
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालका शीर्ष नेताहरूको नाममा उद्योग वा खेतीपाती नभए पनि ठूलो सम्पत्ति र विलासी जीवनशैली देखिन्छ।
- राजनीतिलाई सेवा होइन, पेशा बनाउँदा भ्रष्टाचार, अस्थिरता र अवसरवाद बढेको छ।
- राजनीतिमा प्रवेश गर्ने पात्र आत्मनिर्भर हुनुपर्छ र जीवनभर पद कब्जा गर्ने परिपाटी अन्त्य गर्नुपर्छ।
नेपालका शीर्ष नेताहरूमा कसैको व्यापार छ जस्तो लाग्दैन। यिनीहरूका नाममा उद्योग वा खेतीपाती छैन। यिनीहरू कुनै रोजगारमा हुने त झन् कुरै भएन। तर कसैको पनि सम्पत्तिको कमी भने देखिंदैन। ठूलो घर, महँगा गाडी, जग्गा, बैंकमा करोडौं रुपैयाँ निक्षेप !
यी सबै कहाँबाट आए भन्ने प्रश्नमा जवाफ प्राय: मौन रहन्छ। हामी सहजै अनुमान गर्छौं, यो सब प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा राज्यकोषबाटै प्राप्त गरेका हुन्। जनता दिनरात पसिना बगाएर कर तिर्छन्, तर त्यो कर नेताहरूका विलासी जीवनशैलीको इन्धन बन्छ। यसै दृश्यले जेन–जी आन्दोलनको बीउ रोपेको हुनुपर्छ। र यसले एक गहिरो प्रश्न उठाउँछ
राजनीति वास्तवमै सेवा हो कि पेशा ?
राजनीति मूलत: समाजसेवाको उच्चतम रूप हो भन्ने भनाइ पुराना पुस्ताका आदर्शहरूले दिएको शिक्षण हो। तर आज नेपालमा राजनीति जीविकोपार्जनको प्रमुख पेशा बनेको छ। यही कारण देशमा भ्रष्टाचार, अस्थिरता, गुटबन्दी र निष्ठा भन्दा अवसरवाद हावी भएको छ।
राजनीतिमा प्रवेश गर्ने मान्छेको कुनै वैकल्पिक पेशा वा आत्मनिर्भर आधार नहुँदा ऊ पद, पहुँच र अवसरका लागि जे पनि गर्न तयार हुन्छ। जनताले दिएको कर, विकासका लागि आएको सहायता, सार्वजनिक सम्पत्ति—सबै ऊ र ऊ जस्तैहरूको अर्थात् झोलेहरूको जीवनयापनको आधार बनेको छ।
यो स्थिति निकै खतरनाक छ। जब राजनीति पेशा बन्छ, तब सेवा गर्ने भाव हराउँछ। जसको पेट भोको छ, जसलाई आवास, गाडी, सुविधा चाहिन्छ, उसले पदलाई साधन बनाउँछ। सत्ता र शक्तिलाई आफ्नै भरणपोषणको स्रोत बनाउँछ। अनि त्यहाँ मूल्य, आदर्श, विचार, नीति—यी सबै शब्द मात्र बन्छन्।
व्यवहारमा भने स्वार्थ, सिण्डिकेट र स्वजनपोषण हावी हुन्छ। यही कारण नेपालमा पटक–पटक जनआन्दोलन भयो, संविधान फेरियो, शासनको स्वरूप बदलियो भन्दा फरक नपर्ला। पहिले राणा, अनि पञ्च र हुँदाहुँदै जनताले मतदान गरेर छानेका प्रतिनिधिहरू..। तर नेतृत्वमा जो आए उनको शैली यस्तै रहे, परिवर्तन आएन।
जनताले ‘अब त यो पिंढी फरक होला’ भन्ने आशा गरे। २०४६ को आन्दोलनमा उठेका नेताहरूमा आशा गरियो, २०६२/६३ को आन्दोलनमा फेरि नयाँ पुस्तामा भरोसा गरियो। तर केही वर्ष नबित्दै त्यही प्रवृत्ति दोहोरियो—सम्पत्ति बढाउने दौड, गुटबन्दी, पद र शक्तिका लागि अनवरत संघर्ष। परिणामस्वरूप, जनता र मुलुकलाई पुन: निराशा हात लाग्यो।
अब हामीले दुई प्रश्नलाई गम्भीरतापूर्वक सोध्नैपर्छ। पहिलो, अहिले जीवनभर राजनीतिलाई पेशा बनाएका नेताहरूलाई कसरी व्यवस्थापन गर्ने? उनीहरूलाई वैकल्पिक बाटो वा उचित व्यवस्थापन नगरे उनीहरू फेरि–फेरि राजनीतिमै फर्किन्छन्। र फेरि–फेरि भ्रष्टाचार र अस्थिरताको चक्र दोहोरिन्छ।
दोस्रो, अब भविष्यमा राजनीति गर्ने वा नेतृत्व लिने पात्र कस्तो हुनुपर्छ ? के राजनीति गर्ने व्यक्ति आत्मनिर्भर हुनुपर्ने होइन? के उसले खेती, व्यापार, व्यवसाय वा सीपका आधारमा आफ्नो जीवनयापन गर्ने क्षमता राख्नुपर्ने होइन? यदि यस्तो भएन भने फेरि अहिलेको अवस्था आउँदैन भन्न सकिएला?
