
२६ भदौ, हेटौंडा । हेटौंडा उपमहानगरपालिका–११ स्थित बाल सुधार गृह तोडफोड गरेर भागेका ७२ जनामध्ये ४१ जना बालबन्दीलाई फर्काइएको छ ।
हिजो बुधबार र आज बिहीबार गरेर भागेकाहरू ७२ जनामध्ये ४१ जनालाई नियन्त्रणमा लिइएको बाल सुधार गृहका प्रमुख प्रदीप गौतमले जानकारी दिए । उनकाअनुसार भागेकामध्ये २ जना आफैं फर्किएका हुन भने बाँकीलाई प्रहरीले नियन्त्रणमा लिएर बाल सुधार गृहको जिम्मा लगाएको थियो ।
३१ जना अझै फरार रहेको गौतमले बताए । १० देखि १५ जना बालबन्दीहरु परिवारको सम्पर्कमा समेत नआएको अभिभावकहरुले सुधार गृहलाई जानकारी गराएका छन् । केही अभिभावकहरुले आफ्ना बालकलाई आफैं फर्काएर ल्याउने प्रतिबद्धता जनाएको प्रमुख गौतमले बताए ।
सुधार गृहमा ९४ जना बालबन्दीहरू बस्दै आएका थिए । अपराधमा संलग्न भएको आरोपमा कम उमेरका बालकहरूलाई सुधार गृहमा राखिने गरिएको छ । बुधबार २२ जना बालकहरू भने सुधार गृहमै बसेका थिए ।
गौतमका अनुसार, आइतबार दिउँसो करिब साढे ३ बजे बालसुधार गृहको संरचना तोडेर उनीहरू फरार भएका हुन् । सुधार गृहको गेट बाहिर अभिभावकहरू आएपछि ढुंगामुढा भएको उनले बताए ।
बाहिरबाट अभिभावकहरूले ढुंगामढा गरेपछि बालबन्दीहरूले भित्र तोडफोड गरेर भागेको उनले बताए ।
प्रतिक्रिया 4