
२९ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रले जेनजी आन्दोलनभित्र प्रतिगामी, लोकतन्त्र र गणतन्त्र विरोधी तत्वहरू घुसेको टिप्पणी गरेको छ ।
‘आन्दोलनभित्र प्रतिगामी, लोकतन्त्र र गणतन्त्र विरोधी तत्वहरू घुसेर जुन खालको विध्वंस र वितण्डा मच्चाएका छन्, त्यसको हाम्रो पार्टी कडा शब्दमा विरोध र भ्रत्सर्ना गर्दछ,’ माओवादीले विज्ञप्ति निकालेर भनेको छ, ‘यसले आन्दोलनको मूल उद्देश्य र छविलाई नै धुमिल बनाएको छ ।’
माओवादीका उपाध्यक्ष एवं पार्टीका प्रवक्ता अग्नि सापकोटाले विज्ञप्ति निकालेर यस्तो बताएका हुन् ।
जेनजी पुस्ताले उठाएका मागहरूका सम्बन्धमा पार्टीको नीति तथा धारणा अध्यक्ष प्रचण्डले सार्वजनिक अपिल प्रकाशित गर्दै आएको उल्लेख गर्दै विज्ञप्तिमार्फत माओवादीले आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडमा पार्टीसँग सम्बन्धित कसैको संलग्नता देखिए सख्त कारबाही गर्न सरकारलाई भनेको छ ।
‘…गतिविधिमा हाम्रो पार्टीसँग सम्बन्धित कोही कसैको संलग्नता देखिए हामी कडाभन्दा कडा कारबाही गर्न तयार छौं । तथ्य र प्रमाण फेला परे सरकारले सख्त कारबाही गरोस् भनि आग्रह गर्दछौं,’ विज्ञप्तिमा उल्लेख छ ।
यो तथ्य प्रष्ट हुँदाहुँदै केही व्यक्ति वा समूहले यस्ता ध्वंसात्मक क्रियाकलापमा माओवादी कार्यकर्ताको संलग्नता रहेको भनेर प्रचार गरेको भन्दै माओवादीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आधारहीन हल्ला नफैलाउन आग्रह गरिएको छ भने दुष्प्रचारबाट भ्रममा नपर्न समुदायमा अपिल गरेको छ ।
हेर्नुहोस् विज्ञप्ति :
प्रतिक्रिया 4