
News Summary
Generated by OK AI. Editorially reviewed.- भक्तपुर ठिमीमा २४ भदौमा जेनजी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर साजन राई मेवाहाङको मृत्यु भएको छ।
- साजनका दुई छोराछोरी ५ र १२ वर्षका छन् र उनीहरू बुवाको मृत्युबारे पूर्ण जानकारी छैनन्।
- आन्दोलनमा सहभागी भरत राईले भने, 'अब यिनीहरुको लासले भएपनि न्याय पाउनुपर्छ' र मृतकलाई सहिद घोषणा गर्न माग गरेका छन्।
२८ भदौ, काठमाडौं । भक्तपुर ठिमीको एक साँघुरो कोठा । ५ र १२ वर्षका दुई बालक थालमा राखेको एउटा दियोमा तेल थपिरहेका छन् । धुप बालिरहेका छन् । अगाडिपट्टी बुवाको फोटो छ । दियोमा तेल सकिएर निभ्न लागेपछि दाजुभाई फेरि त्यहाँ तेल थप्न पुग्छन् । आफन्तले आत्माको शान्तिका लागि दियो बालिदिएका छन् ।
किन यसो गरिएको हो उनीहरुलाई थाहा छैन । १२ वर्षका बालकलाई चाहिँ बुवालाई गोली हानेका छन् भनेर कसैले सुनाई दिएको छ । गोली लागेको बुवाको अवस्था के छ ? उनलाई थाहा छैन । बस् दुई जना बालक बुवा कहिले आउलान् भन्दै पर्खेर बसिरहेका छन् ।
यी दुवै बालककी आमा २२ महिना अघि नै बितिसकेकी थिइन् । त्यसपछि बुवा साजन राई मेवाहाङले उनीहरुलाई मजदूरी गर्दै हुर्काइरहेका थिए । अब यी दुई बालकका बुवा कहिल्यै फर्किने छैनन् । जेनजी आान्दोलनको क्रममा उनको गोली लागेरका मृत्यु भइसकेको छ । आफन्तजन उनको लास पर्खेर बसेका छन् ।
०००
न अगाडि जेन–जी शब्द सुनेका थिए, न जानेका । के हो ? कहाँबाट आयो यो शब्द ? वा कुनै संगठन पो होकी ? ४२ वर्षे साजन राई मेबाहाङले आन्दोलनका आयोजकबारे नै बुझ्न पाएनन् । तर, सामाजिक सञ्जालमा ‘सेप्टेम्बर ८’ मा आन्दोलन हुने भन्दै कन्टेन्टको बाढी आयो, जसले उनलाई पनि जोस्यायो ।
जेनजी नबुझेका उनले ‘जेनजी आन्दोलन’लाई भने नजिकबाट हेरिरहेका थिए । पहिलो दिनको प्रदर्शनमा उनका भतिज भरत मेबाहाङ राईसहित चिनेजानेका केही व्यक्ति गएका थिए । तर, त्यसदिनको अवस्था सोचेभन्दा पर गयो । आन्दोलन कसैको नियन्त्रणमा थिएन । सुरक्षाकर्मीले अन्धाधुन्ध गोली हान्दा त्यही दिन १९ जनाको मृत्यू भएको समाचार बाहिरिइसकेको थियो, जुन संख्या अहिलेसम्म ५० नाघिसकेको छ ।
पहिलो दिन दमन भएपछि साजनलाई खपिसक्नु भएन । उनी उत्तेजित बने । ‘हामी सर्वसाधारणका छोराछोरीलाई गोली हान्ने ? भोलिको आन्दोलनमा म पनि जान्छु,’ उनलाई उधृत गर्दै भतिज भरतले काकाको आक्रोश सुनाए । आक्रोशित काका भोलिपल्ट घरमा अडिन सकेनन् । दुई छोराका बा रहेका उनलाई मारिने सबै आफ्नै सन्तानजस्तो लाग्यो । यसले सरकारप्रति रिस थप्यो ।
