+
+
Shares

सुशासन र समृद्धिका लागि स्वजागरण क्रान्ति

नेपालका आन्दोलनहरूले हामीलाई एउटा ठूलो पाठ सिकाएका छन्। बाहिरी कानुनले मात्र समाजलाई बाँध्न सक्दैन। वास्तविक अनुशासन तब सम्भव हुन्छ जब मानिस भित्रै विवेकको कानुनमा बाँधिन्छ।

अनिता निरौला/सुसना शर्मा अनिता निरौला/सुसना शर्मा
२०८२ असोज ५ गते १२:२८

नेपालको राजनीतिक इतिहास असंख्य आन्दोलन र क्रान्तिहरूले भरिएको छ। २००७ सालको प्रजातान्त्रिक आन्दोलनदेखि २०४६ सालको जनआन्दोलन, २०६२/६३ सालको जनआन्दोलन हुँदै हालसम्म, जनताले बारम्बार सडकमा उत्रिएर परिवर्तनको माग गरेका छन्।

प्रत्येक आन्दोलनले नागरिकलाई नयाँ आशा दिएको थियो -अब देशमा स्थायी शान्ति, सुशासन र समृद्धि आउँछ। तर वास्तविकता भने फरक रह्यो।

व्यवस्था फेरियो, शासक बदलिए, नयाँ संविधान बन्यो, तर जनताले सोचेअनुसारको प्रतिफल प्राप्त गर्न सकेनन्। पछिल्लो समयमा सूचना प्रविधिको विकास सँगै राज्यबाट जनताले प्राप्त गर्ने सेवा नवीनतम प्रविधियुक्त छिटोछरितो र पारदर्शी रुपमा हुनुपर्ने र सबै तह र किसिमका भ्रष्टाचारको अन्त्य भई जनताले सुशासनको अनुभूति गर्न पाउनुपर्ने जनअपेक्षा अति नै जायज हो।

तथापि भ्रष्टाचार नियन्त्रण र सुशासन सरकारको नारामा बढी काममा छिटफुटमात्र देखिनु र आम जनतामा चुलिएको चरम निराशाले पछिल्लो जेनजी विद्रोह हुनपुग्यो ।

शान्तिपूर्ण रुपमा शुरु गरिएको विद्रोहमा विभिन्न स्वार्थ समूहहरु समेतले खेल्ने मौका पाए र ठूलो जनधनको क्षतिको हामी सबै साक्षी बन्न पुग्यौं ।

पछिल्लो जेनजी विद्रोह र त्यसपछि विकसित राजनीतिक सामाजिक आर्थिक परिस्थितिमा सबै क्षेत्रमा बहस शुरु भएको छ कि अब सबै नेपाली जनताले अनुभूति गर्ने गरी सबै तह र किसिमका भ्रष्टाचार र बेथितिको अन्त्य र सुशासनको प्रत्याभूति हुनैपर्छ ।

यसका लागि राजनीतिक दलहरु राजनीतिक प्रणाली, सार्वजनिक प्रशासन, निजी क्षेत्र, गैरसरकारी क्षेत्र, आमसंचार क्षेत्र, नागरिक समाज, जेनजी पुस्ता र आम नागरिक सबै स्तरमा व्यापक रुपान्तरणको आवश्यकता देखिएको छ ।

शासकीय प्रणाली र प्रवृत्ति सुधारका बहस र खाकाहरुले संचारमाध्यम सामाजिक सञ्जालहरु भरिएका छन् ।

यही अन्यौलताको परिप्रेक्ष्यमा भारतका प्रखर आध्यात्मिक नेतृत्वकर्ता, लेखक तथा जलवायु परिवर्तन अभियन्ता आचार्य प्रशान्तले भर्खरै प्रस्तुत गरेको ‘जलता नेपाल, क्यों विफल हो जाती क्रान्ति’ भन्ने युट्युब पोडकास्ट अत्यन्त सान्दर्भिक लाग्छ।