नेपालको राजनीति शुद्ध बनाउन अब दुईवटा आधारभूत सुधार आवश्यक छन्। पहिलो—अहिलेसम्म राजनीतिलाई पेशा बनाएका नेताहरूलाई कुनै रूपमै व्यवस्थित अवकाश दिनुपर्छ। नत्र २७ घण्टामा ढलेका ७० जना युवाको आहुतिले सार्थकता पाउँदैन।
निर्विकल्प छोड्नु भनेको फेरि उनीहरूलाई सल्बलाउन अवसर दिनु जस्तै हो। त्यसैले विकल्प पेन्सन प्रणाली पनि हुन सक्छ, नीतिगत अनुसन्धान/सल्लाहकार परिषद्मा उनीहरूको प्रयोग पनि हुन सक्छ, वा उनको अनुभवलाई समाजसेवामा रूपान्तरण गर्ने नयाँ ढाँचा पनि हुन सक्छ। तर एकै व्यक्तिले जीवनभर पद र शक्तिलाई कब्जा गर्ने परिपाटी अन्त्य गर्नैपर्छ।
दोस्रो, भविष्यका लागि राजनीति गर्ने पात्र आत्मनिर्भर हुनैपर्छ। राजनीतिक पदलाई जीविकोपार्जनको साधन बनाउने पात्र प्रवेश नै गर्न नपाओस्। उदाहरणका लागि, यदि कसैले खेती गर्छ, व्यवसाय गर्छ वा जागिरबाट अवकाश प्राप्त छ भने मात्र ऊ राजनीतिमा प्रवेश गरोस्।
यसरी प्रवेश गर्नेले भोलि पनि आफ्नो जीवनयापनका लागि पदमा निर्भर रहनुपर्दैन। जब पद छोड्छ, ऊ सहजै आफ्नै पेशामा फर्किन सक्छ। यसरी मात्र राजनीति सेवा बन्न सक्छ। विदेशी उदाहरणले पनि यस्तै सिकाउँछ।
पश्चिमी मुलुकमा अधिकांश सांसद वा नेता कुनै न कुनै पेशाबाट आएका हुन्छन्। कोही वकिल, कोही शिक्षक, कोही उद्यमी, कोही चिकित्सक। उनीहरूले आफ्नो जीवनयापन पेशाबाटै गर्छन्, राजनीति भने सेवा वा योगदानको माध्यम हुन्छ। त्यसैले त्यहाँ राजनीति पेशा होइन, जिम्मेवारी हो। तर, नेपालमा राजनीति जीवनयापनकै माध्यम बनेपछि नैतिकता, पारदर्शिता र जनउत्तरदायित्व माग्नु कठिन हुन्छ।
नेपालमा भने राजनीतिक दलका नेताहरूले आफ्ना पार्टीलाई ‘व्यवसाय’ जस्तै चलाउँछन्। पद पाएपछि सरकारी स्रोत–साधन आफ्नो गुटलाई बाँडफाँड गर्छन्। पद गुम्यो भने पुन: पाउने योजनामा लाग्छन्। जीवनको अन्तिम दिनसम्म पनि त्यही दौड जारी रहन्छ।
यही कारण दलभित्र आन्तरिक लोकतन्त्र छैन, नेतृत्वको हस्तान्तरण छैन, नयाँ पुस्ता हरेक पटक निराश हुन्छ। अब यति स्पष्ट छ— राजनीतिलाई सेवा बनाउन, यसलाई पेशा बनाउने संस्कार तोड्नैपर्छ। यसका लागि कानूनी र नैतिक दुवै संरचना आवश्यक छन्।
कानूनी रूपमा, संसद् वा मन्त्री पदमा कार्यकालको सीमा तोक्न सकिन्छ। जेन–जीले उठाएको एउटा मुद्दा यही छ र उनीहरूले अधिकतम दुई कार्यकाल मात्र भनेका छन्। यो एउटा राम्रो पक्ष हो। यसले नैतिक रूपमा, आत्मनिर्भर व्यक्ति मात्र राजनीतिमा प्रवेश गर्ने संस्कार विकास गर्छ। र यस्तै गरिनुपर्छ। यसरी राजनीति जीवनभरको पेशा होइन, निश्चित अवधिको सेवा मात्र बन्न सक्छ।
