+
+
Shares

मणि हराएको एनआरएनए

देशभित्र हरेक क्षेत्रमा राजनीति भयो, देश कहिल्यै उँभो नलाग्ने भो भनेर जनता दिक्क भइरहेको बेला एनआरएनएभित्रै चलेको यो फोहोरी राजनीतिबाट के अपेक्षा गर्ने ?

विदुरचन्द्र लामिछाने विदुरचन्द्र लामिछाने
२०८२ जेठ ८ गते ९:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालमा गैरआवासीय नेपाली अभियान २००३ मा पहिलो विश्व सम्मेलनपछि स्थापित भयो।
  • संघले विभिन्न परियोजना र संगठनात्मक उपलब्धि हासिल गरेको छ।
  • वर्तमान नेतृत्व विवाद र अन्तरसंघीय राजनीतिले अभियानको साखमा असर पुर्‍याइरहेको छ।

विश्वभर छरिएर रहेका नेपालीलाई गोलबद्ध गर्न नेपालमा पनि गैरआवासीय नेपाली अभियान शुरू भयो। गैरआवासीय नेपालीहरूले आर्जन गरेको ज्ञान, सीप, पूँजी मुलुकको समृद्धिमा आकर्षित गर्नुपर्छ भन्ने मुख्य मनसायले गैरआवासीय नेपालीलाई एकताबद्ध गर्ने अभियानमा यसका नेतृत्वहरू लागे।

खासगरी यसरी छरिएर रहेका नेपालीलाई गोलबद्ध गर्ने काममा दोस्रो पुस्ताका नेपालीहरू जुटे। उनीहरूले अध्ययन र अन्य सिलसिलामा विदेश पुगेर विभिन्न पेशा–व्यवसायमा लागेर आफ्ना क्षेत्रमा स्थापित भएपछि मातृ भूमिका लागि केही गर्नुपर्छ भन्ने पवित्र अभिप्रायले यो अभियानमा अग्रसरता लिएका थिए।

नेपालमा गैरआवासीय नेपालीहरूको संगठनात्मक अभियान बारे छलफल गर्नुअघि नेपालीको बाहिर जाने क्रम कसरी शुरू भयो भन्ने इतिहास खोतलौं।

पहिलो विश्वयुद्धमा नेपालले ब्रिटेनलाई १ लाख युवा पठाएसँगै ठूलो संख्यामा आप्रवासन शुरू भयो। यद्यपि यसअघि नै नेपालबाट जनशक्ति बाहिर जान थालेको इतिहास छ। औपचारिक रूपमा चन्द्रशमशेरले बेलायती सरकारलाई युद्धमा लड्न सहयोगका लागि उक्त संख्यामा नेपालीहरू पठाएको पाइन्छ।

दोस्रो विश्वयुद्धसम्म यो जारी रह्यो र यो संख्या पछि विस्तारै बढ्दै गयो। यसरी फौजीको रूपमा लाहुर जाने क्रमसँगै बेलायतसँग सम्बन्धित वर्तमान र भूतपूर्व सैनिक अहिले २० जति देशमा फैलिएको गैरआवासीय नेपालीहरूबाटै बुझिएको छ।

सन् १९९० पश्चात् मात्र नेपालबाट बाह्य देशमा अध्ययन, रोजगारीका लागि जाने क्रम ह्वात्तै बढ्यो। अहिले करिब ५० लाखभन्दा बढी नेपाली संसारका विभिन्न देशमा छरिएर रहेको विभिन्न तथ्यांकले देखाउँछन्। पछिल्लो पटक अष्ट्रेलिया, अमेरिका, क्यानाडा लगायत सम्पन्न देशमा विद्यार्थी अध्ययन र कामका लागि आकर्षित भइरहेका छन् भने छिमेकी भारत सहित खाडी मुलुकहरूमा श्रमका लागि जाने आकर्षण बढेको छ। विदेश जाने जनशक्तिले पठाएको विप्रेषणले नै अहिले नेपालको अर्थतन्त्रलाई टेको दिइरहेको छ।

