
News Summary
Generated by OK AI. Editorially reviewed.- सामुदायिक विद्यालयहरूलाई अझ सुधार गर्न सरकारले निजी विद्यालयसँग साझेदारी गर्ने योजना बनाएको छ।
- भगवती मावि जस्ता विद्यालयहरूले उच्चस्तरीय शिक्षण र भौतिक संरचनाका कारण विद्यार्थी आकर्षित गरिरहेका छन्।
- विद्यालयहरूले विद्यार्थी संख्या र गुणस्तर सुधार गर्नका लागि कडा नियम, प्रवेश परीक्षा र आधुनिक शिक्षण प्रविधिको प्रयोग गरिरहेका छन्।
सामुदायिक विद्यालयलाई पहिले पनि सजिलो थिएन, तर यो देश हाँक्ने धेरै मस्तिष्क तिनैले उत्तीर्ण गरेर पठाए । आधुनिक नेपालको जग सामुदायिक स्कूलमै खनिएको थियो भन्न सकिन्छ ।
तर यस बीचमा स्थिति यसरी बदलियो कि अभिभावकहरू आफ्ना बच्चालाई हत्तपत्त सरकारी विद्यालयमा पढाउन मन गर्दैनन् । यस्तो लाग्छ, सामुदायिक विद्यालयप्रति अभिभावकको विश्वास धर्मराएको छ । अझ सरकारी विद्यालयको कमजोर नतिजाप्रति प्रधानमन्त्रीले सार्वजनिक मञ्चबाट टिप्पणी गरिरहेको सुनिन्छ ।
यस वर्ष त सरकारले नै नीति तथा कार्यक्रममै सामुदायिक शिक्षा सुधार्न निजी विद्यालयसँग साझेदारी गर्ने घोषणा गर्यो । संविधान बनेको ९ वर्ष भइसक्यो तर शिक्षा ऐन नै अहिलेसम्म बनिसकेको छैन ।
यावत् प्रतिकूलताका बाबजुद देशमा केही यस्ता विद्यालय पनि छन् जसले हजारौं विद्यार्थी पढाइरहेका र उत्कृष्ट नतिजा पनि दिइरहेका छन् । यो त्यस्ता केही उदाहरणीय सरकारी विद्यालयको स्टोरी सेरिज हो, जहाँ हामी कम्तीमा सातै प्रदेशबाट केही नमूना सरकारी स्कूलको रिपोर्टिङ गर्नेछौं । – सम्पादक
काठमाडौं । कक्षा ८ मा अध्ययनरत अनुषा घिमिरे काभ्रेपलाञ्चोकको मण्डनदेउपुरबाट दैनिक ९ किलोमिटर यात्रा तय गर्दै काठमाडौंको साँखुस्थित भगवती मावि धाउँछिन् ।
मण्डनदेउपुर नगरपालिका–१ घर भएकी अनुषाले आफ्नो गाउँमा स्कूल नभएर यो दुःख बेसाएकी भने होइनन् । भगवती माविको अब्बल पठनपाठनले उनलाई यति टाढासम्म खिचेको हो ।
अनुषा भन्छिन्, ‘घरबाट कात्तिकेसम्म बुबाले बाइकमा ल्याइदिनुहुन्छ । कात्तिकेबाट स्कूल बसमा आउने/जाने गरेकी छु ।’ गाउँमा स्कूल भए पनि भगवती माविको पढाइ राम्रो भएकोले आफू लगायत अन्य विद्यार्थी साँखु आउने गरेको उनले बताइन् ।
‘गाउँमा स्कूल त छ, तर यहाँको पढाइ राम्रो हुने भएकाले आएका हौं’ उनले भनिन्, ‘भगवती माविमा अंग्रेजी र नेपाली दुवैमा पढ्न पाइन्छ । यो शंखरापुर नगरपालिकाकै टप स्कूल हो ।’
अनुषासँगै मण्डनदेउपुरबाट १० जना विद्यार्थी भगवती माविमा पढ्न आउँछन् । कक्षा २, ३, ६, ७, ९ कक्षाका विद्यार्थी आउने उनले बताइन् ।
