+
+
Shares

जेनजी आन्दोलनका भग्‍नावशेष भत्काउने कि स्मृति संग्रहालय बनाउने ?

गोविन्द पोखरेल गोविन्द पोखरेल
२०८२ भदौ ३१ गते १३:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भदौ २३ र २४ गते जेनजीले गरेको आन्दोलनले मुलुकको राजनीति उल्टाइदियो र ७२ जनाको ज्यान गयो भने सिंहदरबार, संसद् भवन र सर्वोच्च अदालत जले।
  • भदौ २७ गते राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरे र संसद् विघटन गरी फागुन २१ गते आम निर्वाचन मिति घोषणा भयो।
  • आन्दोलनले नष्ट भएका सिंहदरबार, संसद् र सर्वोच्च अदालतका भग्नावशेषलाई संग्रहालय बनाउने वा पुनःनिर्माण गर्ने बहस अहिले सुरु भएको छ।

भदौ २३ र २४ गते जेनजीले गरेको आन्दोलनले मुलुकको राजनीति उल्टाइदियो । देशमा बढ्दो भ्रष्ट्राचारको अन्त्य, सार्वजनिक निकायमा राजनीतिकरण रोकिनुपर्ने, दलका प्रमुख नेताहरूको राजनीतिक अवकाश, सामाजिक सञ्जाल बन्द गर्ने निर्णय फिर्ता गर्ने मुख्य माग थियो जेनजीको ।

यही आक्रोशका कारण सडकमा प्रदर्शन गर्ने १९ जना युवाले ज्यान गुमाए । युवाहरूको ज्यान गएपछि चुलिएको आक्रोश झनै चुलियो ।

भोलिपल्ट देशमा ठूलो विद्रोह नै भयो, जसले नेपालका तीनै तहका प्रमुख राज्य संरचनाहरू खरानी बनाइदियो । उक्त आन्दोलनमा परी देशभर ७२ को ज्यान गएको छ ।

देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार, व्यवस्थापिका संघीय संसद् भवन र न्यायिक सर्वोच्चताको प्रतीक सर्वोच्च अदालत आन्दोलनकै क्रममा जले ।

राष्ट्रपति कार्यालय शितल निवासको मुख्य भवन समेत आगोको चपेटामा पर्‍यो । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजनीमा दिए । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणामाथि प्रदर्शनकारीले हिंसात्मक व्यवाहर गर्दै उनको निवासमा लुटपाट र आगजानी गरे ।

पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, केपी शर्मा ओली, बाबुराम भट्टराई, झलनाथ खनाल, माधवकुमार नेपालका निजी निवास समेत सुरक्षित रहेनन् ।

अधिकांश नेताका घरमा तोडफोड लुटपाट तथा आगाजनी भए । पूर्व राष्ट्रपतिहरूका घरमा समेत लुटपाट, तोडफोड र आगजानी भयो ।

निजी तथा सार्वजनिक संस्थाहरू जोगिएनन् । काठमाडौंका अधिकांश प्रहरी कार्यालय जलाइए । देशभरका विभिन्न पालिका तथा प्रहरी कार्यालयहरूमा आगजनी भयो ।

व्यवसायिक कम्पलेक्स तथा व्यवसायहरू खाक भए । अन्तर्राष्ट्रिय पाँच तारे चेन होटल हिल्टन पूर्ण रूपमा जलेर नष्ट भयो । ठूला व्यापारीका व्यवसाय एवं निजी घर सम्पत्तिमा लुटपाट एवं आगजानी भयो ।

थापाथलीको कान्तिपुर मुख्य कार्यालय र तीनकुनेको कान्तिपुर टेलिभिजको कार्यालय जलाइयो । थापाथलीका अधिकांश कार शोरुमहरू जलाइए । भाटभाटेनी, सिजी ग्रुपका संरचना तथा गोदमहरू जलाइए । देशैभरका कारागार भत्किए र कैदीबन्दी फरार भए ।

यो क्षति माओवादीको १० वर्षे सशस्त्र द्वन्द्व र २०७२ सालको भूकम्पभन्दा पनि बढी हुनसक्छ । क्षतिको यकिन विवरण आइपुगेकै छैन । धेरै नवयुवाहरूको ज्यान गएपछि पोखिएको आक्रोशले मुलुकका तीनै तहका संरचनालाई ध्वस्त बनाइदियो ।

यही आन्दोलनको जगमा भदौ २७ गते राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरे । मुलुकले पहिलो महिला प्रधानमन्त्रीमा कार्कीलाई पायो ।

प्रधानमन्त्रीमा कार्कीको नियुक्तीसँगै उनैको सिफारिसमा राष्ट्रपति पौडेलले शुक्रबार नै संसद् विघटन गरेर फागुन २१ गते आम निर्वाचन मिति घोषणा भएको छ ।

