+
+
Shares

जिल्ला अदालतको ६१ वर्षे इतिहास जल्यो, उच्चमा गोरेको मिसिल जोगियो

उच्च अदालत आगजनीमा चर्चित सनम शाक्य हत्या तथा सुन तस्करी प्रकरणका नाइके चुणामणि उप्रेती गोरे सहितको मुद्दाको मिसिल जोगिएको छ ।

हरि अधिकारी हरि अधिकारी
२०८२ असोज ३ गते १५:३७

३ असोज, विराटनगर । जेनजी समूहको आन्दोलनका क्रममा अराजक समूहले आगजनी गर्दा जिल्ला अदालत मोरङको ६१ वर्ष पुरानो इतिहास जलेको छ ।

२०२१ सालमा स्थापना भएको जिल्ला अदालत मोरङ २४ भदौको आगजनीबाट ध्वस्त भएको हो । जिल्ला अदालत मोरङका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार अभिलेख शाखाका १ लाख ४५ हजार बढी मुद्दाका मिसिल जलेका छन् ।

‘हाम्रो अभिलेख शाखामा करिब १ लाख ५० हजार मुद्दाका मिसिल थिए, ४ हजारदेखि ४ हजार ५०० जति मिसिल जोगिएको छ,’ उनले भने, ‘करिब १ लाख ४५ हजार मुद्दा जले ।’

उनका अनुसार विचाराधीन अवस्थाका २ हजार ५०० मुद्दाको मिसिल जोगिएको छ । जिल्लामा ३ हजार ६०० मुद्दा विचाराधीन थिए ।

जिल्ला अदालतको भवन ध्वस्त छ । उनका अनुसार सवारी साधन भएका छेउका कोठाका मिसिलहरू जलेका छन् ।

जिल्ला अदालत परिसरबाट ६२ वटा निजी मोटरसाइकल र स्कुटर जलेका छन् । ५९ वटा मुद्दाको दसीको रूपमा पेस भएको मोटरसाइकल जलेको छ । न्यायधीशका ७ वटा र अदालतको ३ वटा चारपांग्रे गाडी जलेका छन् ।

गोरेको मिसिल जोगियो

अराजक समूहले आगजनी गर्दा उच्च अदालत विराटनगरमा पनि ठूलो क्षति भयो । उच्च अदालत विराटनगर रजिष्ट्रार जगदीशप्रसाद भट्टका अनुसार आगजनी र लुटपाटबाट उच्च अदालतमा १ हजार हाराहारी मुद्दाको मिसिल जोगिएको छ ।

उच्च अदालत आगजनीमा चर्चित सनम शाक्य हत्या प्रकरण तथा सुन तस्करी प्रकरणका नाइके चुणामणि उप्रेती गोरेसहितको मुद्दाको मिसिल पनि जोगिएको छ । उनका अनुसार गोरेको मुद्दा २ वर्षभित्र फैसला गरिसक्ने अभियानको फाटमा थियो ।

‘अभियान फाँटमा ५४७ थान अभियान फाटमा मुद्दा थिए, यी सबै जोगिएका छन्,’ उनले भने, ‘संख्या हेरेका छौं, कुनकुन मद्दा छ भन्ने फाइल हेर्न भ्याएको छैनौं ।

२०८३ असारमा २ वर्ष नाघ्ने मुद्दालाई अभियानमा राखिएको उनले बताए । अभियान फाँटमा आगो नलागेका कारण यी मिसिल सुरक्षित छन् ।

२०४८ सालमा स्थापना भएको उच्च अदालतमा अभियान र इजलासमा रहेका करिब ११ सय हाराहारी मुद्दा जोगिएको भट्टले बताए ।

उनका अनुसार उच्चको अभिलेख शाखामा ६५ हजार मुद्दा थिए । तीमध्ये कुनै मिसिल जलेका छन् ।

उच्च अदालतमा ११ वटा सरकारी गाडी र २ वटा निजी गाडी जलेका थिए । थप निजी मोटरसाइकल पनि जलेको छ ।

लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?