रसिया, बेलायत, जर्मन लगायत युरोपका विभिन्न देशहरू, अमेरिका, जापान, अष्ट्रेलिया, खाडी राष्ट्रहरूमा विभिन्न पेशा–व्यवसाय गरी प्रतिष्ठा कमाएका गैरआवासीय नेपालीहरू उपेन्द्र महतो, सूर्य सुवेदी, जीवा लामिछाने, भवन भट्ट, भीम उदास, देवमान हिराचन, रामप्रताप थापा, शेष घले, कुमार पन्त जस्ता प्रतिष्ठित गैरआवासीय नेपाली नेतृत्वहरूको पहलमा यो अभियानलाई साकार पारियो।

२०६० साल आसपास नेपालमा माओवादी द्वन्द्व चरम उत्कर्षमा थियो। उद्योग व्यवसाय द्वन्द्वको चपेटामा थिए। आम मानिसहरूमा पनि द्वन्द्वको त्रास थियो। नेपाली निजी क्षेत्र हिंसा अन्त्यका लागि विभिन्न प्रयास गर्दै थियो। नेपाल उद्योग वाणिज्य महासंघको तत्कालीन नेतृत्वले यसका लागि भगीरथ प्रयास गर्‍यो।

सन् २००० ताका हाम्रै छिमेकी देशहरू भारत, बंगलादेश, श्रीलंका लगायतले विभिन्न देशहरूमा अध्ययन, पेशा–व्यवसाय गरी बसेका आफ्ना नागरिकलाई स्वदेशमा आकर्षित गरी उनीहरूको ज्ञान, सीप, पूँजी स्रोत भित्र्याउन पहल थालिसकेका थिए। यस कार्यलाई ती देशहरूले उच्च महत्व दिन थालेका थिए। अरू मुलुक पनि विदेश बस्ने आफ्ना नागरिकलाई विभिन्न सुविधा सहितका प्याकेज घोषणा गरी आकर्षित गरिरहेका थिए।

आफ्नै कार्यकालमा बडो दुःखले खडा गरेको संस्था आज यसरी चकनाचूर हुँदा यसका वर्तमान तथा पूर्व नेतृत्वको मन दुख्नुपर्ने हो। अखिर संस्था नै नरहे कसरी यो अभियानले साकार रूप पाउला र संघले हालसम्म हासिल गरेका उपलब्धि संस्थागत होलान् ?

यसरी छिमेकका नागरिक धमाधम संगठित हुन थालेपछि त्यसको प्रभाव विदेशमा बस्ने नेपालीहरूमा पनि नपर्ने कुरै भएन। कतिपय देशले आफ्ना गैरआवासीय नागरिकहरूको सम्मेलन नै गर्न थालिसकेका थिए। यही पृष्ठभूमिमा गैरआवासीय नेपाली अभियानका नेतृत्वहरूले पनि संसारमा छरिएर रहेका नेपालीहरूलाई संगठित गर्न अभियानका लागि विश्व सम्मेलन गर्ने निर्णय गरे।

सम्मेलन आयोजनाका विषयमा डा. उपेन्द्र महतो लगायतका शीर्ष गैरआवासीय नेतृत्वले निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको तत्कालीन नेतृत्वसँग कुरा राखी त्यसलाई मूर्तरूप दिन प्रयास गरे। सम्मेलनको उद्देश्य, यसले राष्ट्रका लागि हुने दीर्घकालीन फाइदाका विषयमा गैरआवासीय नेपाली नेतृत्व नेपालको निजी क्षेत्रको प्रतिनिधि संस्थाको नेतृत्वलाई बुझाउन सफल भयो र एनआरएनको प्रस्तावलाई नेपाल उद्योग वाणिज्य महासंघले पनि साथ दिने प्रतिबद्धता जनायो।

