
News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि दलका नेताहरुसँग परामर्श गरेका छन्।
- पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई संविधान र संसद्को फ्रेमबाट शासकीय जिम्मेवारी दिनसक्ने प्रबन्धबारे छलफल भएको छ।
- दलहरुले संसद्ले नयाँ प्रधानमन्त्रीलाई वैधानिकता दिने संक्रमणकालीन व्यवस्था गर्ने प्रस्तावमा सहमति जनाएका छन्।
२६ भदौ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि राजनीतिक सहमति जुटाउन दलका नेताहरुसँग परामर्श गरेका छन् । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई संविधान र संसद्को फ्रेमबाट शासकीय जिम्मेवारी दिनसक्ने प्रबन्धबारे समेत छलफल भएको छ ।
कानुनविद्हरुसँगको छलफलपछि राष्ट्रपति पौडेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग संवाद गरेका छन् । माओवादी उपमहासचिव वर्षमान पुन पनि राष्ट्रपति कार्यालय, शीतलनिवास पुगेका थिए ।
माओवादी नेताहरु शीतलनिवास पुगेपछि राष्ट्रपति कार्यालयबाट कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई बोलाइएको थियो । तर, मध्यराति विभिन्न ठाउँमा भएकाले उनीहरुले टेलिफोनमार्फत नै संवाद गरेका थिए ।
‘शीतलनिवासमा वर्षमान पुनजीको मोबाइलमार्फत प्रचण्डजीले कांग्रेस नेताहरुलाई फोन गर्नुभएको थियो,’ कार्यालय स्रोतले भन्यो, ‘त्यसक्रममा नेताहरुले नयाँ सरकार गठनबारे कांग्रेसको अडान प्रस्तुत गर्नुभयो ।’
स्रोतका अनुसार, कांग्रेस नेताहरुले अहिले उत्पन्न परिस्थितिमा नयाँ सरकार गठनका लागि सहयोग गर्न पार्टी तयार रहेको सन्देश दिएका छन् ।
‘अहिले जेनजीले प्रस्ताव गरेका पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई नै प्रधानमन्त्री बनाएर जाँदा समेत हामीलाई आपत्ति छैन,’ कांग्रेस नेताहरुको भनाइ उदृत गर्दै स्रोतले भन्यो, ‘तर, त्यसलाई अहिलेको संविधानको फ्रेमभित्रै रहने गरी अघि बढाउनुपर्छ भन्ने उहाँहरूको कुरा छ ।’
स्रोतका अनुसार, प्रचण्डले समेत कार्कीलाई अघि बढाउने सन्दर्भमा आफूहरु सकरात्मक रहेको बताएका थिए । ‘तर, कांग्रेसले आफ्नो धारणा स्पष्ट गरे सहज हुने उहाँको कुरा थियो,’ स्रोतले भन्यो, ‘त्यसपछि कांग्रेस नेताहरुले संविधानको फ्रेमभित्र रहने गरी विकल्प समेत प्रस्तुत गरेका थिए ।’
त्यो भनेको संसद्बाट संविधानमा बाधा अड्काउ फुकाउने सम्बन्धी संक्रमणकालीन व्यवस्था गर्ने भन्ने प्रस्ताव भएको स्रोतको भनाइ छ ।
‘संसद्ले नै नयाँ प्रधानमन्त्रीलाई वैधानिकता दिने गरी अघि बढ्नुपर्छ भन्ने बटमलाइन रह्यो, त्यसो हुँदा संसद्लाई विघटन गर्ने भन्ने भएन,’ छलफलमा सहभागी एक नेताले अनलाइनखबरसँग भने, ‘संसद्को सदस्य नरहेको व्यक्तिलाई निश्चित उद्देश्य र निश्चित समयावधि प्रधानमन्त्री बनाउन सकिन्छ भनेर संक्रमणकालीन व्यवस्था गर्ने विषयमा दलहरु सहमत भएका छन् ।’
दुई दिनसम्म भ्रष्टाचारविरोधी प्रदर्शन गरेका जेनजी प्रतिनिधिसँग भने नेपाली सेनाले जंगीअड्डामा छलफल गरेको थियो । त्यसपछि उनीहरुले बुधबार पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम अघि सारेका थिए ।
कार्कीले समेत जिम्मेवारी लिन आफू सकरात्मक रहेको प्रतिक्रिया दिइसकेकी छन् । यसअघि बिहीबार राष्ट्रपति पौडेल र प्रधानसेनापति अशोकराज सिग्देलसँग समेत उनको पटकपटक वार्ता भइसकेको छ ।
राष्ट्रपति पौडेलले नयाँ प्रधानमन्त्री नियुक्तिबारे बिहीबार बेलुकी संविधानविद्हरुसँग समेत छलफल गरेका थिए । त्यसक्रममा उनीहरुले संविधानको फ्रेमभित्र रहेर कसरी अघि बढ्न सकिन्छ भन्ने सुझावहरु दिएका थिए ।
राष्ट्रपति पौडेलले पूर्वप्रधानन्यायाधीश कार्कीसँग समेत छलफल गरिरहेका स्रोतको भनाइ छ ।
भ्रष्टाचारविरुद्ध जेनजीले सामाजिक सञ्जालमा आक्रोश पोखिरहेका बेला केपी ओली नेतृत्वको सरकारले फेसबुक, एक्ससहित २५ सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएको थियो । त्यसपछि ‘नेपोनेविज’ अभियान चलाइरहेका जेनजीले स्वतः स्फूर्त सडक प्रदर्शन घोषणा गरेका थिए ।
सोमबार भएको प्रदर्शनका क्रममा प्रहरीले अत्यधिक बल प्रयोग गर्दा कम्तिमा १९ जना मारिएका थिए, २०० भन्दा बढी घाइते भए । अहिले मृत्यु हुनेको संख्या ३४ पुगिसकेको छ ।
मंगलबार प्रशासनको कर्फ्यूका बीच प्रदर्शनकारी सुरक्षा घेरा तोडेर बानेश्वरस्थित संसद् भवन प्रवेश गरेका थिए । संसद् भवनमा आगजनी भएपछि जेनजी युवा नारावाजीसहित अन्यत्र हिँडेका थिए ।
पछि मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार, सर्वोच्च अदालत लगायतका स्थानमा समेत आगजनी भएको थियो । यसपछि जेनजीसँग वार्ता गर्न नेपाली सेनाले समेत अग्रसरता लिएको थियो । सेनाको सहजिकरणमा जेनजीको मागहरुबारे एकमत बनाउने प्रयास भएको थियो ।
त्यसपछि राजनीतिक र कानुनी छलफलका लागि राष्ट्रपछि पौडेलले पहल लिएका थिए ।
प्रतिक्रिया 4