
३१ भदौ, काठमाडौं । बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले मंगलबार पुनः अध्यक्षको जिम्मेवारी लिएका छन् ।
ओझालाई हटाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएपछि उनी पुनः काममा फर्केका हुन् ।
सर्वोच्च अदालतले सरकारका नाममा अल्पकालीन आदेश जारी गर्दै ओझा बर्खास्तीको निर्णय तत्काल कार्यान्वयन नगर्नू नगराउनू भनेको छ । त्यसकै आधारमा ओझा नियमित काममा फर्केका हुन् ।
२ भदौको मन्त्रिपरिषद् बैठकले ओझालाई खराब आचरण र कार्यक्षमता नभएको भन्दै बर्खास्त गर्ने निर्णय गरेको थियो । त्यसका लागि सरकारले ३० असारमा छानबिन समिति पनि गठन गरेको थियो।
विशेषगरी ओझाको कार्य अनुभव र योग्यतामाथि प्रश्न उठेको थियो । छानबिन समितिले दिएको प्रतिवेदनका आधारमा सरकारले उनलाई अध्यक्षका लागि योग्य नभएको भन्दै बर्खास्त गरेको थियो ।
उक्त निर्णयविरुद्ध ओझा सर्वोच्च गएका थिए । २२ भदौको रिट निवेदन दर्ता गरेका ओझालाई २३ भदौको सुनुवाइ मार्फत न्यायाधीश सारंगा सुवेदीको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश दिएको हो । साथै, उक्त आदेश अनुसार दुवै पक्षलाई छलफलका लागि पनि बोलाएको छ ।
सर्वोच्चले बर्खास्तीको निर्णय तत्काल कार्यान्वयन नगर्न र नयाँ अध्यक्ष नियुक्ति प्रक्रिया पनि अघि नबढाउन आदेश दिएको छ ।
सरकारले बीमा प्राधिकरणमा नयाँ अध्यक्ष नियुक्तिका लागि आह्वान गरिसकेको अवस्था छ । नयाँ अध्यक्षका लागि १४ जनाको आवेदन समेत आइसकेको छ।
प्रतिक्रिया 4