+
+
Shares
समाचार प्रभाव : :

जगदिशपुर तालमा मोटरबोट चलाउन रोक

वरिष्ठ चराविद् डा. हेमसागर बराल विश्व सिमसार सूचीमा सूचिकृत तालमा मोटरबोट सञ्चालनले चराको वासस्थान बिथोलिएर चराको संख्या घट्दै लोप हुने खतरा हुने बताउँछन् ।

टोपराज शर्मा टोपराज शर्मा
२०८२ जेठ २१ गते १९:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चराको वासस्थान र जैविक विविधतामा असर पारेको भन्दै जगदीशपुर तालमा मोटरबोट सञ्चालन गर्न बन्द गरिएको छ।
  • चराविद् र पर्यावरणविद्‌ले विश्व सिमसार सूचीमा सूचिकृत तालमा मोटरबोट चलाउनु गलत र गैरकानूनी भएको भन्दै विरोध जनाएका थिए।

२१ जेठ,बुटवल । विश्व सीमसार क्षेत्रमा सूचीकृत कपिलवस्तुको जगदीशपुर तालमा मोटरबोट सञ्चालन गर्न बन्द गराइएको छ । प्रदेश सरकारले चरा आरक्ष घोषणा गरेको तालमा चालकसहित १० सिटे मोटरबोट तीव्र गतिमा चर्को आवाज र छाल निकाल्दै सञ्चालन हुँदा चराको बासस्थान बिथोलिएको थियो ।

साथै जलचर, स्तानधारी र सरिसृप जिवजन्तुलाई पनि प्रतिकूल असर पारेको थियो । गत वैशाख ५ गतेबाट मोटरबोट सञ्चालन भएको थियो । मोटरबोट सञ्चालन हुँदा चराहरुको जीवन चक्र र जैविक विविधतामा प्रतिकूल असर परेको समाचार जेठ ११ गते अनलाइनखबरले प्रकाशन गरेपछि चराविद्, पर्यावरणविद् लगायत सरोकारवालाले मोटरबोट बन्द गर्न दबाब दिएका थिए ।

दबाबका बावजुद जगदीशपुर जलाशय व्यवस्थापन बहुसरोकार मञ्चले अन्य दिन बन्द गरेपनि सार्वजनिक विदाका दिनहरुमा मोटरबोट चलाइरहेको थियो । तर आलोचना बढेपछि प्रदेशको वन तथा वातावरण मन्त्रालयले डिभिजन वन कार्यालय कपिलवस्तुलाई निर्देशन दिएपछि पूर्णरुपमा बन्द भएको हो ।

‘हामीले बन्द गर्न निर्देशन गरेपनि ठेकेदारले आलटाल गरेका थिए, गएको शुक्रबारबाट भने पूर्णरुपमा बन्द भएको छ’– मन्त्रालयका सचिव प्रमोद भट्टराईले भने– ‘विज्ञहरुको टोलीबाट अध्ययन प्रतिवेदन तयार गरी त्यसका आधारमा भविष्यमा के गर्ने निर्णय नहुंदासम्म मोटरबोट चलाउन नपाउने गराइएको छ ।’

सिँचाइ प्रयोजनका लागि तत्कालीन राजा महेन्द्र शाहको पालामा २०२८ मा शुरु भई २०३५ सालमा निर्माण सम्पन्न भएको जगदिशपुर ताल मानव निर्मित तालमध्ये नेपालको सबैभन्दा ठूलो ताल हो । यो ताल १५७ हेक्टरमा फैलिएको छ ।

ताल क्षेत्रमा डेढ सय बढी प्रजातिका चरा सहित उभयचर, सरीसृप र स्तनधारी जनावरको बासस्थान, चरण क्षेत्र र प्रजनन् हुने गर्छ । जगदीशपुर जलाशय व्यवस्थापन बहुसरोकार मञ्च नामक गैरसरकारी संस्थाले वैशाखदेखि आगामी चैतसम्मका लागि ८ लाख ५५ हजार रुपैयाँमा मोटर बोट ठेक्का दिएको थियो ।

