+
+
Shares

अर्थमन्त्रीको पदभारमा जंगिदै पुगेका शालिकरामले भने- पहिला सचिव फेर्नुस् (भिडियो)

‘सुन्नुस्, हाम्रो पनि कुरा छन् यहाँ । हामीले पनि आन्दोलन गरेका हौं । हामी त्यसै आएका हौं र ? तपाईं त्यसै मन्त्री भएको हो र ?,’ उनको आक्रोश थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ३० गते १४:१४

३० भदौ, काठमाडौं । नवनियुक्त अर्थमन्त्री रामेश्वर प्रसाद खनालले सोमबार शथपलगत्तै पदभार ग्रहण गरेका छन् । अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच अर्थमन्त्री खनालले पदभार ग्रहण गरेका हुन् ।

जेनजी प्रदर्शनको बलमा बनेको सुशीला कार्की नेतृत्वको सरकारका अर्थमन्त्री खनालले नर्णय नै टुक्रे योजना कार्यान्वयन नगर्ने, राजनीतिक दबाबका आधारमा अघि बढेका आयोजना कटौती गर्ने लगायतका निर्णय गरेका छन् ।

सोमबार पदभार ग्रहणपछि मन्त्रालयका कर्मचारी र सञ्चारकर्मीसँग परिचयात्मक कार्यक्रम राखिएको थियो ।

उक्त कार्यक्रममा पर्वतका शालिकराम पौडेल पनि पुगेका रहेछन् । उमेरले पाका देखिने पौडेल अर्थमन्त्री खनालले आफ्ना कुरा राखुन्जेल सुनेर बसिरहे ।

जब खनालले आफ्ना कुरा राखिसके, अनि उनी अघि बढे ।

‘आफ्ना कुरा पनि केही राख्नुछ’ भन्दै अर्थमन्त्रीको छेवैमा पुगेका उनले अर्थसचिव घनश्याम उपाध्यायको कार्यशैलीमाथि प्रश्न उठाए ।

‘यो अर्थ मन्त्रालयबाट अहिलेको बजेट ल्याउँदा अर्थसचिव उहाँ (घनश्याम उपाध्यायतर्फ औंला देखाउँदै) नै हो नि, हैन ? यो देशमा ७७ जिल्ला छन् कि ७ वटा जिल्ला छन् ? तपाईं यही अर्थमा बसेर ७ वटा जिल्लाको मात्रै बजेट ल्याएको मान्छेले अहिले यो बजेट कसरी टिकायो ?,’ उनको प्रश्न थियो ।

उनलाई सुरक्षाकर्मीले रोक्न खोजे । अर्थमन्त्रीले उपाध्यायलाई सोधे– उहाँ को हो ?

सचिव उपाध्यायले जवाफ दिए– खै, मलाई थाहा छैन ।

बीचमै अर्थमन्त्रीले भने, ‘त्यो म मिलाउँला, हेरौंला ।’

अर्थमन्त्री खनालले त्यसबारे अहिले नै निर्णय भइसकेको बताए । अर्थमन्त्री खनालले आजै आफूले गरेको निर्णयको आशय त्यही भएको उनलाई बताएका थिए ।

‘त्यो निर्णय भइसकेको छ, म पछि हेरौंला,’ अर्थमन्त्रीको जवाफ थियो ।

पौडेललाई सुरक्षाकर्मीले रोक्दै बाहिर लान खोजे ।

‘सुन्नुस्, हाम्रो पनि कुरा छन् यहाँ । हामीले पनि आन्दोलन गरेका हौं । हामी त्यसै आएका हौं र ? तपाईं त्यसै मन्त्री भएको हो र ?,’ उनको आक्रोश थियो ।

सुरक्षाकर्मीले थप रोक्न खोज्छन् ।

उनी पख्नुस् भन्दै आफ्ना कुरा राख्न छाड्दैनन् । उनले सुरक्षाकर्मीकै बीचमा भने– पहिला उहाँलाई फेर्नुपर्छ, कहिले फेर्ने हो, फेर्नुस् ।

अर्थमन्त्रीले कार्यक्रम सकौं भन्दै उभिन्छन् । सोही बीचमा अर्थमन्त्री खनालले हजुरको नाम के हो भन्दै हात मिलाउन खोज्छन् ।

हक्की स्वभावका पौडेलले अर्थमन्त्रीसँग हात मिलाउँदै परिचय दिए– शालिकराम पौडेल, पर्वत ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?