
News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंको तरुण माध्यमिक विद्यालयले उत्कृष्ट नतिजा र पुरस्कार प्राप्त गरी सामुदायिक विद्यालयको छवि परिवर्तन गरेको छ।
- विद्यालयले प्रविधिमैत्री कक्षा, अतिरिक्त क्रियाकलाप र अंग्रेजी माध्यमबाट पढाइ प्रवर्द्धन गरी विद्यार्थी आकर्षित गरेको छ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न व्यवस्थापन, शिक्षक र अभिभावकको मिलिजुली प्रयास आवश्यक छ।
सामुदायिक विद्यालयलाई पहिले पनि सजिलो थिएन, तर यो देश हाँक्ने धेरै मस्तिष्क तिनैले उत्तीर्ण गरेर पठाए । आधुनिक नेपालको जग सामुदायिक स्कूलमै खनिएको थियो भन्न सकिन्छ ।
तर यस बीचमा स्थिति यसरी बदलियो कि अभिभावकहरू आफ्ना बच्चालाई हत्तपत्त सरकारी विद्यालयमा पढाउन मन गर्दैनन् । यस्तो लाग्छ, सामुदायिक विद्यालयप्रति अभिभावकको विश्वास धर्मराएको छ । अझ सरकारी विद्यालयको कमजोर नतिजाप्रति प्रधानमन्त्रीले सार्वजनिक मञ्चबाट टिप्पणी गरिरहेको सुनिन्छ ।
यस वर्ष त सरकारले नै नीति तथा कार्यक्रममै सामुदायिक शिक्षा सुधार्न निजी विद्यालयसँग साझेदारी गर्ने घोषणा गर्यो । संविधान बनेको ९ वर्ष भइसक्यो तर शिक्षा ऐन नै अहिलेसम्म बनिसकेको छैन ।
यावत् प्रतिकूलताका बाबजुद देशमा केही यस्ता विद्यालय पनि छन् जसले हजारौं विद्यार्थी पढाइरहेका र उत्कृष्ट नतिजा पनि दिइरहेका छन् । यो त्यस्ता केही उदाहरणीय सरकारी विद्यालयको स्टोरी सेरिज हो, जहाँ हामी कम्तीमा सातै प्रदेशबाट केही नमूना सरकारी स्कूलको रिपोर्टिङ गर्नेछौं । – सम्पादक
सामुदायिक विद्यालय भन्नेवित्तिकै झट्ट दिमागमा आइहाल्छ– साँघुरा कक्षाकोठा, भद्रगोल व्यवस्थापन, थोरै विद्यार्थी, कमजोर नतिजा इत्यादि । यिनै कमजोरीका कारण निम्न आय भएका अभिभावक समेत सकेसम्म आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा पढाउन नपरे हुन्थ्यो जस्तो गर्छन् ।
तर, काठमाडौंमा यस्तो सामुदायिक विद्यालय पनि छ, जसले हुँदा खानेदेखि हुनेखानेसम्मैका बालबच्चाको आँखामा परेको छ । बाबुआमा आफ्ना छोराछोरी पढाउन तँछाडमछाड गर्छन् । टाढा–टाढादेखि विद्यार्थीको ओइरो नै लाग्छ ।
खराब सामुदायिक विद्यालयको भीडमा अब्बल बनेर उभिएको त्यो विद्यालय हो, काठमाडौं महानगरपालिका–१६ स्थित तरुण माध्यमिक विद्यालय ।
यो विद्यालय काठमाडौंका उत्कृष्ट सरकारी विद्यालयमध्ये यसकारण पर्छ, जो दशौं पटक राष्ट्रिय, क्षेत्रीय र प्रादेशिक रूपमा पुरस्कृत भइसकेको छ ।
