+
+
Shares

छोरो खोज्दै काठमाडौं आइन् आमा, जसलाई अप्रिय खबरले पर्खिरहेको थियो

गोली लागेर छोराको मृत्यु भएको खबर थाहा पाएर उनी शिक्षण अस्पतालको फरेन्सिक विभागअगाडि बेहोस भइन् ।

सुमित्रा लुईटेल सुमित्रा लुईटेल
२०८२ भदौ ३१ गते २१:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जेन जी आन्दोलनको दोस्रो दिन दिपेश सुनुवार आन्दोलनमा सहभागी हुँदा छातीमा गोली लागेर मृत्यु भयो।
  • दिपेशको खोजीमा उनकी आमा भिममाया सुनुवार सात दिनसम्म विभिन्न ठाउँ चाहारिन ।
  • दिपेशको मृत्युपछि परिवारको आर्थिक र भावनात्मक अवस्था नाजुक बनेको छ।

जेन जी आन्दोलनको दोस्रो दिन भइसकेको थियो । दिपेश सुनुवार सधैंझैं डेरामा फर्केनन् । उनका साथीले सिन्धुलीस्थित घरमा खबर गरे । कतिपय सामाजिक अभियन्तालाई पनि खोज्नका लागि आग्रह गरियो । दिपेशको फोटो, हुलिया र सम्पर्क नम्बर राखेर ‘हराइरहेको छ, खोजिदिनु होला’ भनी आग्रह गरियो ।
तर, दिपेश भेटिएनन् ।

हराएको छोरो खोज्न काठमाडौं आइन् भिममाया सुनुवार । उनले दिपेशको काम गर्ने ठाउँ, उसको साथीभाइ र आफन्त सबैतिर छोराको सोधीखोजी गरिन् । कतै भेटिएनन्, कतै देखिएनन् ।

अब दिपेश खोज्दै काठमाडौंका अस्पतालहरू चाहार्न थालिन् । न भोक, न तिर्खा, न विश्राम, न निद्रा । छोरा खोज्दैमा उनका नौनाडी गल्यो ।

दिनभर छोरा खोज्दै दौडधूप गर्थिन् । साँझसम्म पनि छोरा कहाँ छ भनी कुनै संकेत मिल्दैनथ्यो । रात नपरिदिए हुन्थ्यो भन्ने लाग्थ्यो । पलपल गन्दै छटपटीमै रात बिताउँथिन्।

छोरो हराएको पाँच दिन बितिसक्यो । कतै पत्तो लाग्दैन । यसैबीच उनलाई एउटा फोन आयो, ‘तपाईँको छोरा त्रिवि शिक्षण शिक्षण अस्पतालमा छ । ’ बिहान ७ बजेको थियो । उनी दौडँदै अस्पताल पुगिन् । लागेको थियो, छोरो घाइते छन् । तर अवस्था उनले सोचेजस्तो थिएन ।

लाउँलाउँ खाउँखाउँ उमेरका छोरोको निर्जीव शरीर उनको सामुन्ने थियो । हिजोअस्तिसम्म फोन गर्ने छोरो यतिबेला निःशब्द थियो । आफूले जन्माएको, आफ्नो काखमा हुर्काएको छोरोलाई यस्तो अवस्थामा देख्दा उनले आफूलाई सम्हाल्न सकिनन् ।

Ò

दिपेश मिलन सुनुवार र भिममायाका जेठा छोरा थिए । परिवारमा उनकी आमा, बाबा र एक सानो भाइ छन् । आर्थिक अवस्था कमजोर भएकाले दिपेशले कक्षा ७ मै पढाइ छाडेर काठमाडौँ आई काम सुरु गरेका थिए । उनको कमाइले नै घरको गुजारा चल्ने आशा थियो ।

२३ गते जेनजी प्रदर्शनकारीमाथि सरकारले गरेको दमनका कारण १९ युवाको मृत्युपछि उपत्यकामा कर्फ्यू आदेश जारी भएको थियो । ललितपुर महानगरमा सरसफाइकर्मीको रुपमा काम गर्थे दिपेश । त्यो दिन काम नहुने भएपछि त्यहाँबाट निस्किए । ‘म पनि देशका लागि लड्छु’ भन्ने सोचका साथ उनी आन्दोलनमा संलग्न हुन नयाँबानेश्वर पुगे ।

आन्दोलनमा सहभागी भइरहँदा उनलाई एक्कासि छातीमा गोल लाग्यो र आन्दोलनमा संलग्न केही व्यक्तिले उनलाई सिभिल अस्पताल पुर्‍याए । त्यहाँबाट उनी कसरी शिक्षण अस्पताल आइपुगे भन्ने कुरा न परिवारका सदस्यलाई थाहा छ नत उनको साथीहरूलाई ।

Ò

सात दिनसम्म छोराको खोजीमा भौँतारिएकी आमा भिममायालाई असोज ३० गते बिहान ६ बजे एउटा फोन आयो । फोनमा आएको खबरले उनको संसार भत्कियो । सिन्धुलीबाट काठमाडौँ आएकी भिममायाले हरेक अस्पताल र सम्भावित ठाउँमा छोरालाई खोजेकी थिइन्, तर उनलाई छोराको मृत्यु भएको थाहा थिएन । छोरा शिक्षण अस्पतालमा भएको थाहा पाएर दौडिँदै अस्पताल आइपुगेकी उनले छोरालाई भेट्न पाइनन् ।

आन्दोलनमा गोली लागेर छोराको मृत्यु भएको खबर थाहा पाएर उनी शिक्षण अस्पतालको फरेन्सिक डिपार्टमेन्ट अगाडि बेहोस भइन् । दिपेशका साथीभाइ र गाउँलेले पानी छर्केर होसमा ल्याए । उनी बोल्न सक्ने अवस्थामा थिइनन् आँखाबाट आँसु बगिरहेको थियो ।

परिवारको मुख्य कमाउने सदस्य गुमाएपछि सुनुवार परिवारको आर्थिक र भावनात्मक अवस्था नाजुक बनेको छ । दिपेश एक सामान्य युवा थिए, जो आफ्नो परिवारको भविष्य सुधार्ने सपना बोकेर काठमाडौं आएका थिए । तर, देशको परिवर्तन र आन्दोलनको भुमरीमा उनको जीवनले अप्रत्याशित मोड लियो ।

उनको बलिदानले देशका लागि लड्ने युवाहरूको जोश र देश प्रेमलाई झल्काउँछ । तर उनको परिवारमा छाएको शून्यताले गहिरो प्रश्न पनि उठाउँछ— यस्ता बलिदानको मूल्य के हो ?

लेखक
सुमित्रा लुईटेल

अनलाइनखबरकी संवाददाता लुईटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?