+
+
Shares

क्षतिग्रस्त मौलाकाली केबुलकार : ‘सपना र अठोट भाँचिएका छैनन्’

केबुलकारमा भएको तोडफोड र आगजनीले साना लगानीकर्ताहरूका साथै गैँडाकोट तथा चितवनका स्थानीयवासिन्दा, कर्मचारी, उनीहरूका परिवार र सम्पूर्ण पर्यटन क्षेत्रलाई गहिरो पीडा दिएको कम्पनीले उल्लेख गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २९ गते १७:१३
फाइल तस्वीर

२९ भदौ, नवलपुर । गैँडाकोटको मौलाकाली केबुलकारमा जेनजी प्रदर्शनका क्रममा आगजनी र तोडफोडबाट ठूलो क्षति पुगेको छ । मौलाकाली केबुलकार लिमिटेडले विज्ञप्ति जारी गरेर घटनाप्रति दुःख व्यक्त गर्दै सेवा छिट्टै पुनः सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ ।

दुर्भाग्यवश, प्रदर्शन क्रममा सार्वजनिक कम्पनीका रूपमा सञ्चालनमा रहेको मौलाकाली केबुलकारमा समेत आगजनी र तोडफोड भई ठूलो क्षति पुगेको विज्ञप्तिमा उल्लेख छ ।

कम्पनीले मौलाकाली केबुलकारलाई गैँडाकोट र नवलपुरको पहिचान, पवित्र देवघाटको शिर, नेपालको पर्यटन प्रवर्द्धन, राजस्व वृद्धि र स्थानीय विकासमा महत्त्वपूर्ण योगदान दिने गण्डकी क्षेत्रकै साझा गौरव र राष्ट्रिय सम्पत्तिको प्रतीकका हो,’ विज्ञप्तिमा उल्लेख छ, ‘मौलाकाली केबुलकार कुनै व्यक्तिगत सम्पत्ति होइन, यो हजारौं स्थानीय सेयरधनीहरूको संयुक्त लगानी तथा मिहिनेतको जगमा बनेको हो ।’

यसले देशकै पर्यटन प्रवर्द्धन, राजस्व वृद्धि, स्थानीय रोजगारी सिर्जना र स्थानीय उत्पादनको बजार विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको कम्पनीले जनाएको छ ।

केबुलकारमा भएको तोडफोड र आगजनीले साना लगानीकर्ताहरूका साथै गैँडाकोट तथा चितवनका स्थानीयवासिन्दा, कर्मचारी, उनीहरूका परिवार र सम्पूर्ण पर्यटन क्षेत्रलाई गहिरो पीडा दिएको कम्पनीले उल्लेख गरेको छ ।

आगजनी नियन्त्रण गर्न र क्षति कम गर्न सहयोगको हात बढाउने सुरक्षाकर्मी, स्थानीय समुदाय तथा कर्मचारीहरूप्रति कम्पनीले हृदयदेखि नै आभार व्यक्त गरेको छ । ठूलो क्षति भए पनि आफ्नो सपना र अठोट नभाँचिएको भन्दै कम्पनीले छिट्टै सेवा सुचारु गर्ने र अझ गुणस्तरीय सेवासहित नेपालको पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने संकल्प गरेको छ ।

कम्पनीले आफ्नो संकल्पलाई पहिलेजस्तै अघि बढाउन स्थानीय समुदायको निरन्तर सहयोगको अपेक्षा गर्दै सुरक्षात्मक समन्वयका लागि सम्बन्धित निकायसँग विशेष आग्रह पनि गरेको छ ।

कम्पनीले आन्दोलन क्रममा ज्यान गुमाएकाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?