उनले फ्रान्स, स्पेन, अमेरिका र अरब क्रान्तिको उदाहरण प्रस्तुत गर्दै, बाहिरी आन्दोलन र युद्धहरूले केही परिवर्तन अवश्य ल्याए तर अपेक्षित गहिरो रुपान्तरण भने भएन भन्ने कुरा स्पष्ट पारेका छन् । उनको भनाइमा, हामीले बाहिरी संरचना र व्यवस्थामात्र बदल्ने प्रयास गर्छौं, तर भित्रको रुपान्तरणलाई बेवास्ता गर्छौं। यसै कारण, नेपालमा पनि पटक–पटक क्रान्ति भए तापनि जनताले अपेक्षाकृत जीवनस्तर, सुशासन र आत्मसम्मान अझै प्राप्त गर्न सकेका छैनन्।

उनले भनेको महत्वपूर्ण कुरा के हो भने, पहिलो क्रान्ति आत्मज्ञानका लागि हुनुपर्ने थियो। शिक्षालाई अध्यात्मसँग जोड्न सकिएको भए, आज हाम्रो समाज आत्मपरिवर्तनतर्फ बढी उन्मुख हुने थियो। तर, दुर्भाग्यवश, आधुनिक शिक्षा प्रणालीले आत्मज्ञानलाई बेवास्ता गर्यो, जसका कारण हामी बाहिरी परिवर्तनमा मात्रै अड्कियौं।

भित्रबाट स्वतन्त्र नभएसम्म क्रान्तिले दिगोपन ल्याउन सक्दैन। बाहिरी स्वतन्त्रता पनि आत्मज्ञान विना प्रायः दुरुपयोगमा जान्छ। यही कारण नेपालमा आन्दोलनहरू बारम्बार भएको भए पनि दिगो र स्थायी परिणाम देखिँदैन।

क्रान्तिको प्रारम्भमा ऊर्जा र साहस भरपूर हुन्छ। सडकमा नारा गुञ्जन्छन्, सहिदहरूको बलिदानले व्यवस्था बदलिन्छ। तर त्यसपछि प्रश्न उब्जिन्छ ; अब के गर्ने? आन्दोलनको उर्जा व्यर्थ जानु हुँदैन, यसको प्रतिफल देखिनु पर्छ। आचार्य प्रशान्तले औंल्याएझैँ, बाहिरी स्वतन्त्रताले मात्र समाजलाई सुधार्दैन। आत्मपरिवर्तन र आत्मसमीक्षाको अभ्यास नगरी आन्दोलन अपुरो रहन्छ।

आन्दोलन बाहिर हुन्छ, तर अन्तिम क्रान्ति भित्रै हुन्छ। सत्यताको खोजी, आत्मसमीक्षा, उर्जाध्यान र दिव्य नवव्रतको अभ्यासमार्फत जब व्यक्ति रुपान्तरित हुन्छ, व्यक्ति व्यक्तिको रुपान्तरणले समाज र राष्ट्रले दीगो रुपान्तरण पाउँछ

नेपालको पछिल्लो आन्दोलनमा विशेष गरी युवा पुस्ताले असन्तोष प्रकट गरेका छन्। उनीहरूलाई विद्यमान भ्रष्टाचार, असमानता र असक्षमता अस्वीकार्य छ।

पुराना संरचना र प्रणालीले अब काम गर्दैनन् भन्ने स्पष्ट सन्देश युवाहरूले दिन थालेका छन्। तर प्रश्न छ, के यही उर्जा दीर्घकालीन रुपान्तरणमा परिणत हुन्छ ? वा यो पनि विगतका क्रान्तिहरूझैँ क्षणिक उत्साहमै सीमित हुन्छ? यही प्रश्नले हामीलाई आत्मज्ञान र स्वजागरणको दिशातर्फ उन्मुख गराउँछ र गराउनुपर्दछ।

अध्यात्मको दृष्टिमा, आत्म जागरण वा स्वजागरण नै त्यो विधि हो जसले व्यक्तिलाई आफैंभित्र क्रान्ति गर्न सक्षम बनाउँछ।

