+
+
Shares

जेनजी आन्दोलनमा सरकारको दमन गलत छ : प्रकाशशरण महत

नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले भदौ २३ गतेको जेनजी आन्दोलनको क्रममा राज्यसत्ताको तर्फबाट भएको दमन गलत भएको बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १६ गते १६:२५

१६ पुस, काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले भदौ २३ गतेको जेनजी आन्दोलनको क्रममा राज्यसत्ताको तर्फबाट भएको दमन गलत भएको बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघद्वारा आयोजना गरेको ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक सर्वपक्षीय राष्ट्रिय संवाद कार्यक्रमलाई सम्बोधन गर्दै महतले यस्तो बताएका हुन् ।

‘विधिको शासन, जनअनुमोदित सरकार र स्वतन्त्र अदालत लोकतान्त्रिक व्यवस्थामा परिकल्पना गरिएको छ । यसलाई हामीले स्वीकार नगर्दा समस्या आइरहन्छ । शान्ति खलबलिन्छ । स्थायीत्वको बाटो अवरुद्ध हुन्छ,’ उनले भने, ‘०४६ पछि हामीले एउटा व्यवस्था ल्यायौँ । ०६२/०६३ बाट अर्को सरकार बन्यो शान्ति स्थायीत्व हुन सकेन । फेरि भदौमा २३ मा अर्को घटना घट्यो । असन्तुष्टिहरूलाई शान्तिपूर्ण तरिकाले प्रकट गर्ने र सरकारले पनि शान्तिपूर्ण तरिकाले सम्बोधन गर्न सकेन भने यस्तो अवस्था आउँछ । सुशासनको लागि आन्दोलन जायज छ तर, सरकारको तर्फबाट भएको दमन गलत छ । दोस्रो दिन जे भयो त्यो पनि गलत छ।’

उनले जेनजी आन्दोलनका कारण देशको दुई आर्थिक वर्षको बजेटजत्तिकै क्षति भएको विवरणहरू आएको पनि सुनाए ।

‘जेनजी आन्दोलनका कारण जुनखाले असर देशलाई भयो अन्तर्राष्ट्रिय इस्टिमेटअनुसार हाम्रो २ वर्षको बजेटबराबरको खर्च भएको भनिएको छ । ठूलो पुँजी पलायन भको छ- नेपालकै पुँजी । यहीँकै पुँजी भयानाक पलायन भएको छ’ उनले भने ।

महतले पुराना दलहरूले पनि कमीकमजोरी गरेको बताए । ‘राना दलले कमीकमजोरी भएको छ । यसलाई आत्मसात गर्नुपर्छ सुधार गर्नुपर्छ दुई मत नै छैन,’ उनले भने, ‘हामीले प्रोटेस्ट गर्ने तरिकालाई पनि ध्यान दिनुपर्छ । आन्दोलनको विषयमा सरकारी संयन्त्र पनि फेल भयो । जुन आन्दोलन गर्‍यौँ भन्नेहरू हुनुहुन्छ उहाँहरू पनि अनुशासनमा बस्न सक्नु भएन। अनुशासन नहुँदा यस्तो घटना फेरि दोहोरिन्छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?