+
+
Shares

बुटवलमा औद्योगिक मेला सञ्चालनमा विवाद

एक वर्षदेखि तयारी भएको व्यापार मेलामा उद्योग संघले भांजो हाल्न खोजेको उद्योग व्यापार संघको आरोप छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ४ गते २१:०५

४ असोज, बुटवल । एक वर्षअघिदेखि तयारी थालेको पाँचौँ औद्योगिक प्रदर्शनी तथा व्यापार मेला एवं पर्यटन महोत्सव २०८२ मा भाँजो नहाल्न उद्योग ब्यापार संघ बुटवलले रुपन्देही उद्योग संघलाई आग्रह गरेको छ । उद्योग व्यापार संघले बुटवल मण्डपमा २०८२ पुस ५ देखि १८ गतेसम्म राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा व्यापार मेला आयोजना गर्ने निर्णय गरी गत पुस २१ गते बुटवल उपमहानगरपालिकामा निवेदन दर्ता गरेको थियो ।

संघले पुस २२ गते वृहत पत्रकार सम्मेलन गरी  ब्यापार मेलाबारे जानकारी गराएको थियो ।

यस्तै शहरी विकास मन्त्रालय विशिष्ट संचना सञ्चालन तथा व्यवस्थापन विकास समितिमा मेला आयोजना गर्न स्थानको स्वीकृतिका लागि निवेदन दिएकामा उक्त समितिले बुटवल सभा हल तथा प्रदर्शनी केन्द्र निर्माण कार्यान्वयन इकाईलाई पत्राचार गर्दै पुस ४ अगावै निर्माण कार्य पूरा गरी स्थान दिन निर्देशन गरेको थियो । यी प्रक्रिया पूरा गरेर प्रदेश र संघीय मन्त्रालयहरुमा प्रस्तावना पत्र समेत बुझाई करिब ३० प्रतिशत तयारी पूरा गरेको अवस्थामा रुपन्देही उद्योग संघले मुलुकमा उत्पन्न विषम परिस्थितिमा एक्कासी सोही ठाउँमा पुस ३ देखि औद्योगिक प्रदर्शनी गर्ने भन्दै बोर्ड गाडेपछि उद्योग व्यापार संघले आपत्ति जनाएको छ ।

उद्योग संघले भन्दा १५ दिन अगाडि उद्योग व्यापार संघले मेलाको जानकारी दिने ब्यानर प्रदर्शनीस्थलको गेटको पर्खालमा राखिसकेको थियो ।

आफूले एक वर्षदेखि तयारी गरेको मेलाका सम्बन्धमा महिनौंसम्म सार्वजनिक रुपमा मौन बसेको उद्योग संघले एक्कासी बोर्ड राखेर सरासर गलत काम गरेको उद्योग ब्यापार संघ बुटवलका अध्यक्ष विष्णुप्रसाद पाण्डेले बताए ।

संघले आइतबार पत्रकार सम्मेलन गरी बुटवल उपमहानगरसंग बुटवलका चार व्यवसायिक संस्थाबीच भएको सहमतिलाई रुपन्देही उद्योग संघले तोडमोड गरी एकतर्फी ब्याख्या गरेर बलमिच्याई गरेकाले कदापी स्वीकार्य नहुने अध्यक्ष पाण्डेले स्पष्ट पारे । बुटवलमा उद्योग ब्यापार संघ, बुटवल उद्योग वाणिज्य संघ, रुपन्देही ब्यापार संघ र रुपन्देही  उद्योग संघ अगुवा संस्थाका रुपमा क्रियाशील छन् ।

उद्योग व्यापार संघको मेलालाई दम्भ पालेर अवरोध गर्न कुनै हत्कण्डा नअपनाउन आग्रह गर्दै अध्यक्ष पाण्डेले मेला सञ्चालन गरेरै छाड्ने बताए । यसअघिका तीन वटा मेलामा आफूहरुले तीनवटै संस्थालाई सहयोग गरेको र स्वभाविकरुपमा यसपटक आफ्नो पालो कुरेर बसेकाले कुनै विवाद नगरेको उनले स्पष्ट पारे ।  राजस्व परामर्श समितिमा उद्योग ब्यापार संघ सहित चार वटा संस्थाको समान हैसियतामा सहभागिता हुने गरेको समेत अध्यक्ष पाण्डेले स्पष्ट पारे ।