तर, भोलिपल्टसम्म यी कसैलाई जेनजी के हो भन्ने थाहा थिएन । आयोजक को हो भन्ने पनि जानकारी थिएन । आन्दोलनमा जान प्रेरित गर्ने एउटै कुरा थियो – सामाजिक सञ्जालमा सुनिएका भ्रष्टाचार विरोधी नारा ।
देश नै भ्रष्टाचारमूक्त बनाउने एजेण्डा बोकेको यो आन्दोलनबारे सुनेपछि राईका काका–भतिज नै सहभागी भएका थिए । ‘जेन–जी के हो त थाहा थिएन । आयोजक को हो पनि चिनेका थिएनौँ । तर, भ्रष्टाचारमूक्त नेपाल बनाउन आन्दोलन हुने भनेपछि जोस्सिएर आएका हौँ,’ भरतले भने ।

तर, दुर्भाग्य – भोलिपल्टको प्रदर्शनमा भरतका काका साजन सडकमै ढले । उनको छातीमा गोली लाग्यो । आन्दोलनका आयोजक र त्यसमा प्रयोग भएको ‘जेनजी’ शब्दै नबुझी उनले ‘जेनजी आन्दोलन’को सहिद बन्नुपर्यो ।
भतिज भरतकाअनुसार काकालाई अघिल्लो दिन १९ जना मारिएको रिस थियो । सँगै आन्दोलनका नाराले जोस्याएको थियो । आयोजक र यसमा प्रयोग भएका कुरामा खासै चासो थिएन । ‘म आफैँले जेनजी भनेको बल्ल बुझ्दैछु । राम्रै होला भनेर आएको, यो त के भयोभयो,’ उनी आश्चर्यचकित सुनिए ।
३५ वर्षका भरत पनि वैदेशिक रोजगारीका लागि साउदी अरब जानको लागि अन्तर्वार्ता दिन काठमाडौँ आएका थिए । अन्तर्वार्ताको तयारीमा थिए । तर, काठमाडौं आइपुग्दा टिकटक र फेसबुकमा चलिरहेको ‘नेपो बेबी’ ट्रेण्डलगायतका कुराबाट जोस्सिए । नेताका छोराछोरीको विलासिता सामाजिक सञ्जालमा छरपस्ट हुन थालेपछि आफ्नो अवस्था हेरे । संखुवासभाका उनी सामान्य आर्थिक हैसियत भएका परिवारका हुन् । त्यसैले आन्दोलनमा जान थप प्रेरित भए ।
‘जेनजी–सेनजीमा के ध्यान र ? हामी सुशासन खोज्न सडकमा आएका थियौँ,’ भरतले भने, ‘त्यसबेला त यसको नेता को हो पनि थाहा थिएन । अहिले पो सबै म हो भन्दै अगाडि आइरहेका देख्छौँ । यिनलाई त हामीले चिन्दैनौँ ।’
आफ्नो काकासँगै भरतले सालो नाता पर्ने आफ्न्त प्रविन कुलुङ पनि गुमाएका छन् । कुलुङको पनि प्रहरीको गोली लागेर मृत्यु भयो । त्यसबाहेक कति साथीहरु घाइते अवस्थामा छन् ।
०००
४२ वर्षीय काका भक्तपुरको ठिमीमा भाडाको कोठामा बस्थे । उनका दुई छोरा (१२ वर्ष र ५ वर्ष) छन् । मजदुरी गरेर परिवार पाल्थे । एकदिन ज्यालाको काम नगरे भोलि खाने कुराको चिन्ता हुन्थ्यो । छोरालाई नजिकैको सरकारी विद्यालयमा नै पठाएका थिए ।
‘काकाको आर्थिक अवस्था कमजोर थियो । काठमाडौँको महँगीमा भाडा तिर्न, छोराहरूलाई पाल्न गाह्रो थियो,’ भरतले भने, ‘काकी पनि भर्खरै बित्नुभएको थियो । राज्यले ती भाइबहिनीलाई टुहुरो बनाइदियो । मलाई त्यसको पो झन चिन्ता छ ।’
