+
+
Shares

बर्दी जलेपछि ट्राफिक प्रहरी निस्कन सकेनन्, सडक अस्तव्यस्त

जेनजी प्रदर्शनका कारण प्रहरी संगठनमा भएको क्षतिले सुरक्षार्थ पूर्ण जनशक्ति सडकमा खटाउन नसकेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता दीपक गिरीले बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २९ गते २०:५५

२९ भदौ, काठमाडौं । राजधानी काठमाडौं लगायत अधिकांश सहरी क्षेत्रको जनजीवन समान्यतर्फ फर्कंदै छ । तर, २३ र २४ भदौको जेनजी प्रदर्शनको असरले आइतबारको ट्राफिक व्यवस्थापन झनै अस्तव्यस्त बनाएको छ ।

जेनजी प्रदर्शनले सरकार परिवर्तन गराउन सफल भए पनि सर्वसाधारणको पुरानो जीवनशैली फिर्ता हुन समय लाग्ने देखिन्छ । जेनजीका नाममा २४ भदौमा भएको तोडफोड र आगजनीले सरकारी सम्पत्ति खण्डहर भएकाले सार्वजनिक सेवा प्रवाह सुचारु हुन समय लाग्ने स्पष्ट छ ।

त्यसैगरी प्रदर्शनकारीको लक्षितमध्येको एक नेपाल प्रहरी पनि बन्न पुग्यो । २३ भदौको प्रदर्शनमा प्रहरीले गोली चलाएका कारण १९ जनाको मुत्यु भए पनि आन्दोलनकारीले प्रहरीलाई पनि निसाना बनाएका थिए ।

प्रदर्शनकारी २४ भदौमा नेपाल प्रहरी लक्षित आक्रमण गर्दा उपत्यकाका अधिकांश प्रहरी कार्यालयमा आगजनी र तोडफोड भएको छ । साथै, केही प्रहरीको मृत्यु भएको छ भने दर्जनौं घाइते समेत भएका छन् ।

सोही क्रममा ट्राफिक प्रहरीमा पनि अछुतो रहेन । अन्दोलनकारीले ट्राफिक प्रहरी प्रभागमा आगजनी गरेर करिब नष्ट नै बनाएका छन् । त्यसो त प्रहरी तथा ट्राफिक प्रहरी बर्दीसमेत दुरुपयोग गरेको तस्वीर समाजिक सञ्जालमा देख्न सकिन्छ । प्रहरी कार्यलयमा भएको आगजनी तथा तोडफोडले आइतबार नियमित काममा फर्किन समेत प्रहरीलाई जटिल भयो ।

प्रहरी नियमित काममा फर्किन नसक्दा त्यसको प्रत्यक्ष असर उपत्यकाको सवारी आवागमन जटिल अवस्था पुगेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले शनिबारदेखि कर्फ्यु तथा निषेधाज्ञा हटायो ।

आइतबार आम सर्वसाधारण नियमित कामका लागि बाहिर निस्किए । साथै, केही दिनदेखि खुला हिँडडुल गर्न नपाएका सर्वसाधारणले आइतबार बाहिर आउने तथा आन्दोलनमा भएको क्षति अवलोकन गर्नेको संख्या समेत बढ्यो ।

आइतबारदेखि सार्वजनिक यातायातसँगै नियमित काम सुरु भएपछि बढेको उच्च ट्राफिक व्यवस्थापनका लागि सडकमा ट्राफिक प्रहरीको उपस्थिति नहुँदा सवारी आवागमन अस्तव्यस्त भएको हो ।

काठमाडौ चक्रपथभित्र समेत न्यून संख्यामा ट्राफिकको उपस्थिति देखिन्छ । साथै, ट्राफिक लाइट समेत सञ्चालनमा छैनन् । कति लाइट त प्रदर्शनकारीले तोडफोड गरेको अवस्था छ ।

सडकमा ट्राफिक नहुदाँ चक्रपथ र भित्री सडकमा समेत जामको समस्या जटिल बनेको छ । दैनिक १५ मिनेटको यात्रामा गन्तव्य पुग्ने दूरीमा आइतबार करिब २ घण्टासम्म खर्चनु परेको अवस्था छ ।

प्रदर्शनका कारण सबै क्षेत्र पूर्ववत् काममा फर्कने अवस्था छैन भनेर आम सर्वसाधारण पनि सचेत भएका देखिँदैन । सडकमा केही स्वयंसेवक देखिए पनि उनीहरूको निर्देशनलाई सवारी चालकले संवेदशील रूपमा लिएर पालना गरेको देखिँदैन ।

देशको पछिल्लो परिस्थिति समीक्षा गरेर आम सर्वसाधारण पनि स्वनियमनमा बस्नुपर्ने सचेतना हुनुपर्नेमा त्यस्तो देखिँदैन । सबैलाई आफ्नो गन्तव्य पुग्ने हतारो हुँदा ट्रफिक व्यवस्थापन अस्तव्यस्त भएको हो ।

अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्तिसँगै सहज गरिएको दैनिक जनजीवन पूर्ववत् फर्कन खोजेको भए पनि प्रहरी संगठनमा भएको क्षतिले सुरक्षार्थ पूर्ण जनशक्ति सडकमा खटाउन नसकेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता दीपक गिरीले बताए ।

‘धेरै ट्राफिक प्रहरीको बर्दी नै जलेको अवस्था छ,’ गिरीले भने, ‘उपलब्ध जनशक्ति परिचालन गरिएको भए पनि  पर्याप्त नभएको हो ।’

विनाबर्दी सडकमा जाने कुरा नहुने भन्दै गिरीले पूर्ववत् जनशक्ति परिचालन गर्न केही समय लाग्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?