स्वजागरण भनेको केवल व्यक्तिगत अभ्यास मात्र होइन, सामूहिक जीवनलाई सुधार्ने बाटो पनि हो। यसले व्यक्तिलाई आफ्नो ऊर्जा चिन्न र विवेकपूर्वक प्रयोग गर्न सक्षम बनाउँछ।

बाहिरी विषयवस्तुको आलोचना गर्न सजिलो हुन्छ, तर आफैंलाई नियाल्न र सुधार्न कठिन हुन्छ। तर जबसम्म यो अभ्यास सुरु हुँदैन, तबसम्म बाहिरी परिवर्तनले स्थायी परिणाम ल्याउन सक्दैन।

जनप्रिय आध्यात्मिक गुरु ओशो रजनिशले शिक्षामा क्रान्ति, शिक्षामा नयाँ प्रयोग लगायतका दर्जनौं प्रवचनहरुमा भनेका छन् ,’शान्ति परिवर्तन रुपान्तरण व्यक्तित्व र प्रवृत्तिमा आमूल परिवर्तनको एउटै मात्र सूत्र वा मार्ग जागरण हो।’ उनकाका अनुसार संसारमा एउटै मात्र धर्म र क्रान्ति छ भने त्यो हो जागरणको । शिक्षा अनुशासित बनाउनका लागि होइन आत्मविवेक प्रदान गर्नका लागि हो आत्मविवेकबाट फलित हुने अनुशासन मात्र शुभ र मंगलदायी हुनसक्छ । किनभने यस्तो अनुशासनलाई कसैले शोषण गर्न सक्दैन । शिद्धपुरुष खप्तड बाबाका अनुसार जो आत्मविजय गर्छ उसका लागि सर्ववस्तु सुलभ हुन जान्छ ।

आत्मज्ञानी महापुरुष शिवपुरी बाबाले भनेका छन् ‘आध्यात्मिक अनुशासनले मात्र शान्ति दिन्छ यो नासवान् हुँदैन स्थायी हुन्छ” । शिवपुरी बाबाका अनुसार आदर्श राज्य (रामराज्य) को कल्पना पहिले आफ्नो मनमा पलाउनुपर्छ अनि मात्र त्यो नागरिक सद्गुणका रुपमा पल्लवित हुनसक्छ । आन्तरिक सुधारले नै स्वभावत: बाह्य सुधार गर्नसक्छ । स्वजागरण वा आत्मजागरण व्यक्ति व्यक्तिबाट शुरु भएर परिवार, समाज, समूह, संस्था हुँदै राष्ट्र र विश्व मानव समुदायसम्म फैलिन्छ। व्यक्ति व्यक्तिको आत्मजागरणको सामूहिक रुप नै सृजनशीलता, नवप्रवर्तन, पारदर्शिता, जवाफदेहिता, आर्थिक समृद्धि र सुशासनको रुपमा देखिन्छ ।

अब भविष्यमा यस्ता बाहिरी आन्दोलन र विद्रोह गर्नै नपर्ने अवस्था सृजना गर्न तत्काल शुरु गर्नुपर्छ “स्वजागरणको क्रान्ति” । स्वजागरणको क्रान्तिले मानिस भएर जन्मनुको बास्तविक अर्थ वोध गराउँछ । व्यक्ति, परिवार, समाज र राष्ट्रमा शान्ति बढाउँछ भने बाहिर समृद्धिको मार्गप्रशस्त गर्दछ ।

स्वजागरणको क्रान्तिले कसैको तन, मन,धन जलाउँदैन बरु जलेको तन मन धनमा मलमपट्टी गर्दछ । स्वजागरणको प्रारम्भिक अभ्यास उर्जाध्यान बाट सुरु गर्न सकिन्छ। योग, प्राणायाम र ध्यानमार्फत आफ्नो मनलाई पुनः स्व–केन्द्रमा फर्काउने यो अभ्यासले व्यक्तिलाई आन्तरिक शान्ति, स्थिरता र आत्मअवलोकनतर्फ लैजान्छ।

