+
+
Shares

जंगीअड्डा बैठकमा जेनजी प्रतिनिधि नै विभाजित

जंगीअड्डा पुगेका केही जेनजी प्रतिनिधिले राजतन्त्र फर्काउने विषय समेत प्रस्ताव गरेपछि छलफलमा गम्भीर मतभेद देखिएको छ । गणतन्त्र पक्षधरले चाहिँ स्वतन्त्र र स्वीकार्य व्यक्तिको नेतृत्वमा नागरिक सरकार बनाउन प्रस्ताव गरेका छन् ।

गौरव पोखरेल गौरव पोखरेल
२०८२ भदौ २५ गते १९:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जंगीअड्डामा जेनजी प्रतिनिधि गणतन्त्र र राजतन्त्र विषयमा विभाजित भएका छन्।
  • नेपाली सेनाले वार्ताका लागि संयोजक तोक्न र एकमत भएर आउन समय दिएको छ।
  • सोमबार प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा १९ जनाको मृत्यु र २०० भन्दा बढी घाइते भएका थिए।

२५ भदौ, काठमाडौं । जंगीअड्डामा आफूहरुको माग सुनाउन गएका जेनजी प्रतिनिधि नै विभाजित भएका छन् । १५ जनाभन्दा बढीको संख्यामा नेपाली सेनाको मुख्यालय प्रवेश गरेका उनीहरु देशको भविष्य गणतन्त्र वा राजतन्त्र के हुने भन्नेमा विभाजित भएका हुन् ।

जंगीअड्डामा चलिरहेको छलफलबाट बाहिर निस्किएकी रक्षा बमले ‘आन्दोलनको न्यूनतम मर्मविरुद्ध छलफल अघि बढाइन थालेपछि आफू र केही साथीहरु बाहिरिएको’ भनेकी छन् । स्रोतका अनुसार, उनको संकेत छलफलमा राजतन्त्र फर्काउने प्रस्ताव गरिएको सन्दर्भमा हो ।

सैनिक स्रोतका अनुसार, बुधबार जंगीअड्डा पुगेका जेनजी प्रतिनिधिलाई सुरुमा प्रधानसेनापति अशोकराज सिग्देलले धेरैजना वार्तामा बस्दा कठिनाइ हुने भन्दै पहिले एकमत भएर आउन समय दिएका थिए । सेना प्रमुख सिग्देलले जेनजीतर्फबाट वार्ताका लागि संयोजक समेत तोकेर आउन भनेका थिए ।

त्यसपछि जंगीअड्डाभित्रै एउटा हलमा जनेजी प्रतिनिधिहरु कुराकानीका लागि बसेका थिए । त्यसक्रममा जेनजी प्रतिनिधि स्पष्ट दुई कित्तामा बाँडिएका थिए । स्रोतका अनुसार, एउटा पक्षले संघीयता र धर्मनिरपेक्षता हटाउनुपर्ने भन्दै राजा फर्काउनुपर्ने प्रस्ताव गरेका थिए ।

अर्को पक्षले चाहिँ जेनजीले गणतन्त्रको विकल्प नखोजेको भन्दै यसका नेताहरुको शैलीप्रति आन्दोलन लक्षित भएको जिकिर गरेका थिए ।

‘यो व्यवस्था विरुद्धको आन्दोलन थिएन, यही व्यवस्थाबाट निकास दिने हो । हामीले यसलाई नै सुधार्दै जाने हो,’ वार्तामा सहभागी एक जेनजी युवाले भने, ‘तर, गणतन्त्रलाई नै सुधार गर्दै जाने पक्षमा बोल्दा राजावादी पक्षमा रहेकाहरुले रोके ।’
त्यहीबेला गणतन्त्रवादी जेनजी प्रतिनिधिहरुले चाहिँ स्वतन्त्र र स्वीकार्य व्यक्तिको नेतृत्वमा नागरिक सरकार गठन हुनुपर्ने मत राखेका थिए ।

‘शहीद परिवार, आन्दोलनका घाइते जस्तालाई पनि प्राथमिकता दिनुप¥यो भन्ने कुरा थियो,’ स्रोतले भन्यो, कतिपय सन्दर्भमा छलफल व्यक्तिगत विषयहरुमा समेत प्रवेश ग¥यो ।’