‘कान्छो संस्था भनेर अवमूल्यन गर्ने दिवासपना नदेख्न आग्रह छ, हाम्रो मेलामा अवरोध भएमा अरुले मेला सञ्चालन गर्न सक्दैनन्,हामी दिंदैनौं’, अध्यक्ष पाण्डेले भने, ‘हामी चार संस्थाबीच सहमतिमै आलोपालोमा पुसको मेला गर्न पाउनुपर्छ भन्ने अडानमा छौं, रुपन्देही उद्योग संघले द्वन्द्व निम्त्याउन खोजेको छ, हामीले द्वन्द्व चाहेका छैनौं, तर निहुँ खोजेर भाँजो हाल्न खोजेमा सशक्त प्रतिवाद गर्छौं ।’

उद्योग ब्यापार संघका संस्थापक अध्यक्ष खिमनारायण पराजुलीले २०७८ पुसमा आफूहरुले देविनगरमा मेला सञ्चालन गर्दा अन्य तीन संस्थाबीच आलोपालोमा विवाद नहोस् भनेर ततीन संस्थाको नाम उल्लेख भएको र आफूहरु आयोजक भएकाले चौथो पालो स्वत: आफूहरुको भएको बताए । बुटवल उद्योग बाणिज्य संघ, रुपन्देही ब्यापार संघ र उद्योग संघले पाएको अधिकार आफूहरुले पनि स्वभाविक रुपमा पाउनुपर्ने भन्दै उनले आफूहरुलाई बाइपास गरेमा औद्योगिक प्रदर्शनी चल्न नसक्ने स्पष्ट पारे । ‘कसैको दम्भले अब काम गर्दैन,सम्हालिन आग्रह छ,हाम्रो संस्था अन्यायमा परेर चुप लागेर बस्दैन’, पराजुलीले भने, ‘हामीले नपाए उहांहरुले पनि पाउनुहुन्न भन्नेमा प्रष्ट हुन जरुरी छ ।’

संघका निवर्तमान अध्यक्ष गोविन्दराज गैरेले उद्योग संघले २०७८ को आफूहरुको मेलामा पनि अवरोध गर्न खोजेको स्मरण गर्दै  कोभिड महामारीका बीच पनि सफलतापूर्वक मेला सम्पन्न गरेको स्मरण गर्दै पुराना संस्थाहरुले दम्भ पालेर षडयन्त्र  नगर्न चेतावनी दिए । ‘हामीले आफ्नो पालोमा सबैभन्दा पहिला उपमहानगरमा निवेदन दर्ता गरेर तयारी गरिसकेकाले जुनसुकै मूल्य चुकाएर पनि हामी पुस ५ देखि मेला सञ्चालन गर्छौं’–‘९ महिनासम्म औद्योगिक प्रदर्शनी बारे कुनै तयारी नगरेको उद्योग संघले मुलुकमा उत्पन्न दुखद र विषम परिस्थितिमा अरुले गर्न खाजेको मेलामा भांजो हाल्न खोज्नुले कदापी राम्रो गर्दैन,यसमा उद्योग संघ सहमतिमा आउनुको विकल्प छैन ।’

 बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले चार संस्थाबीच सहमतिका आधारमा अघि बढ्नुपर्ने बताए । पत्रकार सम्मेलनमा संघका उद्योग उपाध्यक्ष पदम जीसी, महासचिव यमलल मरासिनी लगायतले आफ्ना भनाई राख्दै परिवर्तित समय र सन्दर्भमा उद्योग संघले दादागिरी देखाएमा प्रतिवाद हुने बताए । रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटाले यसअघि ०७८ सालमा चार व्यवसायिक संस्थाहरुबीच बुटवल उपमहानगरमा भएको समझदारीअनुसार आफूहरुले प्रदर्शनी गर्न लागेको बताए । तर संघले यसअघिका प्रदर्शनीको तयारीबारे एक वर्ष अघि नै सार्वजनिक गर्थ्यो । यसपटक संघले अर्को संस्थाको मेलामा भाँजो हाल्न र विवाद निम्त्याउनका लागि मात्रै चार महिनाअघि निर्णय गरेको उद्योग व्यापार संघको बुझाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?