+
+
Shares

एक महिनापछि खुल्यो अरनिको राजमार्ग

बाह्रबिसे–कोदारी खण्डको विभिन्न पाँच ठाउँमा खसेको पहिरो हटाएर अरनिको राजमार्ग खुलाइएको छ । अब ग्राभेल गरेर सवारी साधन सञ्चालनमा ल्याउने तयारी छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ६ गते ७:१९

६ असोज, काठमाडौं । पहिरोका कारण एक महिनादेखि पूर्णरुपमा अवरुद्ध अरनिको राजमार्गको ट्र्याक खुलेको छ । बाह्रबिसे–कोदारी खण्डको विभिन्न पाँच ठाउँमा खसेको पहिरो हटाएर छिमेकी चीनसँग जोडिएको नेपालको उत्तरी नाकाको ट्र्याक खोलिएको हो ।

तर सवारी साधन अझै सञ्चालनमा आइसकेका छैनन् । सडक डिभिजन कार्यालय चरिकोटका प्रमुख नारायणदत्त भण्डारीले आइतबार सबै पहिरो पन्छाइसकिएकाले सोमबार ग्राभेल गर्ने र त्यसपछि मात्र सवारी साधन सञ्चालनमा ल्याइने बताए ।

‘एक महिनादेखि अवरुद्ध बाह्रबिसे–कोदारी सडकखण्डको ट्र्याक आइतबारबाट पूर्णरुपमा खुलेको छ,’ सडक डिभिजन कार्यालय चरिकोटका प्रमुख भण्डारीले भने, भोलिबाट ग्राभेल गरेपछि सवारी साधन सञ्चालनमा ल्याइने छ ।’

उनका अनुसार डाक्लाङ क्षेत्रमा तीन वटा पहिरो, घट्टेखोलामा एउटा र कोदारी खण्डमा एउटा गरी पाँच ठाउँमा पहिरो खसेको थियो । पहिरो पन्छाउन सडक डिभिजन कार्यालय चरिकोटले इलेक्ट्रो हाइड्रोको समेत सहयोगमा तीन वटा एस्काभेटर, ३ वटा लोडर, १३ वटा टिपर र ४० जना मजदुर खटाइएको थियो ।

सडक डिभिजन कार्यालय चरिकोटले बीचबीचमा खुलाउने प्रयास गरे पनि पानी पर्नासाथ लेदो–ढुंगा मिश्रित पहिरोले गर्दा पछिल्लो समय भदौ ८ गतेदेखि ठप्प भएको थियो । बाटो बन्द हुँदा स्थानीयसँगै चीन–नेपाल व्यापारसमेत प्रभावित भएको थियो ।

सडक खुलाउन पटक–पटक पहिरो पन्छाउनुपर्ने हुँदा पहिरोले लेदो बग्ने र जमिन चर्किएर पहिरो माथिको करिब दुई सय घर धुरी जोखिममा परेका थिए । स्थानीयले समस्याको दीर्घकालीन समाधान नगरी पहिरो नहटाउन भनेपछि काम रोकिएको थियो ।

अन्तरिम चुनावी सरकारमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका कुलमान घिसिङले सरोकारवालाको बैठक बोलाएर बाटो खुलाउने कामलाई तीव्रता दिन निर्देशन दिएका थिए ।

सो निर्देशनपछि असोज ३ गते तातोपानी भन्सार कार्यालयमा बसेको सर्वपक्षीय बैठकमा स्थानीयको माग सम्बोधन गर्ने र स्थानीयले पहिरो हटाउन अवरोध नगर्ने सहमति भएको थियो । पहिरोको दीर्घकालीन समाधानका लागि कात्तिक मसान्तमा ठेक्काको सूचना निकाल्ने र असार मसान्तसम्मभित्र काम सुरु गर्ने सहमति भएको छ ।

सो सहमतिसँगै सडक डिभिजन कार्यालयले ७ दिनभित्र सडक खुलाउने लक्ष्यअनुसार कामलाई तीव्रता दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?