+
+
Shares
चराको ‘स्वर्ग’मा संकट :

जगदिशपुर तालमा मोटरबोट, बिथोलियो चराको बास

मोटरबोट बन्द गर्न दिएको निर्देशन पालना भएन

कपिलवस्तुस्थित अन्तर्राष्ट्रिय महत्वको सिमसार क्षेत्र जगदिशपुर तालमा मोटरबोट सञ्चालन गरिएपछि चराको जीवनचक्र र जैविक विविधता संकटमा परेको विज्ञहरूले बताएका छन् । उनीहरूले यस्तो गतिविधिले ताल रामसार सूचीबाट हट्न सक्ने चेतावनी समेत दिएका छन् ।

टोपराज शर्मा टोपराज शर्मा
२०८२ जेठ ११ गते २२:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जगदिशपुर तालमा मोटरबोट सञ्चालनले चराको बासस्थानमा असर परेको छ ।
  • जैविक विविधतालाई प्रतिकूल असर पर्ने भन्दै विज्ञहरुले यो रोक्न माग गरेका छन् ।
  • मोटरबोट सञ्चालनले तालको पर्यावरणीय सन्तुलन र विश्वसिमसार सूचीमा सूचीकृत सम्पदाको संरक्षणमा चुनौती थपिएको छ।
  • प्रदेश सरकारले पंक्षी आरक्ष घोषणा गरे पनि मोटरबोट सञ्चालनलाई रोक्न निर्देशन दिइएको छ, तर कार्यान्वयन भएको छैन ।

११ जेठ, बुटवल । अन्तर्राष्ट्रिय महत्वको सिमसार क्षेत्रको रूपमा परिचित कपिलवस्तुको जगदिशपुर तालमा चराहरुको जीवन चक्र र जैविक विविधतालाई प्रतिकूल असर पर्ने गरी मोटरबोट सन्चालन गरिएको भन्दै विज्ञहरुले रोक्न माग गरेका छन् ।

मुलुकको दोस्रो पन्छी आरक्ष जगदिशपुर तालमा चालक सहित १० सिटे मोटरबोट एक महिना बढी समयदेखि सञ्चालन भइरहेको छ । यो क्रियाकलापले चराको बासस्थान बिथोलिएको र जलचर, स्तनधारी तथा सरिसृप जीवजन्तुलाई पनि प्रतिकूल असर पारेको चराविज्ञ कृष्ण भुसालले बताए ।

‘अन्तर्राष्ट्रिय महत्वको विश्व सिमसार घोषित तालमा मान्छे र मोटरको चर्को ध्वनि प्रदूषण हुने गरी कुनै पनि तालमाथि मेशिन चलाउनु एकदमै गलत हो, यसले निर्भय तरिकाले बसिराखेका चरा र जीवजन्तुमा भय र त्रास हुन्छ उनीहरु सहजरुपमा बस्ने वातावरण बिग्रन्छ’ भुसालले भने, ‘यस्तो कार्यलाई नरोक्ने हो भने जैविक विविधता र जलीय पर्यावरणमा नकारात्मक असर पर्छ, दीर्घकालीन चुनौति थपिन्छ ।’

प्रदेश सरकारले समेत पंक्षी आरक्ष घोषणा गरेकाले पंक्षीलाई असर गर्ने गतिविधि रोक्न प्रदेश सरकारको ध्यान जानुपर्ने भुसालले औंल्याए ।

जगदिशपुर तालमाथि १० जना मान्छे अट्ने दुईवटा मोटरबोट गत वैशाख ५ गतेदेखि सञ्चालन हुँदै आएको छ । जगदीशपुर जलाशय व्यवस्थापन बहुसरोकार मञ्च नामक गैरसरकारी संस्थाले वैशाखदेखि आगामी चैतसम्मका लागि ८ लाख ५५ हजार रुपैयाँमा मोटरबोट सञ्चालनको ठेक्का दिएको छ ।