विद्यालयका प्रधानाध्यापक अनुप श्रेष्ठका अनुसार विद्यालयको पठनपाठनले टाढा–टाढाका विद्यार्थीलाई समेत आकर्षित गरेको छ । उनी भन्छन्, ‘साँखुबाट कात्तिके करिब ९ किलोमिटरको दूरीमा पर्छ । विद्यालयमा एउटा स्कूल बस छ । बसमा मण्डनदेउपुरदेखिका विद्यार्थी हाम्रो विद्यालयमा पढ्न आउँछन् ।’
गत आइतबार भगवती मावि पुग्दा प्रधानाध्यापक श्रेष्ठलाई विद्यार्थी भर्नाका लागि तारन्तार फोन आइरहेको थियो । नेतादेखि जनप्रतिनिधिसम्मको फोन उठाउन उनलाई भ्याई–नभ्याई थियो । थलीदेखिका अभिभावकले समेत उनलाई फोन गरेर विद्यार्थी भर्नाबारे सोधखोज गरिरहेका थिए ।
‘थलीमा स्कूल बस आउँछ कि आउँदैन भनेर सोध्नुहुन्छ । स्कूलको एउटा मात्र बस छ । कात्तिकेसम्म लैजाने गरेका छौं’ उनले भने, ‘भर्नाको समयमा धेरैतिरबाट फोन आउँछ । तर सिट हुँदैन ।’ शंखरापुर नगरपालिकाको साँखु बजारमा रहेको यो सामुदायिक विद्यालयमा आफ्ना छोराछोरी भर्ना गर्न अभिभावक पनि उत्साहित देखिन्छन् ।
कान्छीमाया तामाङ आइतबार नै छोरीको भर्ना गर्न विद्यालयमा आएकी थिइन् । छोरी पढाउनकै लागि उनी ललितपुरको भैंसेपाटीबाट साँखुमा डेरा सरेकी रहिछिन् । ‘छोरीलाई ७ कक्षामा भर्ना गरें । यो स्कूलको पढाइ राम्रो हुन्छ भन्ने सुनेकी थिएँ । सरकारीमा पनि बोर्डिङको भन्दा राम्रो पढाइ हुने भएपछि छोरीलाई भर्ना गरेकी हुँ’, उनले सुनाइन् ।
विद्यार्थी र अभिभावकको यतिविघ्न आकर्षण बढ्नुको कारण स्तरीय शिक्षा नै भएको दाबी गर्छन्, प्रधानाध्यापक श्रेष्ठ । ‘हाम्रो विद्यालयमा नियम कडा छ । विद्यार्थी अनुशासित हुनुपर्छ । निजीको भन्दा राम्रो शिक्षा दिएका छौं । त्यसैले धेरैकोे रोजाइमा परेको हो’, श्रेष्ठले भने ।
भर्ना हुन प्रवेश परीक्षा, निजीका विद्यार्थी भगवतीतिर
भगवती माविले प्रवेश परीक्षा लिएर मात्र नयाँ विद्यार्थी भर्ना गर्ने गरेको छ । निजी नै छोडेर विद्यार्थीहरू आउन थालेपछि विद्यालयले प्रवेश परीक्षा लिन थालेको हो ।
‘निजीका धेरै विद्यार्थी आउनुहुन्छ । सीधै भर्ना गर्यो, पछि नतिजा राम्रो नआउने भयो । त्यसैले भर्ना अगाडि प्रवेश परीक्षा लिन थालेका हौं’ प्रधानाध्यापक श्रेष्ठले भने, ‘प्रवेश परीक्षामै निजीबाट आएका विद्यार्थी अनुत्तीर्ण हुन्छन् । गणित र विज्ञान मात्र होइन, अंग्रेजी विषयमै अनुत्तीर्ण हुन्छन् ।’
प्रवेश परीक्षामा अनुत्तीर्ण विद्यार्थीलाई भर्ना गर्ने वा नगर्ने समस्या हुन्छ । ‘हाम्रो सामुदायिक विद्यालय हो, कमजोर भयो भनेर भर्ना लिंदैनौं भन्न मिल्दैन । सिट क्षमता भएसम्म भर्ना लिने गरेका छौं’ उनले भने, ‘पछि अभिभावकले गुनासो गर्न आएपछि शुरूमा निजीबाट आउँदा कस्तो थियो भनेर देखाउने गरेका छौं ।’
