+
+
Shares

दुर्भाग्यवश, अन्तरिम सरकार संविधानसम्मत हुन सकेन : डा. महत

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ५ गते ९:५२

५ असोज, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अहिले बनेको अन्तरिम सरकार संविधानसम्मत् ढंगले बन्न नसकेको टिप्पणी गरेका छन् ।

आइतबार बिहान महाराजगञ्जस्थित आफ्नो जलेको घरमा पत्रकार सम्मेलन आयोजना गर्दै उनले नयाँ सरकारलाई संसदबाटै अनुमोदन गर्न सकिनेमा त्यसो हुन नसकेको बताए ।

‘अन्तरिम सरकार बनेको छ । त्यसलाई संविधानसम्मत बनाउन सकिन्थ्यो । दुर्भाग्यवशः त्यो हुन सकेन । जननिर्वाचित संसदमार्फत नै अनुमोदन गराउन सकिन्थ्यो,’ उनले भने ।

उनले हालको घटनाक्रमलाई लोकतान्त्रिक व्यवस्थामाथिको आक्रमणको रूपमा व्याख्या गरे । ‘हामीले संस्थागत गर्न कोसिस गरिरहेको हाम्रो व्यवस्थामाथि नै आक्रमण भयो,’ महतले भने, ‘अवश्य पनि यो शासनको क्रममा पार्टीहरूबाट कमीकमजोरी भएका छन् । त्यसमा दुई मत छैन । तर ती नेतृत्वबाट भएका कमजोरीलाई कानुनसम्मत ढंगले, पार्टीको विधान र राज्यको विधान र कानुनमार्फत नै समाधान खोज्नुपर्छ । त्योभन्दा अर्को माध्यमबाट न्याय सम्भव छैन ।’

लोकतान्त्रिक संवैधानिक व्यवस्थामै उभिएर मात्र सुधार सम्भव हुने उल्लेख गर्दै उनले भने, ‘त्यसरी नै हामीले भएका कमीकमजोरी हटाउन सक्छौं, सुशासन सुनिश्चित गर्न सक्छौं ।’

उनले नवयुवा पुस्ताले लोकतान्त्रिक मूल्य मान्यतामा विश्वास गर्ने भएकाले अस्वाभाविक घटनामाग्रि रहेका लोकतन्त्रविरोधी प्रवृत्ति चाँडै बाहिर आउने विश्वास व्यक्त गरे ।

‘भावनाबाट बगेर होइन, तहमा गएर सत्यतथ्य पत्ता लगाउनुपर्छ । गम्भीर छानबिन हुनुपर्छ र दोषीमाथि कारबाही हुनुपर्छ,’ महतले जोड दिए ।

आगामी दिनमा लोकतान्त्रिक मूल्य मान्यतामाथि हुने आक्रमण रोक्नु सबैको जिम्मेवारी हुने उल्लेख गर्दै उनले सुशासन र भ्रष्टाचारमुक्त समाज निर्माण गर्न सकिने दाबी गरे ।

‘दलमा लागेका सबै भ्रष्ट हुन् भन्ने भाष्य गलत हो । गलत छन् भने कानुनसम्मत कारबाही हुनुपर्छ । तर देश र जनताको निरन्तर सेवा गर्ने पनि धेरै छन्,’ उनले भने ।

उनले थपे, ‘कसैले तोकेर होइन, जनताले नै नेताको मूल्यांकन गर्छन् । संसारभरि प्रचलित सबैभन्दा उत्तम पद्धति भनेकै यही हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?