देश अहिले नयाँ आशाका साथ अघि बढिरहेको अवस्था छ । नयाँ शिराबाट सुरू गर्नुपर्ने अवस्थमा मुलुक छ विशेष गरी भत्किएका संरचना पुनर्निर्माण सम्बन्धमा । आन्दोलनमा नष्ट गरिएका केही संरचनासँग मुलुकको इतिहास जोडिएको छ । जलाइएका संरचनाहरूलाई नयाँ स्वरूपमा पुनःनिर्माण गर्ने कि बाँकी रहेका भग्नावेशलाई ऐतिहासिक स्मृतिको रूपमा संग्रहालयमा परिणत गर्ने ?

मुलुकले विगतमा २०४६ सालको जनआन्दोलन, ०५८ सालको राजदरबार हत्याकाण्ड, २०६२/६३को जनआन्दोलन, ०७२ सालको भूकम्प लगायत ठूला घटनाहरू देखेको छ ।

यद्यपि ती घटनाका स्मृतिहरू दृश्य सामग्रीको रूपमा भावी पुस्ताले अवलोकन गर्ने ठाउँ विरलै छन् । प्रत्यक्ष रूपमा देख्‍ने गरी दरबार हत्याकाण्डसँग सम्बन्धित केही स्मृतिहरू नारायणहिटी दरबार संग्रहालयमा गोलीका डोब मात्र देख्‍न सकिन्छ ।
सुन्धारामा राखिएको धरहराको भग्नावेशषले २०७२ को भूकम्प सम्झाउँछ । तर २०४६ सालको जनआन्दोलन, ०६२/०६३को आन्दोलन वा अन्य निर्णायक घटनाका स्मृतिहरू संग्रहालयका रूपमा सुरक्षित गरिएका छैनन् । नारयाणहिटी दरबार संग्रहालयमा गणतन्त्र स्मारक छ तर त्यसमा अन्य स्मृति जोडिएको छैन ।

जेन जी आन्दोलनका क्रममा मुलुकका तीन वटै संस्थागत प्रतीक देखिएका संसद भवन, सिंहदरबार र सर्वोच्च अदालतमा भएका आगजनीले महत्वपूर्ण दस्तावेजहरू जलेर आगोमा विलीन भए ।

यद्यपि अब जलेर बाँकी रहेका भौतिक संरचना भग्नावशेषको रूपमा बाँकी छ । अब यी संरचनाहरूलाई हामीले भत्काएर पुनःनिर्माण गर्ने कि भग्नावशेषलाई संग्रहालयको रूपमा विकासित गर्दै जेन अल्फा, बिटा, गामा पुस्ताहरूका लागि जोगाइदिने । अहिले यो बहस जरुरी देखिएको छ ।

जेनजी आन्दोलनका क्रममा जलाइएका यी संरचनाहरू नेपाली राजनीतिप्रति युवा पुस्ता र समाजको जनआक्रोशको रूपमा लिँदै संग्रहालयका रूपमा रुपान्तरण गर्न सकिन्छ । यी भग्नावशेषहरूलाई संग्रहालयको रूपमा परिणत गर्न सकिन्छ । आन्दोलनका क्रममा जलाइएका संरचना र त्यहाँ कोरिएका अक्षरले युवाहरूको आक्रोश देखिन्छ ।

युवाहरूको आक्रोशले पद हैन देशका तीनवटै संस्थालाई खरानी बनाउन सक्छ भन्ने ज्वालन्त उदाहरण सायद २१औं शताब्दीमा नेपालको यो घटना ऐतिहासिक बनेको छ ।

मलाई लाग्छ २१औँ शताब्दीमा यसरी युवाहरूको विद्रोहले राज्यका तीनवटै संरचनाका मुख्य भवनहरू पूर्ण रूपमा तहसनहस भए । अझ भनौँ युद्धमा पनि यसरी राज्यका तीनवटै संरचनाका मुख्य भवनहरु ढालिएका छैनन् ।
विश्वका धेरै देशहरूले यस्ता विनाशकारी घटनालाई स्मृतिको रूपमा स्मृति स्थल वा संग्रहालयमा रूपान्तरण गरेका छन् ।

शताब्दीको सुरूवातमा आतंकवादी संगठन अलकायदाले सन् २००१को सेप्टेम्बर ११ मा अमेरिकामा गरेको आतंकवादी हमलामा ट्वीन टावर ध्वस्त भयो । त्यही स्थलमा अहिले ९/११ स्मारक संग्राहलय अमेरिकाले बनाएको छ जसले तीन हजार मृतकहरूको स्मृतिसँगै आतंकको घाउलाई दर्शाउँछ ।