महासंघको नेतृत्व र गैरआवासीय नेपाली नेतृत्वले नेपाल सरकारलाई पनि यस सम्बन्धमा मनाउने प्रयास गरी प्रस्ताव पेश भयो र सरकार पनि यो अभियानमा साथ दिन तयार भयो। र सन् २००३ मा नेपालमा पहिलो गैरआवासीय नेपाली विश्व सम्मेलन भव्यतापूर्वक आयोजना गरियो।

सन् २००३ को अक्टोबर ११ देखि १४ सम्म २५० गैरआवासीय नेपाली र ३०० जति आवासीय नेपालीको सहभागितामा ‘नेपालीका लागि नेपाली’ नारा सहित पहिलो सम्मेलन भव्यतापूर्वक सम्पन्न भयो। सम्मेलन आयोजनाको लागि मुख्य सचिवालयको भूमिकामा नेपाल उद्योग वाणिज्य महासंघले अग्रभागमा रहेर सहयोग गर्‍यो।

सम्मेलनकै कारण मुलुकभित्र माओवादी द्वन्द्व हुँदा पनि विदेशमा बसेका नेपालीले एकता प्रदर्शन गर्ने मौका प्राप्त गरे। कठिन परिस्थितिमा पनि राजनीतिक दलहरूले अभियानलाई समर्थन गरे। गैरआवासीय नेपालीमध्ये को नेपाली पासपोर्टधारी, को विदेशी नागरिक, को व्यवसायी, को कामदार, को विशेषज्ञ सबैले सबैलाई चिन्ने–जान्ने मौका पाए। एकअर्काका भावना साटासाट भयो।

सबै आपसी सम्बन्ध सुधारका लागि एक हुन लालायित थिए। मातृभूमि आउन–जान, बस्न, व्यवसाय गर्न परेका समस्याहरू सम्मेलनका दौरानमा राम्रोसँग राख्ने अवसर मिल्यो। देशको राजधानी काठमाडौं पहिलो सम्मेलनका बखत गैरआवासीय नेपालीमय भयो। पहिलो विश्व सम्मेलनको ऐतिहासिक उपलब्धिको रूपमा गैरआवासीय नेपाली संघ स्थापना गरी अभियान बढाउने निर्णय समेत गर्‍यो।

पहिलो सम्मेलनको आयोजनासँगै गैरआवासीय नेपालीहरूसँग यहाँ बस्ने नेपालीको भावनात्मक सम्बन्ध जोडिन थाल्यो। नेपालको समृद्धिमा गैरआवासीय नेपालीले आर्जन गरेको सीप, पूँजी, अनुभवको महत्वलाई सरकार, निजी क्षेत्र दुवैले मनन् गरी त्यसलाई आत्मसात् गरे। आम नेपालीहरूमा गैरआवासीय नेपालीलाई हेर्ने दृष्टिकोणमा आमूल परिवर्तन आउन थाल्यो।

पहिला एक हिसाबले भन्दा विदेश गएर बसेका मानिसलाई लाहुरे भनिन्थ्यो र सोही रूपमा हेरिथ्यो भने पहिलो विश्व सम्मेलनले त्यो हेराइमै व्यापक परिवर्तन ल्याइदियो। नेपालीहरू बाह्य देशमा गएर पढेर आफ्ना क्षेत्रमा जमेर बसेका रहेछन् र नाम, ख्याति, पूँजी, सीप, आर्जन, अनुभव आर्जन सहित सम्मानजनक जीवन बिताएका रहेछन् भन्ने आम बुझाइ हुन थाल्यो।

हामी महासंघकै कर्मचारीलाई पनि पहिलो पटक विश्व सम्मेलनमा प्रत्यक्ष सहभागी भएर कार्यक्रम आयोजनामा एक हिस्सा हुन पाउँदा गर्वको महसुस हुन्थ्यो। एनआरएन नेतृत्वहरूसँग कुरा गर्न, हात मिलाउन पाउँदा पनि कति खुशी लाग्थ्यो। उहाँहरूको धारणा, अनुभव, विचार सुन्दा आफूलाई पनि गर्वको महसुस हुन्थ्यो। एक हिसाबले उहाँहरूप्रति जनताको क्रेज झल्किन्थ्यो। समग्रमा भन्दा उहाँहरूले एक किसिमको गर्विलो ओज हासिल गर्नुभएको थियो।

