News Summary
Generated by OK AI. Editorially reviewed.- लिभरपुलले भर्जिल भान डाइकको इन्जुरी टाइम गोल मद्तमा एट्लेटिको मड्रिडलाई ३-२ ले हरायो।
- बायर्न म्युनिखले चेल्सीलाई ३-१ ले पराजित गरेको छ, ह्यारी केनले दुई गोल गरे ।
- पीएसजीले एटलान्टालाई ४-० र इन्टर मिलानले अयाक्सलाई २-० ले हराएको छ ।
२ असोज, काठमाडौं । युइएफए च्याम्पियन्स लिगमा ठूला क्लबहरु लिभरपुल, बायर्न म्युनिख, पेरिस सेन्ट जर्मेन (पीएसजी) र इन्टर मिलान विजयी भएका छन् ।
भर्जिल भान डाइकले इन्जुरी समयमा निर्णायक गोल गरेपछि लिभरपुलले रोमाञ्चक खेलमा एट्लेटिको मड्रिडलाई ३-२ ले हरायो ।
एन्डी रोबर्टसनले चौथो र मोहमद सालाहले छैटौं मिनेटमा गोल गर्दै लिभरपुललाई सुरुमै २-० को अग्रता दिलाएका थिए । तर एट्लेटिको मड्रिडका मार्कोस लरेन्टले पहिलो हाफको इन्जुरी टाइम र ८१औं मिनेटमा गोल गरेपछि खेल रोमाञ्चक बनेको थियो ।
बराबरीतर्फ अग्रसर खेलमा भान डाइकले इन्जुरी टाइमको दोस्रो मिनेटमा गोल गर्दै लिभरपुललाई जित दिलाए ।
अर्को इंग्लिस क्लब चेल्सी भने जर्मन क्लब बायर्न म्युनिखसँग ३-१ ले पराजित भयो । चेल्सीका ट्रेभोह चालोबाहले २०औं मिनेटमा आत्मघाती गोल गरेपछि बायर्नले अग्रता दिएको थियो । ह्यारी केनले २७औं मिनेटमा पेनाल्टीमा गोल गरी अगर्ता दोब्बर पारे । चेल्सीका कोल पाल्मरले २९औं मिनेटमा गोल गर्दै गोल अन्तर कम पारेका थिए । तर केनले ६३औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै बायर्नलाई ३-१ को जित दिलाए ।
अर्को खेलमा फ्रेन्च क्लब पीएसजीले इटालियन क्लब एटलान्टालाई ४-० ले सहजै हरायो । पीएसजीका लागि मार्क्विन्होसले तेस्रो, केभिचा केभारत्स्खेलियाले ३९औं, नुनो मेन्डेजले ५१औं र गोन्कालो रामोसले इन्जुरी टाइममा गोल गरे ।
अर्को इटालियन क्लब इन्टरले भने डच क्बल अयाक्सलाई २-० ले हरायो । इन्टरका लागि मार्कुस थुरामले ४२औं र ४७औं मिनेटमा गोल गरे ।
प्रतिक्रिया 4