उक्त संग्रहालयमा त्यस घटनासँग सम्बन्धित हरेक विषयवस्तु लिपिवद्धका साथै भग्नावशेषका केही भौतिक संरचनाहरूलाई पनि सजाएर राखिएको छ ।

दोस्रो विश्वयुद्धमा हिरोसिमा र नागासाकीमा अमेरिकाले गरेको परमाणु बम हमलाका अवशेष अझै सुरक्षित छन् । त्यहाँ हिरोसिमा र नागासाकी संग्रहालय बनाइएको छ ।

ती संग्रहालयले विश्व शान्तिको सन्देश दिन्छन् । सन् २०२४मा जापानका आणविक बम पीडितहरूको संगठन ‘निहोन हिड्यान्को’ले नोबेल शान्ति पुरस्कार पायो ।

जर्मनीमा नाजी हिटलरको नाजी शासनकालमा जर्मनीका भएका/घटेका र बाँकी रहेका भग्नावशेषलाई देखाउन उसले ‘टोपोग्राफी अफ टेरर’ संग्रहालय बनाएको छ । यस्तै, बर्लिन पर्खालका भग्नावशेषका केही अंशलाई राखेर स्मृति संग्राहलय बनाइएको छ ।

यी केही उदाहरणले विनाशलाई मेटाउने मात्रै हैन, सम्झाउने पनि आवश्यक हुन्छ भन्ने देखाउँछ । विगतका इतिहासलाई देखिने स्मृतिको रूपमा देखाउँदा भावी पुस्ताले गल्ती नदोहोर्‍यउनका लागि पनि सहयोग पुर्‍याउँछ ।

तर नेपालमा भने सक्रिय राजतन्‍त्रसँग सम्बन्धित इतिहास झल्काउने विषयहरू मात्रै संग्राहलयका रूपमा राखिएका छन् । त्यसबाहेक नेपालमा भएका पछिल्ला ठूला घटनालाई प्रत्यक्ष अवलोकन गर्ने संग्रहालय निर्माण भएको छैन ।

भग्नावेशलाई हेरेर नयाँ नेपाल निर्माणको सुरुवात गर्ने अभिभारा यो नयाँ पुस्ताले बोकेको छ । सिंहदरबारमा पटक पटक आगाजनी भएको इतिहास छ । भूकम्पले क्षति गर्‍यो । अहिले जेनजी आन्दोलनको क्रममा जलाइयो । यो भवनलाई पुनःनिर्माण गर्ने वा संग्रहालयको रूपमा भावी पुस्तालाई देखाउँदै नयाँ सिंहदरबार बनाउने त्यो बहसको विषय बन्‍न सक्छ ।

अहिले प्रतिनिधिसभा र सर्वोच्च अदालतका नयाँ भवन निर्माणका अन्तिम चरणमा पुगेका अवस्था छ । बाँकी रहेका भग्नावेशलाई संग्रहालयकको रूपमा पनि विकास गर्न सकिने अवस्था छ ।

पुनःनिर्माण गर्ने हो भने दाताको भरमा हैन,जनताको सहभागितामा निर्माण गर्दा अपनत्व जगाउने गरी गरिनुपर्छ ।

नेपालका इतिहास बोकेका संरचना तथा भवनहरूमा नागरिकको उपस्थिती छैन । त्यस्ता संरचनाहरूको बारेमा पढाउने, घुमाउने तथा अध्ययन गराउने बानीको विकास गर्नु जरुरी देखिन्छ ।

विदेशमा भ्रमण जाने विभिन्न नेपालीहरूले ती मुलुकको मुख्य प्रशासनिक भवन, संसद् तथा राष्ट्र प्रमुखको निवासमा पर्यटकको रूपमा भ्रमण गरेको देखिन्छ । नेपालमा पनि ऐतिहासिक महत्व बोकेका संरचना, भवन तथा कार्यालयहरूमा आम सर्वसाधरणहरूलाई अध्ययन तथा अवलोकन भ्रमणमा लैजाँदै त्यसलाई संस्थागत गर्न सकियो भने भावी पुस्ताले ‘फलानो कार्यालय जलाइदिन्छु’ भन्ने किसिमका अभिव्यक्ति पक्कै दिँदैनन् ।

अतः आज जनेजी आन्दोलनका क्रममा राज्यका तीनवटै प्रमुख संरचनालाई खरानी बनाएको छ । बाँकी रहेको भग्नावशेषलाई सुरक्षित राखेर ‘स्मृति संग्रहालय’ निर्माण गर्ने कि पुराना संरचनालाई भत्काएर पुन:निर्माण गर्ने भन्‍ने बहस सुरू गर्न जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?