त्यसपछि सरकारले पनि गैरआवासीय नेपालीलाई मातृभूमिको विकासमा उनीहरूको सहभागिता बढाउन नीतिगत तथा कानूनी रूपमा गर्नुपर्ने सहयोगका लागि पहल थाल्यो। पहिलो सम्मेलनबाटै गैरआवासीय नेपाली संघको स्थापना भयो। त्यसको सचिवालय प्रारम्भमा तीन चार वर्ष महासंघ सचिवालयमै रह्यो।

महासंघले हरेक दुई वर्षमा आयोजना हुने विश्व सम्मेलनको आयोजनामा महत्वपूर्ण रूपमा सहयोग गर्‍यो। महासंघको नेतृत्वदेखि सिंगो टिम नै खटिएर सम्मेलन आयोजनामा सहयोग गर्‍यो। तत्पश्चात् संघले आफ्नै सचिवालय बनाई महासंघबाट आफ्नै भवनमा सर्‍यो।

संघले कानूनी मान्यता गरे पश्चात् विस्तारै विश्वभर नै संघको विश्व सञ्जाल विस्तार भयो। अहिले एक सयभन्दा बढी देशहरूमा एनआरएन अभियानले संगठनात्मक उपलब्धि हासिल गरिसकेको छ। हरेक २/२ वर्षमा विश्व सम्मेलन मार्फत यसको नेतृत्व चयन हुने विधानत: व्यवस्था भयो।

सोही अनुसारले यसको नेतृत्व छनौट भई यो अभियान विश्वव्यापी हुँदै गयो। संघले आयोजना गर्ने ज्ञान सम्मेलनले त उनीहरूले विभिन्न क्षेत्रमा हासिल गरेको ज्ञान, अनुभव नेपालमा आदानप्रदान गरी त्यसलाई उपयोग गर्न निकै नै लाभान्वित समेत भयो।

अभियानले साकार रूप पाए पश्चात् संघका तर्फबाट नेपालमा शिक्षा, स्वास्थ्य, ऊर्जा, परोपकारी कार्यमा थुप्रै परियोजना शुरू भयो। जस्तो वान एनसीसी वान च्यारिटी प्रोग्राम, एनआरएनए ग्रर्लस् रेष्टरुम, स्मार्ट रेष्टरुम प्रोजेक्ट, एनआरएनए फोरेन इम्प्लोयमेन्ट रिलिफ प्रोजेक्ट, मानवीय योगदान, आउट साइड नेपाल, एआरएन नेपाल डेभलपमेन्ट फण्ड, एडुकेशनल एण्ड स्किल डेभलपमेन्ट प्रोग्राम, एनआरएन अर्थ रेस्पोन्सिव प्रोग्राम, एनआरएनए इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेड, मोबाइल ब्लड बस परियोजना लगायत थुप्रै परियोजना थालनी गरेको छ।

यो संस्था खडा गर्न प्रारम्भदेखि नै लाग्नुभएका, मिहिनेत, पसिना बगाउनुभएका यसका पूर्व अध्यक्षहरूले आफ्ना सबै भिन्न मतलाई थाती राखेर संस्थाको साख जोगाउने कार्यमा कदापि नचुक्नुहोला। कथंकदाचित संस्था बचाउन सकेनौं भने यहाँहरूले कमाउनुभएको ख्याति, ज्ञान, सीप, अनुभव र यहाँहरूले हासिल गर्नुभएको त्यो ओजको कुनै अर्थ रहने छैन

नेपालको संविधानमा पनि गैरआवासीय नेपालीहरूले आर्थिक, सामाजिक, सांस्कृतिक अधिकार उपभोग गर्न पाउने सुनिश्चितता गरियो। सरकारको नीति तथा कार्यक्रममै गैरआवासीय नेपालीको पहिचानलाई सम्मान गर्ने विषय निरन्तर आए। वार्षिक बजेटमा पनि गैरआवासीय नेपालीलाई विभिन्न खालका सहुलियत प्याकेजहरू आउन थाले।