स्रोतका अनुसार, सानो संख्यामा रहेका जेनजी रहेका युवाले अहिलेकै संसद्बाट निकास निकाल्नुपर्ने मत समेत राखेका थिए । तर, अधिकांशले त्यो प्रस्तावलाई अस्वीकार गरेको स्रोतको दाबी छ ।
स्रोतका अनुसार, नेपाली सेनाले चाहिँ अहिले वार्ता चलिरहँदा रास्वपा र दुर्गा प्रसाईं समेट्न खोजेको छ ।

‘यी दुई पक्षलाई बाहिर राखेर अघि बढ्दा भोलि फेरि समस्या हुनसक्ने भएकाले कुनै न कुनै रुपमा उहाँहरुको कुरा पनि सुनियोस् भन्ने हो,’ सैनिक स्रोतले भन्यो, ‘भोलि फेरि कुनै पनि हिसाबले समस्या नबल्झियोस् भन्ने हो ।’

नेपाली सेनाका उच्च अधिकृतहरुले भने संवादबाटै समस्याको समाधान निकाल्नुपर्ने बताइरहेका छन् । त्यसका लागि सेनाले सहजीकरण मात्र गर्ने उनीहरुले बताएका छन् । सैनिक मुख्यालयमा भएको छलफलपछि एककिमिसको एकमत बनाएर राष्ट्रपति कहाँ संवाद हुने सैनिक अधिकारीहरु बताउँछन् ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले समेत मंगलबार अपराह्न सामाजिक सञ्जालमार्फत सेना प्रमुखसँग वार्ता गर्न तयार हुनुस् भन्दै त्यसका लागि संसद् चाहिँ विघटन भएको हुनपर्ने उल्लेख गरेका थिए ।

‘अब तपाईंको पुस्ताले नै देशको नेतृत्व गर्नुपर्नेछ, तयार रहनु होला,’ उनले भनेका थिए । यसपछि राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै जेनजी समूहलाई वार्तामा आउन आह्वान गरेको थियो ।

त्यसक्रममा धेरै समूहले आफूहरु जेनजीको प्रतिनिधि भएको भन्दै राष्ट्रपति कार्यालय र नेपाली सेनासँग सम्पर्क गरेका थिए ।

‘नेतृत्व नभएका कारण जो कोहीले दाबी गर्दै सम्पर्क गर्न थाले, त्यसक्रममा वार्ता गर्ने ठाउँमा बस्नेको संख्या धेरै भयो,’ एक जेनजी युवाले भने, ‘त्यही कारण अहिले मतभेद देखिएको हो, तर यसलाई सच्याउनुपर्छ, हामीले गणतन्त्रको विकल्प खोजेका होइनौं ।’

भ्रष्टाचारविरुद्ध जेनजीले सामाजिक सञ्जालमा आक्रोश पोखिरहेका बेला सरकारले फेसबुक, एक्ससहित २५ सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएको थियो । त्यसपछि ‘नेपोनेविज’ अभियान चलाइरहेका युवाले सडक प्रदर्शन घोषणा गरेका थिए ।
सोमबार भएको प्रदर्शनका क्रममा प्रहरीले अत्यधिक बल प्रयोग गर्दा कम्तिमा १९ जना मारिएका थिए, २०० भन्दा बढी घाइते भए । मंगलबार प्रशासनको कर्फ्यूबीच प्रदर्शनकारी सुरक्षा घेरा तोडेर बानेश्वरस्थित संसद् भवन प्रवेश गरेका थिए । संसद् भवनमा आगजनी भएपछि जेनजी युवा नाराबाजीसहित अन्यत्र हिँडेका थिए ।

पछि मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार, सर्वोच्च अदालत लगायतका स्थानमा समेत आगजनी भयो ।

तनावको स्थिति सिर्जना भएपछि अपराह्न सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले विज्ञप्ति जारी गरेर ‘विषम परिस्थितिमा देशको ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक र राष्ट्रिय सम्पत्तिको संरक्षण गर्नु हामी सबैको साझा दायित्व’ भएको बताएको थियो ।

लेखक
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?