+
+
Shares

नेपालीरिकामा हल्लाको आगो झोसिँदा चेन होटल निर्माणमा ब्रेक

जेन-जी आन्दोलनको क्रममा गत मंगलबार काठमाडौंबाट नेताहरू आएर नेपालीरिका होटलमा बसेको हल्ला फैलाइयो । हल्ला फैलाउने समूह नै उनको होटल प्रवेश गरेर आगजनी गर्‍यो ।

हरि अधिकारी हरि अधिकारी
२०८२ असोज १ गते १५:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मोरङको विराटचोकस्थित नेपालीरिका होटलमा जेनजी आन्दोलनका क्रममा आगजनी र लुटपाट हुँदा ३५ करोडभन्दा बढीको क्षति भएको छ।
  • होटलका ६० वटा कोठा जलेर ध्वस्त भएका छन्।
  • १०६ जनाले रोजगारी गुमाएका छन् भने होटल चेन विस्तारको योजना रोकिएको छ
  • व्यवसायी भोलेश्वर दुलालले माओवादी द्वन्द्व, भूकम्प, कोभिड महामारीपछि फेरि विद्रोहले व्यवसायमा ठूलो असर पुगेको बताए।

१ असोज, विराटनगर । मोरङको विराटचोकमा थ्री स्टार होटल निर्माण गरेका व्यवसायी भोलेश्वर दुलालले कोशी प्रदेशमा होटलको चेन सुरु गरे ।

फस्टाउँदै गरेको शहर विराटचोकमा उनको नेपालीरिका होटल नयाँ पहिचानको रूपमा थियो । तर २४ भदौको जेन-जी प्रदर्शनका क्रममा अराजक समूहको निसानामा पर्‍यो उनको होटल । आगजनी र लुटपाटले होटल लगभग ध्वस्त भयो ।

नेपालीरिका नामका उनका दुईवटा होटल छन्, विराटचोक र दमकमा । थप तीन स्थानमा निर्माण गरेर नेपालीरिकाको चेन बनाउने तयारी थियो । तर मंगलबार अराजक समूहको निसानामा मुख्य होटल परेपछि उनको सपनामा ब्रेक लाग्यो ।

अकल्पनीय क्षतिले गर्दा अब के गर्ने भन्ने अन्योल भएको छ ।

जेनजी आन्दोलनको क्रममा गत मंगलबार काठमाडौंबाट नेताहरू आएर यही होटलमा बसेको हल्ला फैलिएको थियो । हल्ला फैलाउने समूह नै उनको होटल प्रवेश गरेर आगजनी गरेको थियो ।

पाहुना बसिरहको होटलमा अराजक समूह पुगेपछि भागदौड र लुटपाट मच्चियो, त्यसपछि आगजनी भयो । बसिरहेका पाहुना होटलबाट निकालिए ।

आगजनीबाट होटल क्षतबिक्षत भएको छ । दुलालका अनुसार होटलमा ३५ करोडभन्दा बढीको क्षति भएको छ ।

‘म त सेमिनारका लागि नेपाल बाहिर थिएँ, मोबाइलमा आगलागी भएको देख्ने बित्तिकै गाह्रो भयो,’ उनले भने, ‘तीन दिनपछि बल्ल फर्कन पाएँ ।’

व्यवसायी भोलेश्वर दुलाल ।

उनी पुग्दा होटल खण्डहर भइसकेको थियो । होटलका कोठा, भिल्ला, सेमिनार हल लगायत संरचना जलेको थियो । ६० वटा कोठा जलेको उनले बताए । होटलमा १८६ वटा कोठा थिए । रिसेप्सनसहित भौतिक संरचनामा क्षति पुर्याएको छ ।

‘सन् २०२७ सम्म पाँचवटा चेन खोल्ने हाम्रो योजना थियो, त्यसअनुसार श्रीअन्तु, नाम्जे र कोशीटप्पुमा नयाँ होटल खोल्ने तयारी थियो,’ उनले भने, ‘यो घटनाले सोच्न बाध्य बनायो, वातावरण नै बिग्रियो ।’

जेनजी आन्दोलनले होटल थप्ने योजनालाई तत्कालका लागि ब्रेक लगाएको छ । तर उनले हरेश खाइसकेका छैनन् ।

उनका अनुसार सामान्य अवस्थामा रहेको व्यवसायलाई भूकम्पले समस्या पार्यो । त्यसपछि कोरोना माहामारी र बजार शिथिलताले असर गर्यो ।

‘अब त अगाडि बढ्ला भन्ने सोच्न नपाउँदै अर्को विद्रोह भयो,’ उनले भने, ‘माओवादी द्वन्द्व, भूकम्प, कोभिड महामारी, आर्थिक मन्दी सबै बेहोरियो, राम्रो हुने आसमा हाम्रो उमेर सकिन लाग्यो ।’

विद्रोहमा अराजक समूहले होटललाई निसाना बनाउँदा उनी चिन्तित छन् ।

‘मेरो मात्रै होइन, समग्र देशकै अवस्था उस्तै छ । यो घटनाले ब्याक गर्‍यो,’ उनले भने, ‘अहिलेकै दिनमा केही गर्न सकिँदैन, भोलि राम्रा दिन आए, वातावरण बन्यो भने उठ्छौं ।’

विराटचोकस्थित होटलमा उनले १०६ जनालाई रोजगारी दिएका थिए । आगलागीले गर्दा रोजगारी गुमेको छ ।

‘नेपालीरिका सपना थियो । सकारात्मक भूमिका खेलिरहेको मान्छेमा पनि नेपालमा अवसर छैन कि क्या हो भन्ने भावना पसेको छ,’ उनले भने, ‘सरकारले कसरी सम्बोधन गर्छ, कसरी अगाडि बढ्छ हेर्न बाँकी छ ।’

लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?