यसबीचमा एक अर्को गम्भीर प्रश्न पनि छ। अहिलेका नेताहरूलाई व्यवस्थापन कसरी गर्ने? उनीहरूले जीवनको तीन/चार दशक राजनीतिमै बिताएका छन्। खेती गर्ने हात छैन, व्यापार गर्ने आँट छैन। यिनलाई सीधै बाहिर निकाल्दा देश फेरि अराजकतातर्फ जाने खतरा छ।
त्यसैले उनीहरूको अनुभवलाई सीमित तर उपयोगी भूमिकामा रूपान्तरण गर्न सकिन्छ— जस्तै नीतिगत सल्लाहकार परिषद्, विश्वविद्यालय वा संस्थामा राजनीतिक शिक्षण वा स्थानीय निकायलाई परामर्श दिने व्यवस्था। तर सत्ताको केन्द्र, मन्त्री र प्रधानमन्त्रीको पद भने नयाँ पुस्ताका आत्मनिर्भर पेशाकर्मीलाई दिनुपर्छ। यदि यो बाटो लिइएन भने नेपाल फेरि त्यही चक्रमा अड्किरहन्छ। जनता फेरि निराश हुनेछन्, युवा विदेशिने छन्, भ्रष्टाचार झन् गहिरो हुनेछ।
राजनीति कुनै जागिर होइन। यो कुनै दीर्घकालीन पेन्सन वा पारिवारिक सम्पत्ति बाँड्ने व्यवसाय पनि होइन। यो त जनताले दिएको एउटा अवसर हो, अस्थायी जिम्मेवारी हो भन्नेमा स्पष्ट हुनुपर्छ। जसरी शिक्षकले निश्चित अवधि पढाउँछन्। त्यस्तै राजनीतिज्ञले पनि केही समय समाजलाई सेवा गर्छन्, अनि अवकाश लिएर आफ्नो काममा फर्किन्छन्।
नेपाली समाज अहिले चौबाटोमा छ। एकातिर पुराना नेताहरूको दीर्घकालीन कब्जा छ, अर्कोतिर युवा पुस्ताको निराशा। यदि हामीले राजनीतिलाई पेशाबाट सेवातर्फ मोड्न सक्यौं भने यो सम्भव छ। त्यसका लागि कानूनी प्रावधान, सामाजिक चेतना र जनदबाब तीनै पक्षहरू आवश्यक छन्।
भविष्यको राजनीति कस्तो देखिन्छ? यस्तो जहाँ नेताले पद पाएर खुशी होइन, जिम्मेवारी महसुस गरोस्। जहाँ मन्त्री भएको मान्छे फेरि खेत जोत्न गयो भने पनि समाजले सम्मान गरोस्। जहाँ सांसद भएको व्यक्ति पद गुमाएपछि आफ्नै व्यवसायमा फर्कियो भने पनि उसको इज्जत घट्दैन, बरु बढ्छ।
जहाँ राजनीति गर्ने पात्रलाई आत्मनिर्भर जीवनयापनको आधार हुन्छ, र उसलाई जनताले सेवा गर्ने विश्वास गर्छन्। हो यस्तो भविष्य बनाउन सजिलो छैन। तर असम्भव पनि होइन। यदि हामीले आजैदेखि राजनीति र पेशाको भिन्नता स्पष्ट गरेनौं भने, भोलि पनि नेताहरूलाई ‘पेशा राजनीति’ गर्ने ठाउँ मिलिरहन्छ।
अन्तत: प्रश्न यही हो, हामी राजनीति सेवा चाहन्छौं कि पेशा? यदि सेवा चाहन्छौं भने नेतालाई आत्मनिर्भर बनाउने, पदलाई अस्थायी बनाउने र राजनीति जीवनयापनको साधन होइन, समाजसेवाको उच्चतम स्वरूप हो भन्ने संस्कार अब स्थापित गर्नैपर्छ।
प्रतिक्रिया 4