
News Summary
Generated by OK AI. Editorially reviewed.- दुई दिने जेन-जी आन्दोलनपछि संसदका प्रमुख दुई दल मिलेर बनेको गठबन्धन सरकार ढल्यो र पहिलो दिन १९ आन्दोलनकारीको मृत्यु भयो।
- सामाजिक सञ्जालमा दलहरूको आत्मसमीक्षा प्रति अधिकांश प्रयोगकर्ताले पुराना र दोस्रो पुस्ताका नेताहरू सच्चिनेमा विश्वास नगरेको प्रतिक्रिया दिएका छन्।
- नेताहरूले भ्रष्टाचार र नेतृत्वको कमजोरीलाई स्वीकार्दै सुधारका लागि ठोस योजना र प्रतिबद्धता देखाउनुपर्ने सुझाव सामाजिक सञ्जालमा उठाइएको छ।
२७ भदौ, काठमाडौं । दुई दिने जेन-जी आन्दोलनले संसदका प्रमुख दुई ठूला दल मिलेर बनेको शक्तिशाली गठबन्धन सरकार ढल्यो ।
आन्दोलनमा सरकारी दमनमा पहिलो दिन नै १९ जना जेन-जी आन्दोलनकारीको मृत्यु भएपछि दोस्रो दिन आन्दोलन थप उग्र भयो । आन्दोलनको दोस्रो दिन थप मानवीय क्षतिसँगै बेहिसाब भौतिक क्षति भयो ।
आन्दोलन रोकिएसँगै विहीबारबाट दलहरूका नेताहरूले सामाजिक सञ्जालबाट आफ्ना धारणा राख्न थाले ।
दलहरूका सुरुवाती प्रतिक्रिया समेटेर विहीबार अनलाइनखबरमा प्रकाशित ‘दलहरूको आत्मसमीक्षा : हामी सच्चिन्छौं, संविधानको बाटो नभत्कियोस्‘ शीर्षकको समाचारमाथि सामाजिक सञ्जालमा प्रतिक्रिया जनाउने झन्डै शतप्रतिशत प्रयोगकर्ताहरूले दलका पहिलो पुस्तामात्र नभएर दोस्रो पुस्ताका नेताहरू सच्चिनेमा पटक्कै विश्वास गर्दैनन् ।
एक्समा शेयर गरिएको उक्त समाचारमा कमेन्ट गर्दै डी. विष्टले प्रश्न गरेका छन्, ‘यदि साँच्चिकै सुध्रिने हो भने नयाँ पुस्ताले पुरानाहरूलाई पार्टीबाट निस्कसित गरेर बेदाग नेताहरूको पार्टी बनाउनोस् । हिम्मत छ?’
उनी थप्छन्, ‘दलहरूले सच्चिन्छौं भनेको कति वर्ष भयो र कहिले सुध्रिए ? नाटकमा यिनीहरू सिपालु छन्। जबसम्म यी पुराना नेता भनाउँदा दल छोडदैनन् र नयाँ आउँदैनन् तबसम्म … हामी पत्याउँदैनौं ।’
नेता सुध्रन्छन् भन्नेमा पटक्कै विश्वास नभएको संकेत गर्दै कार्की अगाडि लेख्छन्, ‘०६२/६३ मा सच्चिने भनेर, आत्मलोचना गरेर यो हालतमा पुर्याए । फेरि दोस्रो प्रहसनको रिहर्सलमा उत्रिए जस्तो छ।’
एक्समा नेपालगञ्जिया नाम राखेका अर्का प्रयोगकर्ता लेख्छन्, ‘बच्चादेखि सच्चिन्छौं भने, अहिले हामी बुढो हुन लाग्यौं, २०६३ सालमा भने मान्यौं । २० वर्ष भयो, उद्योग छैन, रोजगारी छैन, कार्यकर्ताको मोज, अनुदान कार्यकर्तालाई । पुलिसमा न्याय छैन । फेरि नेताको गुलामी मात्रै … तपाईंहरू सच्चिनु सर्पले टोक्दैन भनेजस्तै हो !’
युवामाझ लोकप्रिय रहँदारहँदै पनि कांग्रेस महामन्त्री गगन थापाले भ्रष्ट नेताहरूको साथ र आशिर्वादबाट नेतृत्वमा पुग्ने बाटो रोजेर निराश बनाएको अर्का प्रयोगकर्ताको गुनासो छ । डा. सुनिता दवाडी एमाले नेता योगेश भट्टराई माथि पनि यस्तै प्रश्न गर्छिन्, ‘योगेश भट्टराई हामीमाथि कसले अनुसन्धान गर्ने भन्दै धम्कीको भाषा बोलेको होइन ?’
