News Summary
Generated by OK AI. Editorially reviewed.- यूएईले एसिया कप क्रिकेटमा ओमानलाई ४२ रनले हराउँदै पहिलो जित निकालेको छ।
- यूएईले दिएको १७३ रनको लक्ष्य पछ्याएको ओमान ८ बल बाँकी छँदा १३० रनमा अलआउट भयो।
- यूएईले २ खेलमा २ अंक जोडेर समूह बी मा तेस्रो स्थानमा रहँदा सुपर फोर सम्भावना कायम राखेको छ।
३० भदौ, काठमाडौं । आयोजक यूएईले एसिया कप क्रिकेटमा पहिलो जित निकालेको छ । सोमबार बेलुका सम्पन्न खेलमा यूएईले छिमेकी राष्ट्र ओमानलाई ४२ रनले हराएको हो ।
यूएईले दिएको १७३ रनको लक्ष्य पछ्याएको ओमान ८ बल बाँकी छँदा १३० रनमा अलआउट भयो । आर्यन विष्टले सर्वाधिक २४ रन बनाए भने विनायक शुक्ला र कप्तान जतिन्दर सिंहले समान २० रन बनाए ।
यूएईका जुनेद सिद्धिकीले ४ ओभरमा २३ रन दिएर ४ विकेट लिए । हेदर अली र मुहम्मद जवादुल्लाहले २-२ विकेट लिँदा मुहम्मद रोहिद खानले १ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले २० ओभरमा ५ विकेट गुमाएर १७२ रन बनाएको थियो । कप्तान मुहम्मद वासीमले सर्वाधिक ६९ तथा अलिशान सराफुले ५१ रन बनाए ।
वासिम र सराफुले पहिलो विकेटका लागि ८८ रनको साझेदारी गर्दै बलियो सुरुवात दिलाएका थिए । ओमानका जितेन रामानन्दीले २ तथा हस्नैन शाह र समय श्रीवास्तवले १-१ विकेट लिए ।
जितसँगै २ खेलमा २ अंक जोडेर समूह बी मा तेस्रो स्थानमा रहेको यूएईले सुपर फोर सम्भावना कायमै राखेको छ । यूएईले अब पाकिस्तानसँग खेल्न बाँकी छ भने ओमानले भारतसँग खेल्नेछ ।
आजको नतिजापछि भारत सुपर फोरका लागि छनोट हुँदा ओमान एक खेल अगावै बाहिरिने पक्का भएको छ ।
प्रतिक्रिया 4