वन तथा वातावरण क्षेत्रमा क्रियाशील स्थानीय जयप्रकाश पाण्डेले मोटरबोट सञ्चालन गर्न नपाउने प्रावधान हुँदाहुँदै जबर्जस्ती ठेक्का लगाइएको बताए । ‘दुई वर्ष अघि पनि तालमा मोटरबोट चलाउन ठेक्का लगाइएको थियो, तर विज्ञहरुले गलत भयो भनेपछि साता–दश दिनमै डिभिजन वन कार्यालय कपिलवस्तुले रोक लगाएको थियो,’ पाण्डेले भने, ‘तर यसपटक एक महिना बढी समय हुँदा पनि नरोकिंदा चरा र अन्य जीवजन्तुसँगै जैविक विविधतामा असर पुगेको छ ।’

जगदिशपुर तालको चारैतिर जैविक विविधता अनुकूलका विभिन्न प्रजातिका फूल र बोटबिरुवा लगाएर सुन्दर बनाउन सकिने र त्यसमार्फत ठूलो संख्यामा पर्यटक आकर्षित गर्नसके मोटरबोट ठेक्कामा दिएर प्राप्त हुने भन्दा बढी आम्दानी लिन सकिने पाण्डे बताउँछन् ।

१६० भन्दा बढी प्रजातिका चराको आश्रयस्थल

आईयूसीएन नेपालले गरेको एक अध्ययन अनुसार जगदिशपुर ताल क्षेत्रमा १ सय ६७ प्रजातिका चरा पाइन्छन् । त्यसमध्ये ९२ प्रजातिका रैथाने, ९ प्रजातिका गर्मी याममा आउने, ६४ प्रजातिका चरा जाडो याममा आउने र ३ प्रजातिका चरा आंशिक प्रवासी रहेको अध्ययनले देखाएको छ ।

यस्तै ४३ प्रजातिका माछा, १० प्रजातिका उभयचर, ४२ प्रजातिका सरीसृप र ३२ प्रजातिका स्तनधारी जनावर पाइने उल्लेख छ । विश्वमै दुर्लभ जन्तु पानी बिरालो र ८ प्रजातिका चरा पनि तालमा पाइन्छन् ।

त्यसैले जगदिशपुर ताललाई चराविज्ञ र पर्यावरणविदहरुले ‘पानी चराको स्वर्ग’ उपनाम दिएका छन् । यो विशेष गरी हिउँदे प्रवासी चराहरूको ठूलो बासस्थान हो ।

‘रामसार सूचीबाट हट्न सक्ने जोखिम’

जगदिशपुर ताल नेपालको जैविक सम्पदाको खानी हो । त्यसैले यहाँको पर्यावरणीय सन्तुलनमा असर पार्ने क्रियाकलाप तत्काल नरोकिए नेपालले विश्व सिमसार सूचीमा सूचीकृत एउटा गौरवशाली सम्पदा गुमाउन सक्ने चिन्ता छ ।

‘५–६ वर्षअघिसम्म नेपालमा सबैभन्दा बढी पानी चरालाई आश्रय दिँदै आएको जगदिशपुर तालमा ४ वर्षदेखि चराको संख्या घट्दै आएको छ’ वरिष्ठ चराविद डा. हेमसागर बराल भन्छन्, ‘मोटरबोट सञ्चालन नरोक्ने हो भने यसले तालमा मानवीय गतिविधि बढ्न गई चराहरु भाग्ने र लोप हुने खतरा हुन्छ । अनि नेपालले विश्व सिमसार सूचीमा सूचीकृत एउटा गौरवशाली सम्पदा गुमाउन सक्छ ।’

जगदिशपुर ताल क्षेत्रमा डेढ सय बढी प्रजातिका चरा सहित उभयचर, सरीसृप र स्तनधारी जनावरको बासस्थान, चरण क्षेत्र र प्रजनन् हुने विज्ञहरु बताउँछन् ।

सन् २०१९–२० तिर २०–२२ हजार पानी चरालाई आश्रयस्थल दिएको जगदिशपुर तालमा गत वर्ष ८ हजारमात्र पानी चरा गणना गरिएको थियो ।

लुम्बिनी प्रदेश वन ऐन–२०७८ को परिच्छेद् ११ को दफा ४५ मा प्रदेश सरकारले रैथाने तथा आगन्तुक पंक्षी र संकटापन्न वन्यजन्तुको बासस्थान संरक्षण तथा वन्यजन्तु आवतजावत गर्ने प्रदेशभित्रको कुनै क्षेत्रलाई चरा आरक्ष वा जैविक मार्ग घोषणा गर्न सकिने व्यवस्थाअनुसार तीन वर्षअघि ‘चरा आरक्ष’ घोषणा गरेको थियो ।