बाहिरी संसारको उथलपुथलसँगै आफ्नै मनको विद्रोहलाई नियाल्ने क्षमता विकास गर्छ। जब व्यक्ति आफ्नो कमजोरीलाई स्वीकार गरेर सुधार्ने बाटोमा लाग्छ, त्यतिबेलामात्र समाजमा पनि रुपान्तरण सम्भव हुन्छ।

यद्यपि स्वजागरण केवल ध्यानमै सीमित छैन। यसले व्यक्ति र समाजमा गुणहरूको विकासमा पनि जोड दिन्छ। जीवन विज्ञान प्रतिष्ठानका गुरुहरू एल. पी भानु शर्मा र रमेश नेपालले प्रस्ताव गरेको दिव्य नवव्रत यसैको उदाहरण हो।

दिव्य नवव्रतमा पहिलो हो सत्यता, दोस्रो स्वाध्याय, तेस्रो निरहंकारिता, चौथो क्षमाशीलता, पाँचौं सर्वकल्याणभाव, छैटौं सेवाभाव, सातौं मधुर वाणी, आठौं लक्षसँग एकाकार र नवौं मुमुक्षा पर्दछन् ।

दिव्य नवव्रत अबको नयाँ नेपाल निर्माणको जग हुनुपर्दछ । स्वजागरणको अभ्यासले हरेक व्यक्तिमा रहेका सत्व, रज र तम गुण र तिनको जीवनमा प्रभाव बुझ्ने तथा तिनलाई उपयुक्त समयमा उपयुक्त तरिकाले उपयोग गर्न व्यक्तिलाई सक्षमा बनाउँछ ।

आजका जेन्जी पुस्ता र सोभन्दा पछिका पुस्ताहरुले खोज्ने पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न राज्य सक्षम हुनेछ । यो नै हामी सबै नेपालीको भविष्य हो र यहि बाटोले मात्र नेपाललाई स्थायी शान्ति, सुशासन र समृद्धितर्फ अघि बढाउन सक्छ।

सत्यम, शिवम् र सुन्दरम् सत्यलाई जान्ने, बहुजन हितको लागि कर्म गर्ने र कर्म एवं गुणमा निरन्तर सुधार गर्दै लैजाने यी दिव्य नवव्रतका सूत्रहरुले भगवान वुद्धको अष्टाङ्गिक आर्यमार्ग, महर्षि पतञ्जलीका अष्टाङ्गयोग र श्रीमद्भगवतगीताका ज्ञान, कर्म र भक्तियोगका सूत्रहरुलाई एकसाथ आत्मसात गर्दछन्।

जब समाजको सबै क्षेत्रमा रहेका नेतृत्व तहबाट सुरु गरेर व्यक्तिले जीवन उर्जालाई पहिचान र परिचालन गर्दै स्वजागरणको यात्रा तय गर्छ तब लोकतन्त्रका मूलभूत आधारस्तम्भहरु सहभागिता, पारदर्शिता, जवाफदेहिता र सुशासन सुनिश्चित गर्नसक्ने गुणहरु विकास हुन्छन् ।

स्वजागरण यस्तो हतियार हो जसले भत्काउने र बनाउने काम एकैपटक गर्ने सामर्थ्य राख्दछ । व्यक्तिका मनका विकृतिहरुलाई काट्दै सबैलाई सहभागी गराउने समस्या समाधान गर्ने कहिल्यै नास नहुने अनुशासनमा सबैलाई आवद्ध गर्दछ । जसबाट समाजमा सुशासन सम्भव हुन्छ ।

नेपालका आन्दोलनहरूले हामीलाई एउटा ठूलो पाठ सिकाएका छन्। बाहिरी कानुनले मात्र समाजलाई बाँध्न सक्दैन। वास्तविक अनुशासन तब सम्भव हुन्छ जब मानिस भित्रै विवेकको कानुनमा बाँधिन्छ। त्यसैले सत्यताको खोजीका लागि शिक्षा प्रणालीमै नैतिकता, आत्मसमिक्षा र ध्यान अभ्यासलाई अनिवार्य बनाउनुपर्छ। विद्यालयदेखि विश्वविद्यालयसम्म, नागरिक शिक्षा र राजनीतिक प्रशिक्षणसम्म, स्वजागरणलाई समाहित नगरेसम्म मुलुकले अपेक्षित रूपान्तरण पाउँदैन।