काका साजनले पहिले ड्राइभर काम गर्थे । तर, उमेर ढल्किएपछि उनले घर निर्माण क्षेत्रमा मजदुरी थाले । घर बनाउने, पर्खाल लगाउने जस्ता काम गरेर जीविका चलाउँथे । तर, यति कठिन जिन्दगीका बाबजुद उनको मनमा देशप्रतिको चिन्ता थियो । ‘यी भ्रष्ट्रले देश बिगारे । म त यसैगरी चलेँ, यी छोराछोरीको के होला ? त्यसैले यसको विरुद्ध लड्नुपर्छ’ भनेर काकाले भरतलगायतका परिवारका सदस्यलाई भनिबस्थे ।
जसै मंसिर २३ गते काठमाडौँको सडक तात्यो । कलिला बालबालिका माथि राज्यको बर्बरता मच्चियो । तर पनि सरकार पक्षमा कुनै ग्लानी बोध नभएको उनले पाए, उनी रिसाए । त्यही आक्रोशले २४ गते साजनलाई सडकमा पुर्यायो, जसपछि उनी घर फर्कनै पाएनन् ।
२४ गते बिहान, भरत र साजन खाना खाएर आन्दोलनमा निस्किएका थिए । पेप्सीकोलाबाट बानेश्वरसम्म शान्तिपूर्ण जुलुसमा जोडिए । ‘हामी एक–डेढ सय जना थियौँ । कोही चिनेजानेका, कोही अपरिचित । उद्देश्य एउटै – शान्तिपूर्ण आन्दोलन गर्ने,’ भरतले भने ।

तर, केही उच्छृङ्खल समूहले तोडफोड थाल्यो । भरतकाअनुसार दिउँसो दुई बज्न नपाई संसद् भवनमा आगो लागिहाल्यो । क्रमश : जताततै प्रहरी चौकीहरू तोडफोड भए । ‘हाम्रो उद्धेश्य तोडफोड थिएन । हामीले भ्रष्टाचार हटाउन भनिरहेका थियौँ । तर, केही अराजक मान्छे घुसेर आन्दोलनलाई गलत दिशामा लगे,’ उनी चिन्तित सुनिए ।
उनले र उनका साथीहरूले यो गलत भएको भन्दै पछाडि हट्ने निर्णय गरे । बानेश्वरबाट फर्किए । तर, उता काका साजन भने आन्दोलनको अग्रपंक्तिमा थिए । ठिमीमा प्रदर्शन गरिरहेका थिए । प्रदर्शनकै क्रममा दिउँसो ५ बजे ठिमीको सानो फिल्डमा प्रहरीले गोली चलायो । साजनको छातीमा गोली लाग्यो ।
‘हामीले थाहा पाउँदा काका ढलिसक्नुभएको थियो । प्रहरीले सिधै छातीमा गोली हानेछ । त्यसपछि त्यहीँको कोरियन अस्पतालमा साथीहरुले पुर्याएछन् । त्यहाँ पुग्दा मृत घोषणा गर्यो,’ भरतले सुनाए ।
अहिले साजनको शवलाई केएमसी अस्पतालमा राखिएको छ । घरमा रहेका अवोध छोराछोरीले मेलो पाएका छैनन् । बाबाको मृत्यु भएको थाहा पाइसकेका छन्, तर यो भनेको के हो त्यति बुझेका छैनन् । ‘बाबालाई मार्यो रे भन्छन् । अनि फोटो अगाडि हामीले दियो बालेका छौँ । त्यो निभेपछि ‘बुबाको दियो बालौँ’ भनेर बाल्न खोज्छन्,’ भरत भावुक सुनिए, ‘अवस्था नाजुक छ । उनीहरुलाई हेरेर रुन आउँछ । तर, के गर्नु ? सरकार नै छैन, कसले न्याय दिएला ?’