गैरआवासीय नेपालीलाई व्यवस्थित गर्न नेपाल सरकारले गैरआवासीय नेपाली ऐन २०६४ जारी गरी परराष्ट्र मन्त्रालयमा एनआरएन डेस्क मार्फत सहयोग गरिन थालियो। सरकार निजी क्षेत्र दुवैले एनआरएनलाई उच्च प्राथमिकता दिएर नेपालको विकास अभियानमा एक बलियो साझेदारका रूपमा एकसाथ लैजाने नीति अंगीकार गरे। हरेक सरकारले एनआरएनलाई मुख्य प्राथमिकता दिएकै पाइन्छ।

सरकारले गैरआवासीय नेपालीको नागरिकताको इस्यूलाई सम्बोधन गरेको छ। उनीहरूको लगानी आकर्षणका लागि भएका कानूनी बाधाहरूको संशोधन तथा लगानी आकर्षणका लागि थप सुविधा दिने लगायतमा सहयोग गर्‍यो। यद्यपि नागरिकताका विषयमा अहिले पनि एनआरएनका कतिपय मुद्दाहरू टुंगो लाग्न सकेको छैन र सरकारले यसको संशोधनको आश्वासन समेत दिलाएको छ।

अहिलेसम्म गैरआवासीय नेपाली संघको नेतृत्वमा डा. उपेन्द्र महतो, देवमान हिराचन, जीवा लामिछाने, शेष घले, भवन भट्ट, कुमार पन्तले सफल नेतृत्व गरी सक्नुभएको छ। अहिले डा. बद्री केसी नेतृत्वमा हुनुहुन्छ। तर पछिल्लो केही समययता यो संस्थाभित्र चरम बेमेल रहेको सतहमै देखिन्छ। नेतृत्व चयन सर्वस्वीकार्य हुनसकेको पाइँदैन। यसमा अनेक ढंगले खेल्ने प्रयास भएको देखियो।

अहिले पनि विवाद यथावत् छ। यस बीचमा ग्रुप–ग्रुपका कार्यक्रम भए। एकता महाधिवेशन पनि भयो। उक्त महाधिवेशनबाट नेतृत्व चयन गरिएको कुरा पनि बाहिर आयो। एकता महाधिवेशनले पनि सबैलाई समेट्न नसक्दा संस्थापन पक्षले मान्यता नदिएको कुरा पनि आयो। यस बीचमा यो संस्थाभित्र यति धेरै राजनीति भयो कि संस्थाले देश–विदेशमा कमाएको ख्यातिमै धक्का लाग्नेसम्मका घटना भए।

हरेक क्षेत्र चरम राजनीतिको सिकार भएको बेला नेपाल बाहिर रहेका अन्तर्राष्ट्रिय परिवेश बुझेका, विदेशी विश्वविद्यालयमा अध्ययन गरेका, ज्ञान, सीप भएका गैरआवासीय नेपालीलाई आम नेपालीले विशिष्ट रूपमा लिएका थिए र अहिले पनि छन्।

यत्रो अभियानको नेतृत्व गर्नुभएका नेतृत्वहरूबाट त्यही अनुसार गहनतम जिम्मेवारी पूरा भएको होला भन्ने अनुमान पनि गरेका छन्। हरेक नेतृत्वलाई मुख्य लाइनबाट दायाँ–बायाँ लाग्न नदिने र संस्थाको गरिमा बरकरार राख्ने गरी काम गर्न दबाब दिने काममा तल्लो तहदेखि नै गैरआवासीय नेपालीले रखवाली गर्नुपर्छ।

