+
+
Shares

पार्टीमा आत्मनिन्दाको प्रवृत्ति बढ्यो, सबैले कमजोरी स्वीकारौं : प्रवक्ता महत

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १२ गते १४:२१

१२ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले पार्टीभित्र आत्मनिन्दाको प्रवृत्ति बढेको भन्दै सबै मिलेर त्यसलाई सुधार गर्न आवश्यक भएको बताएका छन् ।

आत्मनिन्दाको प्रवृत्तिले पार्टीलाई कमजोर बनाएको उल्लेख गर्दै उनले त्यसमाथि आत्मसमीक्षा गर्न जरुरी रहेको बताए ।

वीपी चिन्तन प्रतिष्ठानको आयोजनामा वर्तमान राजनीतिक विषयमा केन्द्रित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘आत्मनिन्दाको प्रक्रिया नेपाली कांग्रेसभित्र यति ज्यादा घनिभूत छ कि जोसुकैले ठिक गरेपनि यसले बेठिक नै गरेको छ । यसले पार्टीलाई कमजोर बनाएको छ । यसलाई आत्मसमीक्षा गरौं,’ महतले भनेका छन् ।

सुशासनको पक्षमा उभिन कति आत्मबल चाहिन्छ, कति कठिनाइ हुन्छ भन्ने आफैंले स्वयं अनुभव गरेको पनि उनले बताए ।

‘राजनीतिमा सबै खत्तम हुन्, सबै बदमास हुन भन्ने प्रवृत्ति जुन बनेको छ, नकारात्मक भाष्य जबरजस्त ढंगबाट सामाजिक सञ्जालबाट ढंगबाट सम्प्रेषित गर्ने प्रवृत्ति बनेको छ । त्यो भाष्यलाई नेपाली कांग्रेसका नेता कार्यकर्ताले त्यसको प्रफोर्सनभन्दा ज्यादा ठानेका छन्,’ उनले भनेका छन्, ‘जति कमीकमजोरी हो त्यो भन्दा ज्यादा भयो भनेर सबैभन्दा आत्मनिन्दा सबैभन्दा बढी नेपाली कांग्रेससँग छ । त्यो आत्मनिन्दाका कारणले नेपाली कांग्रेसजनको आत्मवल कमजोर भएको छ । कमी कमजोरी भएको छ । त्यसलाई सुधार गर्न आवश्यक छ । सुशासनको पक्षमा हामी सबै ठोस रुपमा उभिनुपर्छ ।’

उनले यसबारे समीक्षा गर्नका लागि आफूलाई कुनै हिचकिच नभएको पनि बताए ।

उनले बल्लतल्ल बसेको महासमिति बैठकमा समेत ०८४ को गठबन्धनबारे बहस हुँदा तत्कालिन अवस्थामा माओवादीले एमालेसँग गठबन्धन गर्न पुगेको समेत जिकिर गरे ।

‘महासमितिको बैठक त्यतिका वर्षपछि बल्ल बसेको थियो । हाम्रो सम्पूर्ण बहस ०८४ मा गठबन्धन गर्ने कि नगर्ने भनेर बहस केन्द्रित भयो । त्यो बहस त ०८४ मा गर्न सकिन्थ्यो । अर्को निर्णय गर्न सकिन्थ्यो,’ उनले भने, ‘त्यही कारण देखाएर प्रचण्डले कांग्रेसले गर्दैन भनेर ओलीसँग मिले । त्यसको परिणाम हामीसमेत ओलीसँग मिलेर सरकार बनाउनुपर्ने अवस्थामा पुग्यौं । अरु विषयमा छलफल नै भएन । त्यो त्यतिबेला बहस गर्नुपर्ने विषय नै थिएन । आवश्यकता नै थिएन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?