विज्ञहरुका अनुसार विश्व सीमसार क्षेत्रमा सूचीकृत एवं चरा आरक्ष तालमा मोटरबोट सञ्चालन गर्नु गलत र गैरकानूनी हो । आईयूसीएन नेपालले गरेको एक अध्ययन अनुसार ताल क्षेत्रमा १ सय ६७ प्रजातिका चरा पाइन्छन् ।

त्यसमध्ये ९२ प्रजातिका रैथाने, ९ प्रजातिका गर्मी याममा आउने, ६४ प्रजातिका चरा जाडो याममा आउने र ३ प्रजातिका चरा आंशिक प्रवासी रहेको अध्ययनले देखाएको छ ।

यस्तै ४३ प्रजातिका माछा, १० प्रजातिका उभयचर, ४२ प्रजातिका सरीसृप र ३२ प्रजातिका स्तनधारी जनावर पाइने उल्लेख छ । विश्वमै दुर्लभ जन्तु पानी बिरालो र ८ प्रजातिका चरा पनि तालमा पाइन्छन् ।

लुम्बिनी प्रदेश वन ऐन–२०७८ को परिच्छेद् ११ को दफा ४५ मा प्रदेश सरकारले रैथाने तथा आगन्तुक पंक्षी र संकटापन्न वन्यजन्तुको वासस्थान संरक्षण तथा वन्यजन्तु आवतजावत गर्ने प्रदेशभित्रको कुनै क्षेत्रलाई चरा आरक्ष वा जैविक मार्ग घोषणा गर्न सकिने व्यवस्थाअनुसार तीन वर्षअघि चरा आरक्ष घोषणा गरेको थियो ।

चराविज्ञ कृष्ण भुसालले सरोकारवालाको माग अनुसार मोटरबोट बन्द गर्नु स्वागतयोग्य भएको बताए । ‘अन्तर्राष्ट्रिय महत्वको विश्व सिमसार घोषित तालमा मान्छे र मोटरको चर्को ध्वनी प्रदूषण हुने गरी कुनै पनि तालमाथि मेसिन चलाउनु एकदमै गलत थियो’, उनले भने, ‘भविष्यमा पनि यस्तो कार्य हुन दिनु हुँदैन, भयो भने जैविक विविधता र जलीय पर्यावरणमा नकारात्मक असर पर्छ ।’

वरिष्ठ चराविद् डा. हेमसागर बराल विश्व सिमसार सूचीमा सूचिकृत तालमा मोटरबोट सञ्चालनले चराको वासस्थान बिथोलिएर चराको संख्या घट्दै लोप हुने खतरा हुने बताउँछन् ।

सन् २०१९/२० तिर २०–२२ हजार पानी चरालाई आश्रयस्थल दिँदै आएको तालमा गत वर्ष ८ हजारमात्र पानी चरा गणना गरिएको थियो । जिल्ला डिभिजन वन कार्यालय कपिलवस्तुका वन अधिकृत ईश्वरीप्रसाद पौडेलले मोटरबोट सञ्चालनबारे प्रश्न उठेपछि बन्द गर्न निर्देशन दिइएको बताए ।

रामसार क्षेत्रमा सूचिकृत नेपालका १० सीमसार क्षेत्रमध्ये एक जगदिशपुर ताल सन् २००३ मा रामसार सचिवालयले अन्तर्राष्ट्रिय महत्वको विश्व सीमसार क्षेत्रका रूपमा सूचीकृत गरेको थियो ।

तालमा मध्य एसियाका तुर्केमेनिस्तान, किर्गिस्तान र साइबेरियाबाट पनि यहाँ चरा आउँछन् । तालमा हाँस प्रजातिका खडखडे, सिलसिले, कालीजुरे र मालक पनि आउने गर्छन् ।

त्यस्तै सुइरोपुच्छ्रे, बिजुलागैरी, बेल्चाठुडे, सिन्दुरे, कैलो टाउके र हरि हाँस, रुख सुडसुडिया, चिमचिमे र जल रंक चरा पनि आउने गर्छन् ।

लेखक
टोपराज शर्मा

शर्मा अनलाइनखबरका बुटवल संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?