मोटरबोट बन्द गर्न निर्देशन पालना भएन

लुम्बिनी प्रदेशको वन तथा वातावरण मन्त्रालयका सचिव प्रमोद भट्टराईले प्रदेश सरकारले पंक्षी आरक्ष घोषणा गरेको रामसार क्षेत्रमा पंक्षीलाई प्रतिकूल असर गर्ने गतिविधि गर्न नपाइने बताए । मोटरबोट सञ्चालनले ताल क्षेत्रमा बस्ने चरा र अन्य जीवजन्तुलाई असर गरेको विषयमा अध्ययन गरी छिट्टै आवश्यक निर्णय लिइने उनले बताए ।

जिल्ला डिभिजन वन कार्यालय कपिलवस्तुका वन अधिकृत ईश्वरीप्रसाद पौडेलले मोटरबोट सञ्चालनबारे प्रश्न उठेपछि बन्द गर्न निर्देशन दिइसकेको बताए । ‘बन्द गर्न निर्देशन दिइएको छ, तर एउटा प्राविधिक समिति बनाएर अध्ययन गरी त्यसको प्रतिवेदनका आधारमा भविष्यमा के गर्ने भन्ने अर्को निर्णय गर्छौं’ पौडेलले भने ।

मोटरबोट सञ्चालनको ठेक्का लगाएका जगदिशपुर जलाशय व्यवस्थापन बहुसरोकार मञ्चका अध्यक्ष ललित गुरुङले भने मोटरबोट सञ्चालन नरोकेको बताए । चराको बासस्थान बिगार्‍यो भनेर मोटरबोट सञ्चालन रोक्न दबाब आएपछि सार्वजनिक बिदाका दिनहरुमा मात्रै चलाउने गरेको बताए ।

‘शनिबार मात्रै दुई हजार पर्यटक आएका थिए’ गुरुङले भने, ‘गर्मी मौसममा यहाँ चरा नै हुँदैनन्, जाडो मौसममा मात्रै हो तर यहाँ पर्यटक भित्राएर तालको विकास गरौं भन्दा चरालाई असर गर्छ भनेर मोटरबोट चलाउँदा विरोध गर्छन् ।’

महेन्द्रकालीन जगदिशपुर ताल

सिंचाइ प्रयोजनका लागि तत्कालीन राजा महेन्द्र शाहको पालामा २०२८ सालमा शुरु भई २०३५ सालमा निर्माण सम्पन्न भएको जगदिशपुर ताल मानव निर्मित नेपालको सबैभन्दा ठूलो ताल हो । यो ताल १५७ हेक्टरमा फैलिएको छ ।

यो रामसार क्षेत्रमा सूचिकृत नेपालका १० सीमसार क्षेत्रमध्ये एक हो । यो ताल सन् २००३ मा रामसार सचिवालयले अन्तर्राष्ट्रिय महत्वको भनेर विश्व सीमसार क्षेत्रका रूपमा सूचीकृत गरेको थियो ।

यस तालमा नेपालमै सबैभन्दा बढी चरा देख्न सकिन्छ । हिउँदमा बसाइँ सरेर नेपाल आउने सबैभन्दा धेरै चरालाई आश्रय दिँदै आएको तालमा रूस, चीन, मंगोलियाका साथै युरोप, कोरिया तथा तिब्बती क्षेत्रबाट हिउँदे आगन्तुक चरा आउने गर्छन्  ।

मध्य एसियाका तुर्केमेनिस्तान, किर्गिस्तान र साइबेरियाबाट पनि यहाँ चरा आउँछन् । तालमा हाँस प्रजातिका खडखडे, सिलसिले, कालीजुरे र मालक पनि आउने गर्छन् । त्यस्तै सुइरोपुच्छ्रे, बिजुलागैरी, बेल्चाठुडे, सिन्दुरे, कैलो टाउके र हरि हाँस, रुख सुडसुडिया, चिमचिमे र जल रंक चरा पनि आउने गर्छन् ।

लेखक
टोपराज शर्मा

शर्मा अनलाइनखबरका बुटवल संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?