विद्यालयमा कक्षा ५ सम्म एउटा कक्षामा ३२ सिट र ६ देखि १२ सम्म ४० जनाको सिट छ । ‘एउटा बेञ्चमा दुई जनाभन्दा बढी राख्ने गरेका छैनौं’, श्रेष्ठले भने ।
कक्षा घटाएर भए पनि विद्यार्थी भर्ना गर्न अभिभावकले अनुरोध गर्ने गरेका छन् । ‘बच्चा प्रवेश परीक्षामा अनुत्तीर्ण भएपछि अभिभावकले कक्षा घटाएर भए पनि भर्ना गर्न भन्नुहुन्छ’, प्रधानाध्यापक श्रेष्ठले भने ।
पालिकाकै पहिलो
भगवती माविले पालिकास्तरीय परीक्षामा समेत प्रथम नतिजा ल्याउने गरेको छ । ‘एसईईको नतिजामा पनि पालिकाभित्र पहिलो नै भएका छौं’ प्रधानाध्यापक श्रेष्ठले भने, ‘पालिकास्तरीय परीक्षामा दोस्रो भएका छैनौं ।’ यो विद्यालयका विद्यार्थीले एसईईमा ३.९ जीपीएसम्म ल्याएका छन् ।
विद्यार्थी भर्नाको समयमा प्रवेश शुल्क विद्यालयले लिने गरेको छ । ‘कक्षा १ देखि ६ सम्म २०० र ७ देखि १० सम्म जति कक्षा हो त्यति नै सय शुल्क लिने गरेका छौं’ प्रधानाध्यापक श्रेष्ठले भने, ‘कक्षा ७ देखि १० सम्म भने मासिक शुल्क पनि लिने गरेका छौं । शुल्क १५० देखि ३०० सम्म लिने गरेका छौं ।’
विद्यालयमा १२ कक्षासम्म ७३३ जना विद्यार्थी अध्ययनरत छन् । यी विद्यार्थीलाई पढाउन १९ जना शिक्षक छन् । ‘शिक्षकको संख्या कम छ । पर्याप्त शिक्षक हुने हो भने अझै गुणस्तर बढाउन सकिन्छ’, श्रेष्ठले भने । विद्यालयमा नर्सको समेत व्यवस्था गरिएको छ । कक्षा ११ र १२ को पढाइ भने बिहानी सत्रमा हुन्छ ।
प्रविधिमैत्री कक्षा, अब्बल शिक्षण सिकाइ
कक्षा ५ भन्दा माथिको कक्षामा स्मार्ट बोर्डको व्यवस्था गरिएको छ । ‘ल्याब लाइब्रेरी राखेका छौं । फिजिक्स, केमेस्ट्री र बायोलोजीको छुट्टाछुट्टै ल्याब छ’ प्रधानाध्यापक श्रेष्ठले भने, ‘अहिलेको परिवेश अनुसारको शिक्षण सिकाइलाई अवलम्बन गरेका छौं ।’
विद्यार्थीको शिक्षण सिकाइसँगै भौतिक संरचनामा पनि भगवती मावि अगाडि छ । १० रोपनी जग्गामा फैलिएको यो विद्यालय सुविधासम्पन्न छ । ‘आगलागी वा भूकम्प जस्ता विपत्ति आउँदा जोगिनका लागि आपतकालीन द्वार पनि बनाएका छौं’ प्रधानाध्यापक श्रेष्ठले भने ।
विद्यालयको शैक्षिक गुणस्तर राम्रो हुनुमा सबैको भूमिका उत्तिकै ठान्छन् व्यवस्थापन समितिका अध्यक्ष ओमबहादुर कार्की ।