प्रविन गौशालामा प्रहरीको गोलीले मरे । यो जेनजीको नाममा भएका आन्दोलनबाट उनले धेरै कुरा गुमाए । कति पाए, त्यो राज्यको मार्गचित्रले नै बताउला । त्यसैले अब उनको माग छ – मृतकलाई सहिद घोषणा र उचित क्षतिपूर्ति ।

यति नगरुन्जेल अस्पतालबाट शव नउठाउने घोषणा उनले गरेका छन् । ‘म काकाको शव तब उठाउँछु, जब सरकारले हामीलाई न्याय दिन्छ । उचित राहतको व्यवस्थापन गर्छ । शहीद घोषणा गर्छ,’ उनले माग सुनाए, ‘राज्यले उनीहरूको जिम्मा लिनुपर्छ । काका देशका लागि लडे, कुनै व्यक्तिगत स्वार्थले होइन । त्यसैले यत्तिकै शव उठाइँदैन ।’
उनलाई सरकारप्रति विश्वास त्यतिकै गुमेको हैन । कारण, यस्तै धोका उनले यसपटक पनि झेलिसकेका छन् । दश वर्षे माओवादी आन्दोलनमा उनी ‘बालसेना’ थिए । त्यसबेला पनि राज्यले धोका दियो । जम्मा १० हजार रुपैयाँ दिएर १६ वर्षीय कलिलो उमेरमा घर फर्काइदियो । कलिलै उमेरमा देशका लागि बन्दुक बोकेका उनले आश्वासनअनुसार कुनै सहयोग पाएनन् ।
०५८/५९ सालतिर उनी राजतन्त्रविरुद्ध जनताको शासन स्थापना गर्न माओवादीमा जोडिएका थिए । ‘हामी देश बदल्ने आशा लिएर लड्यौँ । तर, शान्ति प्रक्रियामा देश गयो । हामीलाई बालसेना भन्दै क्यान्टोनमेन्टबाट निकालियो,’ भरतले सम्झिए, ‘दश हजार रुपैयाँ दियो । माओवादीको होकी सरकारको हो त्यो पैसा थाहा छैन । तर, त्यतिले त हाम्रो अपमान गरेको नै ठान्यौँ ।’
जबकी त्यही जनयुद्धमा होमिदा कसैले कलिलो छस् भनेनन् । कसैले बेला भएको छैन भनेनन् । जोस–जोसमा युद्धमा हिडे । ढाडमा बमको छर्रा र खुट्टामा गोलीको खत अझै मेटिएको छैन । तर, राज्य र नेतृत्वले धोका दियो । यो धोकाले उनको विश्वास डगमगायो । २०७२ को संविधानसभा चुनावपछि उनले माओवादी परित्याग गरे ।
‘हामीले खोजेजस्तो संविधान बनेन । जनयुद्धमा मरेका र घाइतेहरूको सम्बोधन भएन । मेरो भावना अटेन,’ भरतले भने, ‘अर्कोतर्फ शान्ति प्रक्रियापछि पनि नेतृत्वले पटकपटक गल्तीहरु दोहोर्याउँदै गयो । त्यसपछि माओवादी र राजनीति दुवै छोडेँ ।’
यद्यपि, देशमा सुशासनको खोजी उनले सधैँ गरिरहे । त्यही चाहनाले उनलाई १९ वर्षपछि जेनजी आन्दोलनमा जोड्यो । साउदी जाने प्रक्रिया पुरा गर्ने उद्देश्यले अन्तर्वार्ता दिन आएका उनले जेनजी शब्द पनि यहीँ सुने । त्यसकै नेतृत्वमा गरिएको आन्दोलनमा सहभागी भए ।
यसको खास नेता को हो उनले अझै चिन्न सकेका छैनन् । तर, यता काका गुमाए । सालो गुमाए । ‘अब यिनीहरुको लासले भएपनि न्याय पाउनुपर्छ । म विदेश जान्न । यहीँ लड्छु, केही गर्छु,’ उनले भने ।
प्रतिक्रिया 4