+
+
Shares

अस्करको नेपाल समितिको निर्णयलाई लिएर चर्किएको विवाद के हो ?

निर्णयको २४ घण्टा नबित्दै ‘गुन्युचोलो’का निर्माताले असन्तुष्टि मात्र जनाएनन्, शुक्रबार पत्रकार सम्मेलन गर्दै आइतबारसम्म निर्णय खारेजी नगरे अमेरिकास्थित अस्कर मुख्यालयमा पत्र लेख्ने चेतावनी समेत दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ३ गते १९:५१
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अभिनेता नाजिर हुसेन बायाँ ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालस्थित अस्कर अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले फिल्म 'अञ्जिला'लाई ९८ औं एकेडेमी अवार्ड्सका लागि सिफारिस गर्ने निर्णय गरेको छ।
  • फिल्म 'गुन्युचोलो'का निर्माताले निर्णयलाई त्रुटीपूर्ण भन्दै असन्तुष्टि जनाउँदै अस्कर मुख्यालयमा पत्र लेख्ने चेतावनी दिएका छन्।
  • चलचित्र विकास बोर्डले उजुरीको आधारमा दुबै पक्षलाई छलफलका लागि बोलाएको छ र समितिको निर्णय पुनर्विचार हुने सम्भावना रहेको अध्यक्ष पौडेलले बताए।

काठमाडौं । अस्कर अवार्डको नेपालस्थित ‘अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समिति’को निर्णय विवादित बनेको छ ।

समितिले केही दिनअघि फिल्म ‘अञ्जिला’लाई ९८ औं एकेडेमी अवार्ड्स (अस्कर)को अन्तर्राष्ट्रिय फिचर विधाको लागि नेपालबाट सिफारिस गर्ने निर्णय गरेको थियो ।

छनोट प्रतिस्पर्धाको लागि ‘अञ्जिला’ र ‘गुन्युचोलो’ले आवेदन दिएका थिए । समितिले एन्जिला तुम्बापो सुब्बाको जीवन कथामा आधारित फिल्मलाई उत्कृष्ट ठहर्‍याउँदै छनोट गरेको थियो ।

निर्णयको २४ घण्टा नबित्दै ‘गुन्युचोलो’का निर्माताले असन्तुष्टि मात्र जनाएनन्, शुक्रबार पत्रकार सम्मेलन गर्दै आइतबारसम्म निर्णय खारेजी नगरे अमेरिकास्थित अस्कर मुख्यालयमा पत्र लेख्ने चेतावनी समेत दिए ।

पत्रकार सम्मेलनमा निर्देशक समुन्द्र भट्टले कमिटीको निर्णय त्रुटीपूर्ण रहेको जिकिर गरिन् । कमिटीको कार्यविधि नरहेको बताउँदै उनले एक सदस्य अमेरिकामा रहेर फिल्म समेत नहरेको र अर्का एक सदस्यको भूमिकासँग समितिको निर्णयको स्वार्थ बाझिएको आरोप उनको छ ।

पत्रकार सम्मेलनमा अभिनेता नाजिर हुसेनले पनि समितिका एकजना सदस्यले अमेरिकामा बसेर नेपालबारेको निर्णय गर्नु असंगत रहेको बताए । उनले नेपालको कमिटीको निर्णय गर्न नेपालमै उपस्थित हुनुपर्ने बताए ।

साथै, नेपालको अस्कर कमिटी विघटन गर्नुपर्ने माग पनि गुन्युचोलो निर्माताको छ । ‘गुन्युचोलो’को निर्माता कम्पनी स्काइ ओसन इन्टरटेनमेन्ट प्रालिले ‘त्रुटीपूर्ण निर्णय’लाई सच्याउन आग्रह गर्दै चलचित्र विकास बोर्डमा उजुरी दिएको छ ।

प्राप्त उजुरीको आधारमा बोर्डले दुबै पक्षलाई आइतबार बोलाएको छ । समिति सदस्य बिमल पौडेलले यसबारे शनिबार टिमभित्र छलफल हुने समेत जानकारी दिए ।

समिति अध्यक्ष विमल पौडेल बायाँ र ‘गुन्युचोलो’ निर्देशक समुन्द्र भट्ट ।

अस्कर कमिटी चलचित्र विकास बोर्डको कार्यक्षेत्र भित्र पर्दैन । उक्त कमिटी फिल्मका विभिन्न विधालाई प्रतिनिधित्व गर्ने केही व्यक्तिको नाम पठाएको आधारमा एकेडेमी अफ आर्ट्स एन्ड साइसेन्सजले मान्यता दिने निजी कमिटी मात्र हो ।

यसवर्ष नै रिलिज भएको नेपाली फिल्म ‘राजागञ्ज’का निर्देशक दीपक रौनियार र ‘भूठान’ निर्देशक विनोद पौडेलले पनि अस्कर कमिटीको कार्यशैलीप्रति आपत्ति जनाएका छन् ।

