News Summary
Generated by OK AI. Editorially reviewed.- जेनजी आन्दोलनको सुरुवात २३ र २४ भदौमा डिजिटल प्लेटफर्म टिकटक र डिस्कर्ड सर्भरबाट भएको थियो।
- संविधान प्रसाईंले टिकटकमा 'अगेन्स्ट द गभर्मेन्ट' अकाउन्ट खोलेर भ्रष्टाचारविरुद्ध आवाज उठाए।
- आन्दोलनको दोस्रो दिनदेखि बाहिरी र पार्टीगत मान्छेहरूले हिंसा गरेको संविधानले बताएका छन्।
हरेक विद्रोहको एउटा कथा हुन्छ । सुरुवात हुन्छ । कहिलेकाहीँ त्यो सुरुवात कुनै बन्द कोठाभित्र गरिएको बैठकबाट नभई गुमनाम अनलाइन फोरम र टिकटकको ‘फर यू पेज’ बाट सुरु हुन्छ ।
अब यो तथ्य भावी पुस्ताले पाठ्यक्रम र इतिहासमा पढ्ने छन् । किनकि, गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको सुरुवात डिजिटल प्लेटफर्ममा भएको थियो ।
भलै चरम भष्टाचार, सामाजिक सञ्जाल प्रतिबन्ध मुख्य कारण थिए । चरम भष्टाचारको विरोधस्वरूप टिकटकमा नेपोबेबी ट्रेन्ड सुरु भइसकेको थियो । यसमा नेताका सन्तान र सामान्य नागरिकबीचको जीवनशैली तुलना गर्ने गरिन्छ ।
यस्तै प्रकृतिका भिडियोहरू काठमाडौं घर भएका २३ वर्षीय संविधान प्रसाईंले पनि देखिरहेका थिए । तर सरकारले टिकटक, भाइबरबाहेकका सामाजिक सञ्जालहरू सूचीकरणमा नआएको भन्दै १९ भदौदेखि प्रतिबन्ध लगाइदियो । त्यसपछि सडक आन्दोलनहरू गर्नुपर्छ भन्ने खालका पोस्टहरू सञ्जालमै देखिन थाले ।
संविधान आफैं आईटीका विद्यार्थी । अध्ययनदेखि काम नै सञ्जालमा आधारित अनि सरकारको कार्यशैलीबाट दिक्क भइसकेका । जसको अन्त्य हुनुपर्छ, देशमा सुशासन हुनुपर्छ भन्ने मत भएका अनि आक्रोशको ज्वाला बालिरहेका थिए ।
त्यो बेलासम्म टिकटकमा उनको अकाउन्ट थिएन । तर नेपोबेबीको आक्रामक विस्तार त्यहीँबाट भइरहेको र त्यही अभियानको आडमा भ्रष्टाचारविरुद्ध आवाज उठाउनुपर्छ भन्ने झिल्काहरू देखिन थालेपछि भने उनले पनि टिकटकमा छद्मरूपी एउटा अकाउन्ट खोले ।
नाम थियो- अगेन्स्ट द गभर्मेन्ट । जसमार्फत २० भदौमा उनले एउटा भिडियो पोस्ट गरे, जसको सार थियो- सबै बोल्नैपर्छ । म बोल्छु, कोको बोल्ने हो ? एक्लो आवाजलाई सजिलै निमोठ्न सकिन्छ ।
त्यस भिडियोले सोचेभन्दा बढी ‘रिच’ पायो । त्यही भिडियोको कमेन्टमा उनलाई एउटा डिस्कर्ड सर्भरको लिङ्क कसैले दिएका थिए ।
टिकटकमा कमेन्टमा लिङ्क पोस्ट गर्दा सामान्य अवस्थामा जस्तो सिधैं एड्रेसमा पुग्न सकिँदैन । वैकल्पिक विधिमार्फत लिङ्कमा क्लिक गर्दा उनी ‘आईएनआरजी’ नामक डिस्कर्ड सर्भरमा पुगे।
त्यहाँ पहिल्यै नै २/३ सय जना जोडिइसकेका थिए । तर त्यो सर्भरमा मानिसहरूको बाढी नै आयो, यतिसम्म कि सर्भरले नै धान्न नसक्ने अवस्था बन्यो ।

अनुभव सुनाउँदै संविधान भन्छन्, ‘त्यसपछि नयाँ-नयाँ च्यानलहरू पनि तीव्र गतिमा बन्न थालेका थिए । त्यो सर्भरमा विशेषगरी २४ गते कसरी आन्दोलन गर्ने भन्नेबारे बहस भइरहेको थियो ।’
उनका अनुसार त्यही सर्भरको भ्वाइस च्याटमा भएको छलफलमा शान्तिपूर्ण आन्दोलन गर्ने, प्रहरीले जति पिटे पनि उनीहरूलाई फूल दिने जस्ता कुराहरू भइरहेको थियो ।
बहसमा उनले पनि आफ्नो कुराहरू राखिरहेका थिए । तर त्यो समूहमा भएका केही व्यक्तिहरू सहमत हुन नसकेपछि उनी वाईएनआरजी सर्भरबाट बाहिरिए । र, आफैं ‘द रिभोलुसन’ नामक अर्को डिस्कर्ड सर्भर बनाए ।
‘पर्पल पिरामिड’ नामक अर्का प्रयोगकर्तासँग मिलेर उनले २२ भदौ राति त्यो डिस्कर्ड सर्भर बनाएका थिए । त्यो बेलै सर्भरमा ३०० जना बढी जोडिएका थिए।
पारदर्शिताका लागि उनीहरूले को कहाँ छ ? के गर्दैछ ? सबै जानकारी एकअर्कालाई दिने व्यवस्था गरे । आन्दोलनमा पानी, प्राथमिक उपचारका लागि साथीभाइहरूमार्फत १२/१३ सय रुपैयाँ कोष पनि खडा गरेका थिए ।
