
३ असोज, काठमाडाैं । जेनजी आन्दोलनको बलमा बैतडीको दशरथचन्द नगरपालिकाकी उपमेयर कौशिला चन्दका छोरा विशाल चन्दले अनलाइनखबरकर्मी जनक विष्टलाई धम्की दिएका छन् ।
जेनजीको हवाला दिँदै विष्टलाई अपरिचित नम्बरबाट टेलिफोन गरेर ज्यान मार्ने भन्दै धम्की दिएका हुन् ।
धनगढी उपमहानगरपालिका-५ तारानगरमा बस्दै आएका चन्दले प्रेस चौतारी कैलालीका अध्यक्ष समेत रहेका विष्टलाई अपशब्द प्रयोग गरेर धम्की दिएका हुन् ।
धनगढी उपमहानगरपालिका-१३ का नवराज कार्कीको मोबाइल प्रयोग गरेर विशालसँगै धनगढीकै रिवाज शाहले समेत उनलाई धम्क्याएका छन् ।
जेनजीको हवाला दिँदै धम्की दिएपछि पत्रकार विष्टले सुरक्षा र कानुनी कारबाहीको माग गर्दै तिनै जनाको नाममा जिल्ला प्रहरी कार्यालयमा उजुरी समेत दिएका छन् ।
विष्टका अनुसार २४ भदौको दिन राति घरमा सुतिरहेको अवस्थामा टेलिफोन गर्दै उनीहरूले सुरूमा ‘प्रेस विज्ञप्ति दिनुपर्ने छ भेटौँ’ भनेर कुराकानी गरेका थिए । उनले राति भइसकेको र भोलिपल्ट बिहान भेट्ने भनेपछि तथानाम गाली गर्दै धम्क्याएका थिए ।
विष्टलाई धम्की दिने शाहसहितका युवा धनगढीमा जेनजी आन्दोलनको अग्र मोर्चामा देखिएका छन् । पत्रकार विष्टकाअनुसार धम्की दिने चन्द र शाहसँग उनको दोहोरो चिनजान छैन ।
चिनजान नभएको अवस्थामा गत वैशाख १४ गते धनगढीको पोटली फुड अगाडि अहिले धम्की दिने मध्येका चन्दले विष्टमाथि दुर्व्यवहार गरेका थिए ।
सोही दिन प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । तर मदिरा सेवन गरेको अवस्थामा आफूबाट गल्ती भएको भन्दै माफी मागेपछि मिलापत्र गरेर छाडिएको थियो ।
सोही विषयलाई लिएर जेनजी आन्दोलन भइरहेको मौकामा फेरि पत्रकार विष्टको घर तथा कार्यालयमा आगजनी गर्ने भन्दै धम्की दिएपछि उनले कानुनी कारबाहीको प्रक्रिया अघि बढाएको बताएका छन् ।
प्रतिक्रिया 4