तरुण मावि २०३० सालमा स्थापना भएको हो । १७ वर्षयताको अवधिमा यो विद्यालय राष्ट्रियस्तरमा चार पटक सर्वोत्कृष्ट भएर पुरस्कृत भयो । एक पटक दोस्रो र तीन पटक क्षेत्रीय स्तरमा सर्वोत्कृष्ट ठहरियो भने दुई पटक बागमती प्रदेशस्तरमा उत्कृष्ट सावित भयो ।
२०५८ सालमा तरुण मावि पहिलो पटक देशको उत्कृष्ट स्कूल बन्न सफल भएको थियो । त्यो वर्ष एसएलसी दिएका सबै विद्यार्थी उत्तीर्ण भएका थिए । राष्ट्रियस्तरमा एक नम्बरमा परेपछि अभिभावकहरू तरुण मावि खोज्दै आउन थाले । त्यसयता विद्यार्थी बढेको बढ्यै छन् ।
प्रतिबद्ध शिक्षक, चुस्त व्यवस्थापन, जीवनोपयोगी पठनपाठन र रचनात्मक वातावरणले यो सामुदायिक विद्यालयको गरिमा उँचो बनाइदिएको छ ।
तरुण माविले ‘अन्तर्राष्ट्रिय स्कूल पुरस्कार २०२३’ पनि पाएको छ । विद्यालयका प्रधानाध्यापक बाबुराम न्यौपानेका अनुसार ब्रिटिश काउन्सिलबाट उक्त पुरस्कार प्राप्त भएको हो ।
न्यौपाने भन्छन्, ‘एक वर्षभित्र विद्यालयले गरेका काम हेरेर काउन्सिलले ८ वटा अतिरिक्त क्रियाकलाप गरेको थियो । ती सबै काममा उत्कृष्ट ठहरिएपछि हाम्रो विद्यालय सम्मानित भयो ।’
काठमाडौं महानगरपालिकाले ‘एक वडा एक नमूना विद्यालय’ छनोट गर्दा तरुण मावि पर्यो । नमूना विद्यालयलाई महानगरले अतिरिक्त आर्थिक सहयोग गर्छ । विशेषगरी विद्यालयको बाहिरी सजावट, हरियाली, भित्तेलेखन जस्ता कामका लागि महानगरले सहयोग गरेको प्रधानाध्यापक न्यौपानेले बताए ।
यस विद्यालयको उचित व्यवस्थापन, उत्कृष्ट पढाइ र विद्यार्थी मैत्री वातावरणले धेरै अभिभावक तथा विद्यार्थीलाई लोभ्याउँछ । अंग्रेजी माध्यमबाट पढाइ हुने भएकोले निजी विद्यालयका विद्यार्थी पनि तरुणमै पढ्न आउने गर्छन् ।
तरुण माध्यमिक विद्यालय नेपालको सन्दर्भमा एक महत्वपूर्ण शैक्षिक संस्था हो, जसले गुणस्तरीय शिक्षा प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ । यसले विद्यार्थीलाई सैद्धान्तिक ज्ञानका साथै व्यावहारिक र सीपमूलक शिक्षामा जोड दिंदै आएको छ ।
राम्रो पढाइ, शिक्षण शुल्क नलाग्ने र खाजा पनि निःशुल्क हुने भएपछि सामुदायिक विद्यालयमा आकर्षण बढ्नु स्वाभाविक ठान्छन्, प्रधानाध्यापक न्यौपाने । उनी भन्छन्, ‘पछिल्लो समय स्कूलका कक्षाकोठा प्रविधिमैत्री बन्दैछन् । स्मार्ट बोर्ड जडान भएका छन् ।
तरुण माविमा काठमाडौं महानगरपालिकाले ‘बुक फ्रि फ्राइडे’ कार्यक्रम सञ्चालन गरेको छ । त्यसैले विद्यार्थी शुक्रबार किताब बोकेर विद्यालय जानुपर्दैन । नियमित समयमै विद्यालय जान्छन् तर अन्य अतिरिक्त क्रियाकलाप गरेर व्यावहारिक ज्ञान लिएर घर फर्कन्छन् ।
