३ असोज, काठमाडौं । राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले जेनजी आन्दोलनमा अभिव्यक्त भावना बमोजिम सबैलाई नयाँ भएर उठ्न र जुट्न आग्रह गरेका छन् । बस्नेतले नेपाली युवाका सपना र सम्भावनामाथि यथोचित न्याय गर्न सबैले आ–आफ्नो ठाउँबाट प्रण गर्नुपर्ने पनि बताए ।
शुक्रबार संविधान दिवसको अवसरमा परिषदको तर्फबाट विज्ञप्ति जारी गर्दै बस्नेतले युवाका आकांक्षा सम्वोधन हुन नसक्दा असन्तुष्टि बढेको औंल्याएका छन् । बस्नेतले भनेका छन्, ‘शिक्षा, स्वास्थ्य र रोजगारीलाई नागरिकको मौलिक हकको रुपमा ग्यारेन्टी गरिएको गणतन्त्रात्मक संविधानको उज्यालो आम नागरिकको बिचमा प्रभावकारी ढंगले पुग्न नसक्दा बेलाबेला युवामा असन्तुष्टि छाउनु स्वाभाविकै हो ।’
जेनजी आन्दोलनका क्रममा नयाँ पुस्ताका युवाका भावना सडकमा अभिव्यक्त भएको उल्लेख गर्दै बस्नेतले भनेका छन्, ‘युवाका आशा, सपना र सम्भावनामाथि यथोचित न्याय गर्न हामी सबै आ–आफ्नो ठाउँबाट कोसिस र प्रण गरौं ।’
‘हामीले शिक्षालाई श्रमसँग, श्रमलाई सिपसँग, सिपलाई उत्पादन, रोजगारी र उद्यमशीलतासँग जोड्दै युवा शक्तिलाई विकास र समृद्धिको अभिन्न अंग बनाएर संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख राज्यप्रणाली निर्माणको गन्तव्य पहिल्याउनु जरुरी छ,’ विज्ञप्तिमा लेखिएको छ ।
प्रतिक्रिया 4