैको साक्षी संसद् भवन थियो। जुन आज दनदनी बलिरहेको थियो।

म अघि बढ्दै थिएँ, गणतन्त्र घोषणादेखि संविधान जारी हुँदासम्म दृष्य रिकल भइरहे। त्यही क्षण ऐतिहासिक घटनाक्रमहरूको साक्षी संघीय संसद् भवन जेनजी पुस्ताको आन्दोलनको दोस्रो दिन आगोको मुस्लोभित्र थियो।

आगजनीअघि संसद् भवन कब्जा सोमबार र मंगलबार पटकपटक आन्दोलनकारी सुरक्षाकर्मीसँग भिडेका थिए। सोमबार सुरक्षाकर्मीको गोली प्रहारबाट १९ जना कलिला युवाले ज्यान गुमाएका थिए।

दोस्रो दिन थप आक्रोशित आन्दोलनकारीले संसद् भवन कब्जा गरिछाडे र लुटपाटपछि आगजनी गरेका थिए।

आगोको भयानक लप्कामा सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, जिल्ला प्रशासन कार्यालय काठमाडौं लगायत जलिरहेका थिए। निभाउने दमकल त छाडिदिनुस्, चुकचुकाउँदै हेरिदिने साक्षीसमेत थिएनन्, त्यो मध्यरातमा।

जताततै आगजनी जेनजी प्रदर्शन प्रधानमन्त्रीनिवासमा आगजनी शीतलनिवासमा आगजनी सिंहदरबारमा आगजनी
लेखक
दीपक अधिकारी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय