
News Summary
Generated by OK AI. Editorially reviewed.- श्रम राष्ट्रिय माध्यमिक विद्यालय काठमाडौंको कुमारीगालमा साँघुरो क्षेत्रफल र सीमित सुविधाका बाबजुद उत्कृष्ट नतिजा ल्याउँदै आएको छ।
- प्रधानाध्यापक नारायणप्रसाद नेपालले शनिबार कक्षा सञ्चालन र प्रविधि प्रयोगले विद्यार्थीको सिकाइ सुधार भएको बताए।
- विद्यालयले भर्ना, परीक्षा र अतिरिक्त गतिविधिका माध्यमबाट विद्यार्थीको समग्र विकासमा ध्यान दिएको छ।
सामुदायिक विद्यालयलाई पहिले पनि सजिलो थिएन, तर यो देश हाँक्ने धेरै मस्तिष्क तिनैले उत्तीर्ण गरेर पठाए । आधुनिक नेपालको जग सामुदायिक स्कूलमै खनिएको थियो भन्न सकिन्छ ।
तर यस बीचमा स्थिति यसरी बदलियो कि अभिभावकहरू आफ्ना बच्चालाई हत्तपत्त सरकारी विद्यालयमा पढाउन मन गर्दैनन् । यस्तो लाग्छ, सामुदायिक विद्यालयप्रति अभिभावकको विश्वास धर्मराएको छ । अझ सरकारी विद्यालयको कमजोर नतिजाप्रति प्रधानमन्त्रीले सार्वजनिक मञ्चबाट टिप्पणी गरिरहेको सुनिन्छ ।
यस वर्ष त सरकारले नै नीति तथा कार्यक्रममै सामुदायिक शिक्षा सुधार्न निजी विद्यालयसँग साझेदारी गर्ने घोषणा गर्यो । संविधान बनेको ९ वर्ष भइसक्यो तर शिक्षा ऐन नै अहिलेसम्म बनिसकेको छैन ।
यावत् प्रतिकूलताका बाबजुद देशमा केही यस्ता विद्यालय पनि छन् जसले हजारौं विद्यार्थी पढाइरहेका र उत्कृष्ट नतिजा पनि दिइरहेका छन् । यो त्यस्ता केही उदाहरणीय सरकारी विद्यालयको स्टोरी सेरिज हो, जहाँ हामी कम्तीमा सातै प्रदेशबाट केही नमूना सरकारी स्कूलको रिपोर्टिङ गर्नेछौं । – सम्पादक
काठमाडौं । विद्यालयको साँघुरो प्राङ्गण । सबै विद्यार्थी नअटाउने भएकोले दैनिक प्रार्थनामा थोरै मात्र विद्यार्थी सहभागी हुन्छन् । बाँकी विद्यार्थी आ–आफ्नो कक्षाकोठामै बस्छन् । प्राङ्गणमा राष्ट्रिय गान बज्न थालेपछि कक्षाकोठाबाटै उठेर राष्ट्रिय गान गाउन थाल्छन् । कोठामै प्रार्थना गर्छन् ।
यो दृश्य काठमाडौं महानगरपालिका–७ कुमारीगालस्थित श्रम राष्ट्रिय माध्यमिक विद्यालयको हो । एक रोपनी क्षेत्रफलमा फैलिएको यो विद्यालयमा विद्यार्थीले खुलेर खेल्ने ठाउँ समेत छैन । १३ वटा कोठा छन् । सबै कोठामा विद्यालय सञ्चालन भइरहेको छ । कक्षा ७ देखि १० सम्म बिहान ५ः४५ देखि १०ः५० बजेसम्म कक्षा चल्छ । दिउँसोको बिहान ११ बजेदेखि ४ः३० सम्म पढाइ हुन्छ ।
‘साँघुरो भएका कारण बिहान र दिउँसो दुई सत्रमा कक्षा सञ्चालन गरिरहेका छौं’ विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद नेपालले भने, ‘बिहान ५ः४० मा विद्यालय आइपुग्छु । एकैपटक दिउँसोको पढाइ सकिएपछि मात्र घर जाने गरेको छु ।’
हामी श्रम राष्ट्रिय विद्यालय पुग्दा बिहानी सत्रका विद्यार्थी बाहिरिने र दिउँसोका विद्यार्थी भित्र छिर्ने तरखरमा थिए । सडकको छेउमै छ, विद्यालय । विद्यालयभित्र छिर्ने गेटमै रहेको बिजुलीको पोलले भित्र–बाहिर गर्न विद्यार्थीलाई असहज भइरहेको देखिन्थ्यो । तमाम अप्ठ्याराका बीच पनि श्रम राष्ट्रिय माविको नतिजा भने सानदार र लोभलाग्दो छ ।
श्रम राष्ट्रिय मावि काठमाडौं जिल्ला र महानगरपालिकाको उत्कृष्ट सामुदायिक विद्यालयको सूचीमा बारम्बार परिरहेको छ । साँघुरो क्षेत्रफलमा रहेको विद्यालयले फराकिलो नतिजा हासिल गर्नुका कारणहरू प्रधानाध्यापक नेपालले खुलेर सुनाए ।
शनिवार पनि कक्षा, उत्कृष्ट घोषित
२०५५ सालमा श्रम राष्ट्रिय माविको प्रधानाध्यापकमा नारायण नेपाल नियुक्त भए । विद्यालयको नेतृत्व सम्हालेलगत्तै उनले नतिजा सुधारको योजना बनाए । ‘प्रधानाध्यापक भएपछि २०५७ मा योजना बनाएँ । २०५८ सालको शैक्षिक सत्रदेखि कक्षा ९ र १० को लागि चाडपर्व बाहेक शनिवार पनि कक्षा सञ्चालन गर्ने निर्णय गरें’, प्रधानाध्यापक नेपालले आफूले ल्याएका योजना सुनाए ।
यो विद्यालयमा शनिवार सबै विषयको भने पढाइ हुँदैन । शनिवार अंग्रेजी, गणित र विज्ञान विषय मात्र पढाउने नीति विद्यालयले लिएको छ । ‘सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीलाई सबैभन्दा गाह्रो विषय भनेकै अंग्रेजी, गणित र विज्ञान रहेछ । अरू विषयमा अनुत्तीर्ण हुने कमै मात्र रहेछ । गाह्रो विषयमा पास भएपछि विद्यार्थीमा आत्मविश्वास बढ्दो रहेछ’, नेपालले भने ।
शनिवारको कक्षामा ६ दिन विद्यार्थीले सिकेको कुराको समीक्षा हुन्छ । ‘घोकाउने होइन, ६ दिनसम्म विद्यार्थीले कति सिक्यो ? त्यो हेर्छौं र नजानेको विषयमा अभ्यास गराउँछौं’, उनले भने । शनिवार पढाउन थालेपछि एसईईको नतिजामा पनि सुधार देखियो ।
‘२०५८ सालमा शनिवारे पढाइ शुरू गरेको विद्यालयले २०५९ को एसईईमा सामुदायिकतर्फ काठमाडौैंमै उत्कृष्ट नतिजा ल्यायो । उत्कृष्ट भएपछि ऊर्जा थपियो । शनिवारको अभ्यास सफल भयो भन्ने लाग्यो’ उत्कृष्ट विद्यालय भएर पाएका सम्मानपत्रहरू देखाउँदै प्रधानाध्यापक नेपालले भने, ‘हामी बागमती प्रदेशमा पनि उत्कृष्ट भएका छौं ।’
त्यसपछिका वर्षहरूमा पनि श्रम राष्ट्रिय मावि नगरपालिकाको उत्कृष्ट विद्यालय बनिरहेको छ । ‘महानगरबाट पुरस्कृत भइरहेका छौं’, प्रधानाध्यापक नेपालले भने ।
यो विद्यालयले २०७८, २०७९ र २०८० सालको एसईई परीक्षामा काठमाडौं जिल्लामा उत्कृष्ट स्थान हासिल गरेको छ । काठमाडौं महानगरपालिकाबाट ६ वटा अनिवार्य विषयका शिक्षक छनोट गर्दा यो विद्यालयबाट ५ जना शिक्षक पुरस्कृत भएका छन् ।
अनि महानगरले पछ्यायो…
काठमाडौं महानगरपालिकाको मेयर निर्वाचित भएर आएपछि बालेन शाहले सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूलाई बोलाए । सबै प्रधानाध्यापकले आफूले विद्यालयमा गरिरहेको अभ्यास सुनाए । श्रम राष्ट्रिय माविका प्रधानाध्यापक नेपालले पनि २०५८ सालदेखि शनिवार समेत कक्षा सञ्चालन गरिरहेको र नतिजा राम्रो आएको महानगर प्रमुख बालेनलाई सुनाएका थिए ।
‘मेयरले यो कुरा नोट गर्नुभएको रहेछ । त्यसपछिको वर्षदेखि महानगरले नै लागू गरेको छ’, प्रधानाध्यापक नेपालले भने । त्यसपछि विद्यालयको अवलोकनका लागि महानगर प्रमुख बालेन शाह श्रम राष्ट्रिय माविमा पुगेका थिए । ‘एक रोपनी जग्गा छ । खेल्ने ठाउँ छैन । नतिजा राम्रो आए पनि विद्यार्थीले खेल्ने ठाउँ नभएकोमा सन्तुष्ट छैनौं’, प्रधानाध्यापक नेपालले मेयरलाई सुनाए ।
त्यसपछि महानगर प्रमुख बालेनले विद्यालयलाई थप सुविधाको व्यवस्था गरिदिने वचन दिए । महानगरले शनिवार पढाएबापत केही रकम शिक्षकलाई दिने गरेको छ । ‘मेयरले जग्गाको खोजी गर्न भन्नुभएको छ । शिक्षामा उहाँले राम्रो गर्न खोज्नुभएको छ’ प्रधानाध्यापक नेपालले भने, ‘राम्रो ठाउँमा फराकिलो जग्गा वा भवन पाएमा विद्यालय सार्ने योजना छ । भाडामा भए पनि लिन खोजेको हो, मिलेको छैन ।’
विद्यार्थीको संख्या ७६३, शिक्षक ३३
नतिजा राम्रो आएपछि विद्यार्थीको संख्या बढ्दै गयो । अहिले विद्यालयको कक्षा कोठा विद्यार्थीले भरिभराउ हुन्छ । शैक्षिक सत्र २०८१ मा बाल विकासमा १०३, आधारभूत तह (१–८) मा ४९२ जना र माध्यमिक तहमा (९–१०) मा १६८ जना गरी ७६३ जना विद्यार्थी विद्यालयमा अध्ययनरत छन् ।
विद्यार्थीको अनुपातमा कोठा अपुग भएकाले दुई सत्रमा कक्षा चलाउन विद्यालय बाध्य छ । तर यसको फाइदा र बेफाइदा दुवै रहेको बताउँछन् प्रधानाध्यापक नेपाल । ‘बिहानी कक्षामा पढ्ने विद्यार्थीले दिउँसो अभ्यास गर्न पाउने भए । यो फाइदा हो । तर अल्छी गर्ने विद्यार्थी कक्षा सकिएपछि घुमेर हिंडेको पनि पाइयो । यो बेफाइदा भयो’, प्रधानाध्यापक नेपालले भने ।
वैशाखमा भर्ना, जेठमा छनोट
विद्यार्थी भर्नाअघि विद्यालयले प्रवेश परीक्षा लिने गरेको छ । कक्षा ४ देखि ९ सम्मका विद्यार्थीको प्रवेश परीक्षा हुने प्रधानाध्यापक नेपालले जानकारी दिए । ‘कक्षा दोहोर्याएर समेत भर्ना गर्ने गरेका छन् । प्रवेश परीक्षामा कमजोर भएमा ९ मा पढ्ने विद्यार्थी ८ मा भर्ना भएर पढ्ने गरेका छन्’, उनले भने ।
विद्यालयले वैशाखमा भर्ना गरेर जेठमा विद्यार्थीको क्षमता पहिचान गरी छनोट गर्ने गरेको छ । ‘कक्षामा कमजोर भएका विद्यार्थीलाई छनोट गरेर अतिरिक्त कक्षामा सिकाउने गरेका छौं । कतिपय ५–६ कक्षामा पढ्ने विद्यार्थी समेत आफ्नो नाम शुद्ध लेख्न नजान्ने हुन्छन् । सामान्य जोड–घटाउ पनि जानेका हुँदैनन् । त्यस्ता कमजोर विद्यार्थी छनोट गरी छुट्टै अतिरिक्त कक्षामा सिकाउने गरेका छौं’, उनले भने ।
कमजोर विद्यार्थीलाई शिक्षकहरूले आलोपालो पढाउने गरेका छन् । यसरी पढाउँदा तीन/चार महिनामै विद्यार्थीको सिकाइमा सुधार आउने गरेको शिक्षकहरू बताउँछन् । ‘सिकाउने तरिका व्यावहारिक छ । प्रविधिमा जोड दिएर सिकाउने गरेका छौं’, शिक्षक प्रकाश आचार्यले भने ।
शुल्क कति ?
