
२९ भदौ, काठमाडौं । जेनजी आन्दोलनका कारण लगाइएको कर्फ्यू र निषेधाज्ञा हटेसँगै आजदेखि स्थानीय तहको सेवा र विद्यालय सञ्चालन हुने भएका छन् ।
शनिबारदेखि नै जनजीवन सामान्य बनेकोले जादेखि स्थानीय तहको सेवाका साथै विद्यालयहरु सञ्चालन गर्न लागिएको हो ।
संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले शुक्रबारै सेवा अघि बढाउनेबारे ७५३ वटै पालिकाहरूलाई सर्कुलर जारी गरेको छ ।
क्षति भएका कार्यालयहरूलाई वैकल्पिक स्थान खोजेर अत्यावश्यक सेवा अघि बढाउन भनिएको छ । सिंहदरबारभित्रका कार्यालयहरू पनि वैकल्पिक व्यस्थापन गरेर काम गरिने मन्त्रालयले जनाएको छ ।
स्थानीय तह र जिल्ला प्रशासनबाट सबैभन्दा धेरै स्थानीयका सेवाहरू सञ्चालन हुने गरेका छन् । सर्वसाधारणका अत्यावश्यक कामहरू रोकिएका थिए । मन्त्रालयले क्षतिग्रस्त कार्यालयहरुको विवरण पनि संकलन गरेर पठाउन भनेको छ ।
शिक्षा मन्त्रालयले पनि स्थिति सामान्य भएकाले आइतबारदेखि नै विद्यालयहरू खोल्न निर्देशन दिइसकेको छ ।
विद्यालय स्थानीय तहमा अन्तर्गत पर्ने भएकाले सम्बन्धित पालिकाहरूले स्थिति अनुसार विद्यालयलाई जानकारी गराउने छन् ।
आन्दोलनका कारण केही दिन देश नै ठप्प भएको थियो । अपुरणीय मानवीय र भौतिक क्षति भएको छ । आन्दोलनपछि सरकार ढलेको छ । अन्तरिक सरकारको प्रधानमन्त्री नियक्त भएपछि सुशीला कार्कीले संसद विघटन गरिसकेकी छन् ।
प्रतिक्रिया 4