‘सामुदायिक विद्यालय बनाउने जिम्मेवारी सबैको हो । व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी र अभिभावकको उत्तिकै भूमिका हुन्छ’ अध्यक्ष कार्कीले भने, ‘शिक्षकले पढाउने, विद्यार्थीले पढ्ने, अभिभावकले विद्यार्थीले पढेको छ/छैन हेर्ने र व्यवस्थापन समितिले सबै व्यवस्थापन गर्ने हो ।’
सबैको मिहिनेतले विद्यालयको शैक्षिक गुणस्तर राम्रो भएको निष्कर्ष उनको छ । ‘सामान्य वर्गका छोराछोरी पढ्ने स्कूल बोर्डिङको भन्दा राम्रो बनाउने संकल्प लिएका छौं’ अध्यक्ष कार्कीले भने ।
पाटीमा जन्मिएको स्कूल

पञ्चायत कालको कुरा हो । त्यतिबेला साँखु क्षेत्रमै घर भएका राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता जोगमेहर श्रेष्ठ शक्तिमा थिए । उनको पहलमा साँखुमा एउटा विद्यालय स्थापना भयो ।
जोगमेहरले आफू शक्तिमा भएका बेला स्कूल स्थापना गरेको उनका विपक्षीलाई चित्त बुझेन । त्यसैले उनीहरूले अर्को विद्यालय खोल्ने निर्णय गरे । भगवती मावि त्यही विद्यालय हो, जुन जोगमेहरका विरोधीहरूले स्थापना गरेका थिए ।
‘२०३९ सालमा यो विद्यालय एउटा पाटीबाट शुरू गरिएको हो । त्यतिबेला जोगमेहरका विपक्षीहरूले खोलेका रहेछन्’, प्रधानाध्यापक श्रेष्ठले विद्यालय स्थापनाको कथा सुनाए ।
२०४५ सालको भूकम्पपछि भगवती मावि पाटीबाट टहरामा आयो । अहिले विद्यालयको दरबार जस्तो भवन बनेको छ । ‘२०७२ सालको भूकम्पपछि यूएसआईडीले नयाँ भवन बनाइदियो’ प्रधानाध्यापक श्रेष्ठले भने, ‘भौतिक संरचनासँगै कक्षा पनि बढाउँदै लगिएको हो ।’
टहरामा चलिरहेको विद्यालयमा अहिले डेस्क, बेञ्च, विज्ञान प्रयोगशाला, कम्प्युटर कोठा, पुस्तकालय, सभा हल, व्यवस्थित शौचालय, अडियो–भिडियो र संगीत कोठा छन् । त्यसका साथै प्राथमिक र माध्यमिक तहका लागि बेग्लाबेग्लै भवन छन् ।
२०५२ सालमा निमावि, २०५६ मा मावि र २०६४ मा कक्षा १२ सम्म पढाउने स्वीकृति विद्यालयले पाएको प्रधानाध्यापक श्रेष्ठ बताउँछन् ।
त्यो संक्रमणकाल
२०६४ देखि २०७० सालसम्मको समयमा विद्यालयमा न्यून विद्यार्थी भए । विद्यार्थी र अभिभावकको आकर्षण घट्यो । प्रधानाध्यापक अनुप श्रेष्ठका अनुसार २०७१ सालमा विद्यार्थीको संख्या ३०० मात्र थियो ।
‘केही समय विद्यालयमा संक्रमणकाल लाग्यो । विद्यार्थीको संख्या घट्यो’, प्रधानाध्यापक श्रेष्ठले भने । त्यसपछि विद्यार्थीको संख्या बढाउन शैक्षिक गुणस्तरमा विद्यालयले जोड दियो ।
‘नगरपालिका, व्यवस्थापन समिति, विद्यालय परिवार, अभिभावक र विद्यार्थीको सामूहिक प्रयासमा विद्यालयलाई स्तरीय बनाउन सफल भएका हौं । ३०० मा झरेको विद्यार्थी संख्या दोब्बर बढाएर अहिले ७०० पुर्याएका छौं’, प्रधानाध्यापक श्रेष्ठले भने ।
प्रतिक्रिया 4