त्यहाँ उनीहरू सबैले शान्तिपूर्ण आन्दोलन गर्ने, प्रहरीले लाठी/गोली हाने पनि आफूहरू विनम्र हुने जस्ता कुराहरूमा सहमत भएको थियो ।
आन्दोलनको पहिलो दिन, उनका साथीहरू ९ बजे आसपास नै माइतीघर पुगिसकेका थिए । उनी आफू भने अफिसको काम केहीबेरमा सकेर माइतीघर जान्छु भन्ने सोचमा थिए ।
तर, अफिसबाट निस्कन नपाउँदै उनलाई खबर आयो, आन्दोलन बिथोलियो । सोचे जस्तो शान्तिपूर्ण भएन । गोली चल्न थाल्यो ।
त्यहीबीच उनलाई अपरिचित नम्बरबाट आफू डाक्टर बताउने व्यक्तिको कल आयो । ती व्यक्तिले सिभिल अस्पतालमा घाइते राख्ने ठाउँ नभएको, उपचारका लागि स्रोत नभएको जस्ता खबर दिएको उनले सुनाए ।
त्यसपछि उनले घाइतेका उपचारमा सहजीकरण गर्न अफिसबाटै कल तथा खबर फैलाउन थाले । त्यो दिनभर उनी यही काममा व्यस्त रहे ।
दोस्रो दिन, अर्थात् २४ भदौमा उनी बिहानैदेखि सडकमा निस्किए । आन्दोलन लम्बिन सक्छ भन्ने सोचेर फन्ड जुटाउने प्रयास पनि थाले ।
एकाबिहानै मान्छेहरू सडकमा स्वस्फूर्त आउन थालिसकेका थिए । अनि संविधान आन्दोलनकारीका स-साना समूहलाई आमाको स्कुटरमा दुई कार्टुन पानी बोकेर बाँड्न निस्किए ।
त्यो बीचमा सुरुमा डिस्कर्ड सर्भरमा छलफल गर्दाको जस्तो परिणाम उनले केही पनि देखेननन् । कतै टायर बालेर बाटो रोकिएको थियो, कतै केपी ओलीको विरुद्ध नाराहरू लेखिएको थियो ।
त्यहीबीच नेताहरूको घरमा आगजनी हुन लागेको खबर फैलिन थाल्यो । दिनभरजसो प्राय: प्रदर्शनकारीहरूलाई पानी बाँड्ने काम गरेका उनले पूर्वप्रधानमन्त्री ओलीले राजीनामा दिएको खबर सुन्दा आन्दोलनको अन्त्य हुन्छ भन्ने सोचेका थिए ।
तर, त्यसपछाडि राजनीति सुरु भएको उनको बुझाइ छ ।
‘अहिले हामी ‘द रिभोलुसन’ लगायत २५/३० वटा अनलाइन ग्रुपको प्रतिनिधित्व गर्छौं । ती सबै ग्रुपमा गरेर हजारौंमा सदस्य छन् । संवादका लागि आर्मी/राष्ट्रपतिले बोलाए लगत्तै आफ्नो एउटा टिमले ठोस एजेन्डासहितको दस्तावेज तयार गरेको उनले बताए ।
‘हामीहरूलाई संवादमा आउन आर्मीका एक जनरलले कल गर्नुभएको थियो । त्यसपछि हामीले सबै ग्रुपको कुरा समेट्दै संसद् विघटनदेखि सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउनेसम्मको माग राखेको एउटा डकुमेन्ट बनाएका थियौं,’ उनले भने, ‘तर वार्तामा जान भनेर थापाथली नपुग्दै हामीलाई सुरक्षामा तैनाथ आर्मीहरूले ‘पास’ नभएको भन्दै रोके । पास भएकाहरूलाई समेत फर्काइँदै थियो । त्यसबेलै मैले शक्तिकेन्द्र र पहुँचको फोहोरी राजनीति सुरु भइसकेछ भन्ने महसुस गरेँ ।’
त्यसरी वार्तामा जान नपाएपछि उनीहरू घर फर्के । त्यो बीचमा दुर्गा प्रसाईं र हर्क साम्पाङ जस्ता पात्रहरू पनि जेनजी आन्दोलनको निकासको बैठकमा जोडिएका थिए । त्यसको विरोधस्वरूप उनीहरूले सञ्जालमा लेखिरहे ।
यता, ‘हामी नेपाल’ नामक समूह वार्तामा सक्रिय हुन थालेपछि भने आफूहरू अलि ढुक्क भएको संविधानको भनाइ छ ।
आजसम्म आइपुग्दा जेनजी विद्रोहको राप र ताप केही सेलाएको जस्तो भान हुन्छ । तर केही प्रश्नहरू अझै जीवित छन् । नेतृत्वविहीन माध्यममार्फत भएको आन्दोलनको आखिरी सुरुवाततिर संविधान जोडिएका थिए ।
उनको निष्कर्ष छ, पहिलो दिनको आन्दोलन जेनजीको आफ्नै रगत-पसिनाको थियो । दोस्रो दिनदेखि भने सुरुदेखि नै यसमा बाहिरी र पार्टीगत मान्छेहरू छिरेर हिंसा गरेका हुन् ।
फूल बोकेर गएका निहत्था किशोर-किशोरीहरू आगलागी गर्न सक्दैनन् भन्नेमा उनी विश्वस्त छन् । अब आफूहरू वार्तामा जान नपाएपछि विकसित घटनाक्रमहरूलाई नजिकबाट नियाल्ने उनको भनाइ छ ।
प्रतिक्रिया 4