तर यतिखेर गैरआवासीय नेपाली संघ कता–कता हराएको हो कि, यो संस्थामा पनि देशभित्रकै फोहोरी राजनीति भित्रिएको हो कि भन्ने आशंका पैदा हुन थालेको छ। संघको निर्वाचन नै विवादित हुने, मुद्दा–मामिलामा जाने, तीन तीन जनासम्म अध्यक्ष हुने, समूह पिच्छै चुनाव कार्यक्रम हुने एकखालको गाईजात्रा देखिन थाले।

यस्ता गतिविधि देख्दा जो साँच्चिकै गैरआवासीय नेपाली अभियानलाई माया गर्थे तिनलाई खल्लो लागेको छ। अहिले समूह पिच्छे कार्यक्रम, राजनीतिक दल पिच्छेका नेताहरू गएर आ–आफ्ना डम्फु बजाई सुझाव दिएको देख्दा पीडा बोध हुन्छ।

एक समय सिंगो सरकारलाई सुझाव दिने, कार्यकारी र राष्ट्रप्रमुखले कुरा सुन्ने संस्था अहिले यति खस्कन पुग्यो कि दलै पिच्छेका नेताहरू उनीहरूलाई शिक्षा दिने अवस्थामा पुगे, सुझाव दिन नेतैपिच्छे होडबाजी चल्न थाल्यो।

कुनै समय यसको नेतृत्वसँग हात मिलाउँदा, कुरा गर्दा गर्व महसुस हुने वेला पनि थियो तर आज को अध्यक्ष छ को छैन भन्ने दिनमा यो संस्था पुग्यो। गैरआवासीय नेपाली संघ पनि छ र भन्ने जस्तो अवस्था भइसक्यो। अहिले मणि हराएको नाग जस्तो भएको छ यो संस्था। कुनै पनि संस्था खडा गर्न निकै ठूलो मिहिनेत लाग्छ, वर्षौं लाग्न सक्छ तर संस्था ओरालो यात्रामा जान लाग्यो भने त्यो ढल्न निमेषभर पनि लाग्दैन।

ठूलो मिहिनेतका साथ खडा गरेको यो संस्थाको साख जोगाउने काममा यसको वर्तमान र पूर्व नेतृत्वको भूमिका अहं हुन्छ। आफ्नै कार्यकालमा बडो दुःखले खडा गरेको संस्था आज यसरी चकनाचूर हुँदा यसका वर्तमान तथा पूर्व नेतृत्वको मन दुख्नुपर्ने हो। अखिर संस्था नै नरहे कसरी यो अभियानले साकार रूप पाउला र संघले हालसम्म हासिल गरेका उपलब्धि संस्थागत होलान् ? सरकारले अहिले पनि सम्बोधन गर्न थाती राखेका एजेन्डाहरू कसरी सम्बोधन होलान् ?

देशभित्र हरेक क्षेत्रमा राजनीति भयो, देश कहिल्यै उँभो नलाग्ने भो भनेर जनता दिक्क भइरहेका छन्। यस्तोमा बाहिरी संसार देखेका गैरआवासीय नेपाली अभियानका नेताहरूले यहाँका नेतृत्वलाई शिक्षा देलान्, देशको परिवर्तनमा उनीहरूको विज्ञता उपयोग होला भनेर आम नेपालीले अपेक्षा गरिरहेकै अवस्थामा उनीहरूभित्रै चलेको यो फोहोरी राजनीतिबाट के अपेक्षा गर्ने ?

विशेषगरी यो संस्था खडा गर्न प्रारम्भदेखि नै लाग्नुभएका, मिहिनेत, पसिना बगाउनुभएका यसका पूर्व अध्यक्षहरूले आफ्ना सबै भिन्न मतलाई थाती राखेर संस्थाको साख जोगाउने कार्यमा कदापि नचुक्नुहोला। कथंकदाचित संस्था बचाउन सकेनौं भने यहाँहरूले कमाउनुभएको ख्याति, ज्ञान, सीप, अनुभव र यहाँहरूले हासिल गर्नुभएको त्यो ओजको कुनै अर्थ रहने छैन। समयमै मनन् गरौं। एनआरएनएलाई पहिलाकै उचाइमा पुर्‍याउन आजैबाट लागौं।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?