कसैलाई छैन विश्वास, बरू गर्छन् व्यङ्ग्य
सामाजिक सञ्जाल प्रयोगकर्ता कमलबहादुर थापाले व्यङ्ग्यात्मक शैलीमा लेख्छन्, ‘हाम्रा हजुरबा ३५ वर्ष अघिदेखि निरन्तर रक्सी सेवन गर्ने । अरू बानी असाध्यै असल । रक्सी छोड्छु भनेको यही कानले त १०० पटक भन्दा बढी सुन्यो होला।’
उनी अगाडि थप्छन्, ‘उहाँले रक्सी त छोड्नु भएन। तर केही वर्ष पहिला संसार छोडिसियो। आज पनि स्मरणमा होइबक्सिन्छ।’
एक्स प्रयोगकर्ता मिलन समाजमा अति भइसकेको बताउँछन् । ‘तिमीहरूले मौका गुमाइसक्यौ, पासपोर्ट बनाऊ, अरब जाऊ र हामीजस्तै त्यहाँ काम गर। अब यहाँ बस्ने कुरा छैन। तिमीहरूले हाम्रो देशलाई धेरै बिगारिसक्यौ—अब धैर्यको सीमा सकिएको छ।’
आफूलाई दलआबद्ध नभएको नेपाली नागरिक बताउने अर्का प्रयोगकर्ता लेख्छन्, ‘कसरी सच्चिने? सच्चिन अब के के गर्छौ? कसरी गर्छौ? कहिले गर्छौ? अनि त्यसको विश्वसनीय आधार के? जनताले किन, कसरी, केका आधारमा फेरी तिमीहरूलाई विश्वास गर्ने? यस्ता अमूर्त कुराले जनता भुलाउने दिन गए।’
बसन्त बानियाँ व्यङ्ग्यात्मक शैलीमा चेतावनी दिन्छन्, ‘तिमीहरू पनि सच्चिने बेलासम्म २०४७ सालको संविधान लागु हुनेछ ।’
सच्चिने कुरा बोलीभन्दा व्यवहारमा देखिनुपर्ने कृष्णप्रसाद शर्माको बुझाइ छ । ‘कुनकुन पार्टीका अध्यक्षहरू र सभापतिहरूले पार्टी प्रमुख पदबाट राजीनामा दिएर दोस्रो र तेस्रो तहका नेताहरूलाई पार्टीको जिम्मेवारी दिए ? अब यस्तो झुटको पछाडि लाग्ने मुर्ख नेपालीहरू कोही छैनन्,’ शर्माले भनेका छन् ।
दोस्रो पुस्ता पनि उस्तै
जेन-जी आन्दोलनअघि सामाजिक सञ्जालमा व्यक्त मतलाई खासै मतलब नगर्ने परम्परा दलहरूमा देखिन्थ्यो । तर त्यही शक्तिलाई सडकमा उतारेर शक्तिशाली आन्दोलन भएको पृष्ठभूमिमा सामाजिक सञ्जाललाई पनि नागरिकको मत बुझ्ने थलोको रूपमा स्वीकार्न थालिएको छ ।
अधिकांश प्रयोगकर्ताले दोस्रो पुस्ता अर्थात् पञ्चायतविरुद्ध संघर्षमा नेतृत्व गरेका नेताहरू मात्र होइन, ०६२/६३ को जनआन्दोलनमा सहभागी नेतृत्वप्रति पनि विश्वास गुमाएको देखिन्छ ।
फेसबुक प्रयोगकर्ता राजु पौडेल लेख्छन्, ‘यो एमालेमा पहिलो पुस्ताभन्दा दोस्रो पुस्ताका नेताहरू झनै खराब छन्, कसरी सुध्रन्छन् ?’
दोस्रो र तेस्रो पुस्ताले आफ्नो भूमिका राम्ररी निभाउन सकेको भए अहिलेको अवस्था नआउने बुझाइ अधिकांश प्रयोगकर्ताको मत देखिन्छ ।
सुभाष आलेको आक्रोश छ, ‘तिमीहरू राम्रो भइदिइएको भए, देश रोइरहेको छ र जनताले दुःख पाउँदैन थियो ।
दोस्रो र तेस्रो पुस्ताले राम्ररी काम गर्न सकेको भए जेन-जीले रगत बगाउनु नपर्ने उनी लगायतको तर्क छ ।
समाचार पढेपछि राष्ट्रिय स्वतन्त्र पार्टीकी नेता सुमना श्रेष्ठले प्रश्न गरिन्, ‘कसरी सच्चिने? एकदम अमूर्त भयो । कसरी भन्ने खाका सुन्न पाए हुने थियो! यी त अहिले कानुनमै भएको तर अनदेखा गरेकोबाट शुरू गर्ने कि ?’