बुक फ्रि फ्राइडे कार्यक्रम अन्तर्गत विद्यार्थीहरूले एक वर्षको अवधिमा फेसन डिजाइन, कृषि, कार्पेन्ट्री, हेयर कटिङ, मोबाइल मर्मत, कुकिङ, सङ्गीत, नाटक, ड्रोन, संस्कृति, सम्पदा, पठन संस्कार, योगा, नृत्य लगायत सीप सिक्ने मौका पाउने प्राध्यापक न्यौपाने बताउँछन् ।
तरुण माविमा पूर्वप्राथमिकदेखि कक्षा १० सम्म पढाइ हुन्छ । विद्यालयमा यो वर्ष भर्ना भएका सबै गरेर दुई हजारको हाराहारीमा विद्यार्थी छन् । न्यौपानेका अनुसार विद्यार्थी संख्या अनुसार भौतिक संरचना निकै अपुग छ । अझ हरेक वर्ष विद्यार्थी संख्या बढ्दैछ ।
अभिभावकको माग अनुसार तरुण माविले अंग्रेजी माध्यममा पढाउन थाल्यो । सामुदायिक विद्यालयमा नेपाली माध्यममा मात्रै पढाइ हुन्छ भन्ने धारणा तरुण माविले तोडिदियो । अंग्रेजी माध्यममा पढाइ हुने भएपछि अभिभावकहरूले छोराछोरी निजी स्कूलबाट निकालेर ल्याउन थाले ।
२०५८ सालअघि तरुण माविमा ५०० हाराहारी विद्यार्थी थिए । त्यसयता क्रमशः बढ्दै गए । २० वर्षमा विद्यार्थी संख्या झन्डै चार गुणाले बढेको छ ।
तरुण माध्यमिक विद्यालयले सैद्धान्तिक शिक्षासँगै अतिरिक्त क्रियाकलापलाई पनि प्राथमिकता दिन्छ । यहाँ चित्रकला, सङ्गीत, सिलाइ–बुनाइ जस्ता सीपमूलक कक्षाहरू सञ्चालन हुन्छन्, जसले विद्यार्थीलाई बजारमा प्रतिस्पर्धी बनाउन मद्दत गर्छ । साथै, विद्यालयले सामाजिक सचेतना, स्वास्थ्य शिक्षा र करिअर मार्गदर्शन जस्ता कार्यक्रमहरू पनि आयोजना गर्छ ।
**** ****
सरिता ढकाल तरुण माविकी शिक्षिका हुन्, साथै अभिभावक पनि । २०७१ सालमा शिक्षक सेवा आयोगबाट मावि नेपाली विषयमा स्थायी भएर तरुण माविमा पढाउन थालिन् ।
विद्यालयको वातावरण र उत्कृष्ट व्यवस्थापनबाट प्रभावित भएर उनले आफ्ना छोराहरूलाई पनि तरुण माविमै पढाइन् । उनको जेठो छोराले २०७४ सालमा त्यहींबाट राम्रो नतिजाको साथ एसईई पास गरे, अहिले सानो छोरा कक्षा ९ मा त्यहीं पढ्छन् ।
सरिता भन्छिन्, ‘विद्यालयमा ५५ जना शिक्षकहरूको मिहिनेत, अभिभावकको जागरुकताले पटक–पटक राष्ट्रिय, क्षेत्रीय, प्रदेशगत पुरस्कार प्राप्त गरेको छ ।’
शिक्षकहरूको सामूहिक परिश्रम, कर्तव्यनिष्ठ, विषयगत दक्षता र कर्मशीलताले स्कूलको नतिजालाई उत्कृष्ट बनाउन योगदान गरेको सरिता बताउँछिन् ।
उनी भन्छिन्, ‘सामुदायिक विद्यालयका शिक्षकहरू काम नगर्ने हुन्छन् भन्ने आरोप तरुण माविमा लागू हुँदैन, सबै शिक्षक ऐक्यबद्ध भएर विद्यालयको हितमा काम गरिरहेका छौं ।’