विद्यालयले मासिक शुल्क लिने गरेको छैन । तर वर्षको एकपटक भने प्रवेश शुल्क लिने गरेको छ । नर्सरीमा १ हजार ५००, ८ कक्षामा २ हजार ३०० र १० कक्षामा ५ हजार लिने गरिएको प्रधानाध्यापक नेपालले बताए ।
‘थप कर्मचारी राख्नु परेकाले शुल्क लिनु परेको हो । ‘५ जना कर्मचारी राखेका छौं । वर्षको एक पटक उठाएर कर्मचारीको तलबको व्यवस्थापन गरेका छौं’, प्रधानाध्यापक नेपालले भने ।
बुक फ्रि फ्राइडेको प्रभाव
शुक्रवार विद्यालयले बुक फ्रि फ्राइडेलाई प्रभावकारी बनाएको छ । काठमाडौं महानगर प्रमुख बालेन शाहले शुक्रबार बुक फ्रि फ्राइडे अभियान चलाएका हुन् ।
‘यो दिन विद्यार्थीले किताब ल्याउनुपर्दैन । अतिरिक्त गतिविधि सिकाउने गरेका छौं । ऐनिमेसन, कम्प्युटर, गीत, संगीत, नाटक, कुकिङ लगायत सिकाउने गरेका छौं’, प्रधानाध्यापक नेपालले भने ।
विद्यालयले कक्षा कोठा प्रविधिमैत्री बनाएको छ । कम्प्युटर ल्याब, लाइब्रेरी, आईसीटी बोर्डबाट विद्यार्थीको पठनपाठन हुन्छ ।
पिंढीबाट जन्मिएको श्रमवीर
अहिले भएको विद्यालय नजिकै थियो, स्व. विजयसिंह बर्माको घर । २०२० सालमा बर्माले टोलका बच्चालाई आफ्नै घरमा पढाउन शुरू गरेका थिए ।
‘टोलमा बच्चा बढ्दै गएपछि पिंढी भरिन थाल्यो । त्यसपछि बर्मा सरले गौरीघाटको सत्तलमा लगेर पढाउनुभएको रहेछ’ प्रधानाध्यापक नेपाल सुनाउँछन्, ‘त्यो समयमा उहाँले श्रमवीर प्राथमिक पाठशालाको नाममा सञ्चालन गर्नुभएको थियो ।’
प्रधानाध्यापक नेपालका अनुसार १४/१५ जना स्थानीय बालबालिका जम्मा पारी बर्माले निवासमै पढाएका थिए । तर विद्यार्थीको संख्या ६५/६६ जना भएपछि गौरीघाटस्थित हर्कजङ्गको खाली सत्तलमा २०२२ सालमा विद्यालय स्थानान्तरण गरिएको हो ।
सत्तलमा पनि विद्यार्थीको चाप बढ्यो । त्यसपछि २०३३ सालमा तत्कालीन भगवानस्थान आदर्श गाउँ पञ्चायत हालको काठमाडौं महानगरपालिका–७ वडा कार्यालय, मित्रपार्कको कम्पाउन्डमा विद्यालय सारेको इतिहासमा भेटिन्छ ।
२०४१ सालमा त्यहाँबाट कुमारीगालमा विद्यालय सारिएको हो । त्यसपछि चैत २०४६ देखि अहिले रहेको ठाउँमा ल्याइएको हो ।
विद्यालयमा कक्षा पनि थप गरिंदै लगियो । २०४७ सालसम्म प्राथमिक विद्यालयको रूपमा स्वीकृत पाएको श्रम राष्ट्रिय माविले २०४८ सालमा निम्नमाध्यमिक तहको मान्यता पायो । २०५१ सालदेखि विद्यालयले माध्यमिक तह स्वीकृत पाएको थियो । यो विद्यालय २०५३ सालमा पहिलो पटक एसएलसी परीक्षामा सामेल भएको थियो ।
प्रतिक्रिया 4