श्रेष्ठले दलीयकरण रोक्न शिक्षक र कर्मचारी संगठन खारेज गर्ने, विद्यार्थी संगठनलाई नियुक्ति र ठेक्काको काममा बार्गेनिङमा नलगाउने, शिक्षालयमा तोडफोड र बन्द गर्नेलाई कारबाही गर्ने र शिक्षक/प्राध्यापक कुट्नेलाई प्रश्रय नदिने प्रतिबद्धता आउनुपर्ने तर्क गरेकी छन् ।
राजदूत, संवैधानिक निकाय, विश्वविद्यालय, बैंकका प्रमुखहरू र करारमा भर्ती गरिएका कार्यकर्तालाई हटाउने प्रतिबद्धता पनि सुध्रिने नेताहरूले गर्नुपर्ने श्रेष्ठको सुझाव छ ।
श्रेष्ठका अनुसार, यी काम तत्कालै गर्न सकिने काम हुन् र यसका लागि न संसद र सरकार चाहिंदैन । ‘प्रिय-जेनजीहरू ! यी माग पूरा नगरेसम्म वाचाहरूमा मात्र विश्वास नगर्नुस्,’ श्रेष्ठ भन्छिन् ।
कुनै ठोस योजनाविना सुध्रने प्रतिबद्धतालाई सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले नौटंकीको संज्ञा दिएका छन् । ‘नौटंकी फेरी सुरू भयो । यिनीहरू कुनै पनि हालतमा अब देशको शासन सत्तामा आउनु हुँदैन ।
कहीँ न कहीं सबै दोषी छन्’ अजय घिमिरेको प्रतिक्रिया छ, ‘दलको ह्विप काट्न नसक्ने, जे भन्यो त्यही नै गरेर यिनले पनि यो परिस्थिति सिर्जना गर्न कुनै कसर बाँकी छाडेका छैनन् ।’
राजनीतिक नेतृत्वबाट सुध्रने प्रतिबद्धता आउन निकै ढिला भइसकेको केही प्रयोगकर्ताले लेखेका छन् । महेश सुनुवार लेख्छन्, ‘अब धेरै ढिला भयो ।’
अधिवक्ता कमलप्रसाद पोखरेल थप्छन्, ‘तपाईंहरू जेलमा गएर हामी जनतालाई चिट्ठी लेख्नुस्, अनि पत्याउँला । ढाँटको निम्तो खाई पत्याम्ला ।’
अर्का प्रयोगकर्ता कृष्ण घिमिरेको मत पनि उस्तै छ । ‘तिमीहरू सक्कियौ । अब धेरै ढिलो भइसक्यो । सत्ता छउन्जेल एक अर्काको उछितो काढ्यौ । जनतालाई मान्छे गनेनौं’ उनी लेख्छन्, ‘सत्ताको अहंकार र उन्मादले जुन जनताले हाम्रो लागि लड्यो उसको लागि भनेर कहिल्यौ सोचेनौं ।’
उनी आक्रोशित हुँदै थप्छन्, ‘सधैं पैसा र सत्ताको पछि लाग्यौ । आज आफ्नै घर जलाउँदा बचाउने कोही भएन । कहाँ गए तरुण दल, युवा संघ र वाइसीएल ? आज त्यही घानमा इमान्दार व्यक्तिहरूले पनि आफ्नो घरसँगै सर्वस्व गुमाए ।’
नयाँ सरकारले हिजोका भ्रष्टहरूलाई मुद्दा लगाएर जेल पठाउने विश्वास घिमिरेलाई छ । ‘हिजो छानी-छानी भ्रष्टलाई कारबाही गरेको भए यो दशा आउँथ्यो ? नमर्दासम्म नछाड्ने पद लोलुपताले अन्धकार बनायो । अब भोग कुकर्मको फल । के गर्छौं, यो त प्रकृतिको नियम नै हो ।’
बिलोचन भण्डारीको भनाइ पनि फरक छैन, ‘ठिक छ, सच्चिन पाइयो । माफी माग्न पाइयो तर अहिल्यै माफी माग्ने अहिले नै स्वीकार्ने भन्ने हुन् । अब स्वीकार- अहिले जनताले छान्नेछन् । बिस्तारै जनताको भरोसा जित । राम्रो काम गर । समय लाग्ला तर तिमी सुध्रियौ भने जनताले पक्कै सपोर्ट गर्नेछन् । तर, अहिलेलाई तिमीहरू सिध्दियौ । यसलाई जति छिटो र सजिलो स्वीकार्छौ, त्यति सजिलो होला ।’