देशकै उत्कृष्ट सामुदायिक विद्यालयमा शिक्षिकाको रूपमा काम गर्न पाएको र आफ्ना छोराहरूलाई पनि यहीं पढाएकोमा गौरव महसुस हुने सरिता बताउँछिन् ।
२०७० सालमा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष र हाल सदस्य रहेका सरोज श्रेष्ठ भन्छन्, ‘स्कूलको व्यवस्थापन, टिम वर्क र शिक्षकहरूको मिहिनेत राम्रो छ; विद्यार्थीको अनुशासन पनि राम्रो छ । यी सबै कुराको तालमेल मिलेर नै विद्यालय उत्कृष्ट बनेको छ ।’
विद्यालय व्यवस्थापन समिति, शिक्षक र प्रधानाध्यापकको मिहिनेतले नै अहिले विद्यालय यो स्थानमा आइपुगेको उनी बताउँछन् ।
‘विद्यालयले हरेक विद्यार्थीलाई प्राथमिकतामा राख्छ । उनीहरूको विशेष ख्याल गर्छ । कमजोर विद्यार्थीका लागि बिहान र बेलुका अतिरिक्त कक्षा सञ्चालन हुन्छ, अभिभावकसँग छलफल गरिन्छ । यस विद्यालयमा अनुशासनलाई अलि बढी महत्व दिइन्छ’, श्रेष्ठले भने ।
विद्यालयमा विद्यार्थीको संख्या हरेक वर्ष बढिरहेको छ तर कक्षा कोठाको भने अभाव छ । विद्यालय लगभग पाँच रोपनी क्षेत्रफलमा फैलिएको भए पनि भवन सीमित छ । त्यसैले एउटै कक्षामा ८० जना विद्यार्थी राखेर पढाउनुपर्ने बाध्यता छ । अब छिट्टै नयाँ भवन बनाउने तयारी भइरहेको श्रेष्ठले बताए ।
विद्यालयले विद्यार्थीलाई प्रतिस्पर्धात्मक भावना र बाहिरी ज्ञानको विकासमा प्रेरित गर्छ । विद्यार्थीलाई पारिवारिक वातावरण र उत्कृष्ट शिक्षा दिन सफल छ । सामुदायिक विद्यालय भएर पनि गुणस्तरीय शिक्षा र भौतिक पूर्वाधारमा सुधार गर्दै आएको उनी बताउँछन् ।
भौतिक पूर्वाधारको अभावले विद्यार्थी भर्नामा सीमितता कायम गर्नुपरेको छ । आर्थिक स्रोतको व्यवस्थापनमा अभिभावक र दाताहरूको सहयोगमा निर्भरता रहेको प्रधानाध्यापक न्यौपानेले बताए ।
उनी थप्छन्, ‘विद्यालयमा हरेक वर्ष भर्नाका लागि थेगिनसक्नु चाप हुन्छ । सीमित भौतिक सुविधाका कारण धेरै विद्यार्थी फर्काउनुपर्ने बाध्यता छ ।’
यस विद्यालयमा पढ्ने विद्यार्थीलाई आफैं सक्षम हुनको लागि अभिप्रेरित गरिन्छ । सिक्ने वातावरण पनि आफैं सिर्जना गर्न लगाइन्छ । त्यसले गर्दा पनि यो विद्यालय अन्य सरकारी विद्यालयको तुलनामा फरक छ ।
सामुदायिक विद्यालयमा राम्रो पढाइ हुँदैन, शिक्षक मिहिनेती हुँदैनन् भन्ने आम धारणाको विपरीत छ तरुण मावि । सही व्यवस्थापन र वैज्ञानिक शिक्षण विधि भएमा सामुदायिक विद्यालय नै अब्बल हुन्छन् भन्ने उदाहरण यो विद्यालयले प्रस्तुत गरेको छ ।
प्रतिक्रिया 4