निर्देशक रौनियारले पर्याप्त समय नदिइकनै सुटुक्क निर्णय गरिएको हुनसक्ने बताए । उनले निर्णयको प्रतिवाद गर्न एकेडेमी अवार्डको लस-एन्जलसस्थित मुख्यालयमा पत्रमार्फत गुनासो गरिने बताए ।

‘अस्करलाई लक्षित गरि फिल्म बनाउने निर्माता न्यून छन् । सबैलाई सम्पर्क गरेर आवेदनको लागि आग्रह गर्न सकिन्थ्यो तर त्यसो गरिएन’ उनले भने । ‘भूठान’ निर्देशक पौडेलले पनि लाजमर्दो भनेर टिप्पणी गरेका छन् ।

यसबारे समितिको भनाई के छ ?

विवाद चर्किदै गएमा निर्णयबारे पुनर्विचार गर्ने सकिने सम्भावनातर्फ पनि अध्यक्ष पौडेलले संकेत गरे । ‘हामीले अस्करको मापदण्डभित्र रहेर निर्णय गरेका हौं । असन्तुष्टि आउनु स्वभाविक हो । यसबारे थप छलफल गरेर निष्कर्षमा पुग्न सकिएला’ उनले भने ।

खासगरि, अमेरिकामा रहेका समितिका एकजना सदस्यप्रति अहिलेको आलोचना केन्द्रित छ । अध्यक्ष पौडेलले ती व्यक्ति समितिका सदस्य नरहेको दावी गरे । ‘उहाँ भोटिङ अधिकार भएको सदस्य होइन । सचिवालयको सहयोगी मात्र हुनुहुन्छ । सुरुदेखि नै गर्दै आएकाले उहाँ सहयोगी मात्र हो’ उनले भने ।

समितिको लेटरप्याडमा चाहिँ मञ्जुकुमार श्रेष्ठ, लोकेन्द्र पराजुली, गौतम धिमाल, जीवनकुमार पराजुली र चिरञ्जीवि गुरागाइँलाई छनोट समितिका सदस्यको रुपमा चिनाइएको छ ।

छनोट समिति कसरी गठन हुन्छ ?

एकेडेमी अफ आर्ट्स एन्ड साइन्सेजको मापदण्ड भित्र रहेर गठन हुने सम्बन्धित मुलुकको समितिलाई समिति गठन गर्ने, आवेदन प्रक्रिया संचालन गर्ने र एकेडेमीका नियमलाई पालना गर्ने कार्यमा उत्तरदायी तुल्याइएको छ ।

समितिमा फिल्म निर्माता, समीक्षक, उद्योगका व्यवसायिक व्यक्ति, फिल्म प्राज्ञिक र फेस्टिभल आयोजक सदस्य हुने जनाइएको छ । मापदण्डमा छनोट समितिका सदस्य स्वतन्त्र हुनुपर्ने भन्ने नियम छ । ‘आवेदन दिएका फिल्मसँग सीधारुपमा स्वार्थ बाझिनु हुँदैन’ अस्करको वेबसाइटमा स्पष्टरुपमा उल्लेख छ ।

यसरी गठन भएको समितिले अस्करको मापदण्ड पुगेर आवेदन दिन आएका फिल्मलाई हेरेर निर्णय गर्छन् । आवश्यकताअनुसार सदस्यबीच मतदान पनि हुनसक्नेछ ।

यी सबै कुरा एकेडेमीको अन्तर्राष्ट्रिय फिचर विधाको नियममा संलग्न छ । नियमबारे पढ्न यो लिंकमा क्लिक गर्नूस ।

अस्करमा आवेदन दिन कमिटीको निर्णय अन्तिम भने हुँदैन । कमिटीले सिफारिस नगरेपनि आवेदन दिन सकिने अन्य केही उपाय पनि छन् । अमेरिकी हलमा लगातार ७ दिन प्रदर्शनमा आएको फिल्मलाई अमेरिकी वितरकले सीधै आवेदन दिन सक्ने उपाय पनि छ ।

यो विकल्पबाट विगतमा केही नेपाली फिल्मले पनि आवेदन दिएका थिए । प्रायः भारतीय फिल्मले अमेरिकी वितरकमार्फत नै आवेदन दिन गर्दै आएका छन् ।

एसएस राजामौली निर्देशित दक्षिण भारतीय फिल्म ‘आरआरआर’ भारतको अफिसियल इन्ट्री होइन तर, फिल्मले वितरकमार्फत आवेदन दिएको थियो । सन् २०२३ को अस्करमा यो फिल्मले उत्कृष्ट ओर्जिनल सङ विधामा अस्कर पनि जित्यो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?