निराजन सापकोटाको प्रश्न पनि उस्तै छ । ‘आजसम्म यत्रो मौका पाएर पनि केही गर्न सकेनन्, उनीहरूले अब चाहिं केही गर्नेछन् भनेर कसरी आशा र विश्वास गर्ने ?’ उनी लेख्छन्, ‘सकारात्मक परिवर्तनले युवालाई मात्रै होइन, तपाईंको परिवार, सन्तति र पार्टीलाई पनि फाइदै पुर्याउन सक्छ ।’
दलका नेताहरूलाई सापकोटाको सुझाव छ- अब केही समय पार्टी बिर्सेर देशका लागि सोचौं ।’
अर्का सामाजिक सञ्जाल प्रयोगकर्ता शंकर भुल भने दलका नेताहरूले गणतन्त्रको आफूअनुकूल व्याख्या गर्दै राज गर्दाको प्रतिफल भन्छन् । ‘अब के गर्छौ, आफू त गयौ, पछाडिको पुस्तालाई नि सकेर गयौ । सब खरानी बनायौ, अहंकारको प्रतिफल ।’
शम्भु बेघा लिम्बु थप्छन्, ‘सकिएपछि सच्चिनुको कुनै अर्थ छैन । अब सबै जना घरमा नातिनातिना खेलाएर बस्नू !’
चिरन बास्कोटा नेताहरूलाई धेरैपटक ब्याक पेपर दिने सुविधा दिन नहुने सुझाव दिन्छन् । यसैमा थप्दै भ्रद नकल पटकपटक सच्चिन भन्दा नसच्चिएको प्रतिफल नेताहरूले भोगिरहेको बताउँछन् ।
‘जनताले कहिल्यै भोट बहिष्कार गरेनन्, जनताले कहिल्यै कर तिर्न अस्वीकार गरेनन्, कहिल्यै तपाईंहरूलाई पूर्णतः अस्वीकार गरेनन्। बरू, जे गरे पनि जनताले मानिहाल्छन् भन्ने ठानेर तपाईंहरू सुधारको बाटोमा कहिल्यै अघि बढ्नुभएन’ बास्कोटा थप्छन्, ‘लोकतन्त्रभन्दा उत्कृष्ट शासन व्यवस्था साँच्चै अरू छैन भन्ने तथ्य सारा जनताले स्वीकारे र अहिले पनि स्वीकार्छन् तर, जनतालाई त्यसको वास्तविक अनुभूति दिलाउने प्रयास भने तपाईंहरूबाट देखिएन।’
बेरोजगार, महँगी, करमाथि कर, भ्रष्टाचार र घुसजस्ता समस्या दिनानुदिन बढ्दा जनता वाक्क र दिक्क भएको नेताहरूले नबुझेको उनको टिप्पणी छ । ‘देश बनाउन समय लाग्छ, दालभात खाएझैँ सजिलो हुँदैन’ भन्ने तर्क गर्दै ३५ वर्ष बित्दा पनि एउटा उद्योग/कलकारखाना नबनाएको उनको गुनासो छ ।
‘देश बन्छ, हुन्छ भन्ने नारामै देशको ऋण अर्बौंबाट बढ्दै २७ खर्ब पुग्यो, देशमा सबै सम्भव छ भनिरहँदा अधिकांश युवा रोजगारीको खोजीमा विदेशिनु पर्यो। अदालतले स्पष्ट आदेश दिँदा पनि १२ वर्षसम्म विदेशमा रहेका नेपालीलाई मतदान अधिकार सुनिश्चित गर्ने व्यवस्था कार्यान्वयनमा ध्यान दिनुभएन,’ उनले नेताका विगतबारे बताएका छन् ।
उनको निष्कर्ष छ, ‘सबै कुराको हद हुन्छ, हद नाघेपछि पछुतो सय प्रतिशत हुन्छ। आज तपाईंहरू त्यही सय प्रतिशत नजिक पुगिसक्नुभएको छ।’
नेताहरू सच्चिन निकै ढिला भइसकेको निष्कर्ष सुनाउँदै रेशममणि घिमिरे प्रश्न गर्छन्, ‘पोहोर मरिन् सासू, अहिले आयो आँसु भनेजस्तै भएन र ?’
प्रतिक्रिया 4