+
+
Shares

महामन्त्रीद्वय लक्षित महतको आरोप- सभापतिको आलो घाउमा नुन छरिरहेछन्

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ५ गते १०:०८

५ असोज, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टी सभापति शेरबहादुर देउवामाथि सांघातिक आक्रमण भएको बेला नेतृत्व परिवर्तनको कुरा गर्नु गलत हुने टिप्पणी गरेका छन् ।

आइतबार बिहान महाराजगञ्जस्थित आफ्नो जलेको घरमा पत्रकार सम्मेलन आयोजना गर्दै उनले सांघातिक हमलाबाट सभापति देउवाको घाउ निको नभइसकेको अवस्थामा नेतृत्व परिवर्तनको बहस गरेर नुन छर्ने काम गरिएको आरोप लगाए ।

‘कांग्रेसभित्र पनि विभिन्न खाले बहस भइरहेको छ । हाम्रो पार्टी सभापति जसले लोकतन्त्रका लागि लामो संघर्ष गर्नुभएको छ, उहाँमाथि यस्तो त्रासदीपूर्ण आक्रमण भयो । अझै उहाँ उपचारको पूर्ण अवस्थामा पुग्नुभएको छैन । त्यस्तो बेला संवेदनशील हुन नसक्नु दुर्भाग्यपूर्ण कुरा हो,’ महतले भने ।

उनले पार्टीले यसप्रकारका आक्रमणको भर्त्सना र निन्दा गरिसकेको भन्दै अहिले आन्तरिक विवादमा भन्दा एकतामा जोड दिनुपर्ने बताए । ‘हाम्रो पार्टीभित्र अहिले जुन बहस भइरहेको छ, त्यो आलो घाउ ठिक नहुँदै सुरु भएको छ । त्यसप्रति हामी गम्भीर हुनुपर्छ,’ उनले भने ।

महतले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नाम नलिइकनै नेतृत्व परिवर्तनको बहस अगाडि बढाएको असन्तुष्टि व्यक्त गरेका छन् ।

महामन्त्रीद्वय थापा र शर्मासँगै केही नेताहरूले पार्टीको नेतृत्व बदलेर जेन-जी आन्दोलनको चाहनाअनुसार पार्टी पुनर्संरचना गरेर अगाडि बढ्नुपर्ने बताउँदै आएका छन् ।

नेता महतले अहिले कांग्रेस एक भएर अघि बढ्ने समय रहेको भन्दै विभाजनकारी प्रवृत्ति गलत भएको टिप्पणी गरे । ‘अहिले एक हुने बेला हो । एक भएर आफ्ना कमीकमजोरी हटाउँदै बलियो पार्टीका रूपमा अघि बढ्नुपर्छ । तर घाउ लागेको बेलामा घाउमा नुन छर्ने प्रवृत्ति गलत हो,’ उनले भने ।

‘चार दिनअघिसम्म सभापति अत्यन्तै ठिक हुनुहुन्थ्यो, उहाँहरूसँग निकटता देखाउनेहरू नै अहिले प्रश्न उठाइरहनुभएको छ । तत्काल नेतृत्व परिवर्तनको कुरा गर्नेहरू त्यतिबेला सबैभन्दा नजिकका साथीहरू हुनुहुन्थ्यो,’ महतले भने ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीको शैली ठिक बाटोमा नभएको भन्दै त्यसबारे कांग्रेसले आलोचना गर्दै आएको स्मरण गरे । ‘हामीले कतिपय कुरा ठिक छैन भनेर पहिले नै भनिरहेका थियौं । तर अहिले नयाँ परिस्थिति बनेको छ भनेर तत्कालै नेतृत्व फेर्नुपर्ने कुरा गर्नु उचित होइन । अभिभावकमाथि सांघातिक प्रहार हुँदा कम्तीमा उपचार पूरा हुन त पर्खनैपर्छ,’ उनले स्पष्ट पारे ।

यो पद्धतिबाट कोही बाहिर जान नसक्ने र नवपुस्ताले पनि यही चाहेको कांग्रेसको निष्कर्ष रहेको उले बताए । ‘हामी केही दिन पर्खन सक्दैनौं ? आकाश झरिहाल्छ ? अवश्य पनि हामी पार्टीभित्र मन्थन गर्छौं नि !, पार्टीका संरचनाहरू छन् । त्यहाँ गम्भीर छलफल गर्छौं,’ उनले थपे ।

यो घटना किन घट्यो ? त्यसको हामी मूल्याङ्कन गर्ने बताउँदै उनले भने, ‘सुध्रिनुपर्नेछ, हामी सुधार पनि गर्छौं तर, यसको लागि पनि नपर्खने, र कार्यसम्पादन समितिबाट भएको आधिकारिक निर्णयभन्दा छुट्टै जिम्मेवार साथीहरूले अर्कै बहस थाल्ने ? यसले हाम्रो पार्टीलाई मजबुद पनि गर्दैन ।’

अहिले देशमा लोकतन्त्रविरोधी र यो देशलाई कमजोर गर्ने चाहने प्रवृत्ति आएको दाबी गर्दै उनले निरन्तर देशलाई अस्थिरतातर्फ धकेल्न चाहने प्रवृत्तिहरूलाई यसले मद्दत पुगेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?