यस सन्दर्भमा आजसम्म विकसित सबै आध्यात्मिक दृष्टिकोणहरु साँचो स्वतन्त्रता आत्मज्ञानबाट सुरु हुन्छ भन्ने कुरामा एकमत देखिन्छन् ।

जब व्यक्तिले आफ्ना विचार र भावहरुको सुक्ष्म अध्ययन गर्छ, आफूभित्र रहेका सबै क्लेशलाई हटाउन र लोभ, मोह र अहंकारलाई अरुको उपकारमा प्रयोग गर्न थाल्छ।

यसैबाट व्यक्ति सत्यको निकट पुग्दछ वा सत्यसँग एकाकार गर्दछ र समाजमा योगदान गर्न सक्षम हुन्छ। यसका लागि राजनीतिक घोषणापत्रहरूले पनि केवल संरचना परिवर्तनको वाचा गरेर पुग्दैन।

नेताहरू आफैंले आत्मसमीक्षा र विवेकको अभ्यास गर्नुपर्छ। सार्वजनिक प्रशासनमा रहेका सबैले स्वजागरणको क्रान्तिलाई अन्तर्हृदयबाट आत्मसात गर्नुपर्छ । युवाहरूमा रहेको असीम शक्ति पनि यही दिशातर्फ मोडिनुपर्छ। आन्दोलन र विद्रोहमा उत्रिने उर्जा आत्मपरिवर्तनमा प्रयोग हुन सके मात्र देशलाई स्थायी शान्ति र समृद्धितर्फ लैजान सकिन्छ।

आज नेपालको अवस्था असमञ्जसपूर्ण छ। आन्दोलनको चक्र छ, तर परिणाम अधुरो रहनसक्ने खतरा छँदैछ । सहिदहरूले गरेको बलिदानको सम्मान त्यतिखेर मात्रै हुन्छ जब हामी आफ्नै मनभित्रको अन्धकारलाई हटाउने, विवेकको ज्योति फैलाउने स्वजावगरणको क्रान्ति आफैंबाट सुरु गर्छौं।

आन्दोलन बाहिर हुन्छ, तर अन्तिम क्रान्ति भित्रै हुन्छ। सत्यताको खोजी, आत्मसमीक्षा, उर्जाध्यान र दिव्य नवव्रतको अभ्यासमार्फत जब व्यक्ति रुपान्तरित हुन्छ, व्यक्ति व्यक्तिको रुपान्तरणले समाज र राष्ट्रले दीगो रुपान्तरण पाउँछ।

यसैले भन्न सकिन्छ, नेपालका क्रान्तिहरू पटक पटक सफल भएर पनि नतिजामा अधुरा रहे। अब यो अधुरोपन हटाउन बाहिरी परिवर्तनसँगै भित्री रुपान्तरण सुरु गरौं। स्वजागरणलाई व्यक्तिगत अभ्यास मात्र नभई सामूहिक अभियान बनाऔं। राजनीतिक दलका घोषणापत्रहरु र व्यवहारहरु स्वजागरणको जगबाट विकसित हुन् दिव्य नवव्रत र स्वजागरण सार्वजनिक प्रशासनको नयाँ जग बनोस् अबको शिक्षाको उद्देश्य र प्रणाली आत्मजागरण केन्द्रित होस् सबै क्षेत्र तह र तप्काका जनशक्ति विकास स्वजागरणमार्फत हुन सकून् ।

अनि मात्र आजका जेन्जी पुस्ता र सोभन्दा पछिका पुस्ताहरुले खोज्ने पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न राज्य सक्षम हुनेछ । यो नै हामी सबै नेपालीको भविष्य हो र यहि बाटोले मात्र नेपाललाई स्थायी शान्ति, सुशासन र समृद्धितर्फ अघि बढाउन सक्छ।

अनिता निरौला र सुसना शर्मा (दुवै जीवन विज्ञान प्रशिक्षक)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?