
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभापति देउवाको निवासमा भेटिएको नोटबारे राज्यले निष्पक्ष अनुसन्धान गर्नुपर्ने बताएका छन्।
- शर्माले नोटबारे स्पष्ट पार्ने दायित्व घरवालाको भएको र उनले सभापतिलाई यस विषयमा ध्यानाकर्षण गराइसकेको उल्लेख गरे।
- सम्पत्ति शुद्धीकरण विभागले नोट भेटिएको विषयमा अनुसन्धान गरिरहेको छ भने सभापति देउवाको सचिवालयले तस्वीर र भिडियो बास्तविक नभएको बताएको छ।
६ असोज, विराटनगर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवाको निवासमा भेटिएको भनिएको नोटका विषयमा छानबिन हुनुपर्ने बताएका छन् ।
अनुमानका भरमा चर्चा–परिचर्चा गर्नुभन्दा पनि अनुसन्धानको नतिजालाई स्वीकार गर्नुपर्ने उनले बताए ।
जेनजी आन्दोलनका क्रममा अराजक समूहले आगजनी गरेको कोइराला निवासमा सोमबार आइपुगेका शर्माले पत्रकारहरूसँगकाे कुराकानीमा देउवा निवासका विषयमा देखिएकाे विषयमा राज्यका निकायले छानबिन पनि गरिरहेको बताए ।
जेनजी आन्दोलनका क्रममा अराजक समूहले आगजनी गरेकाे सभापति शेरबहादुर देउवा निवासमा डढेका नाेटहरू फेला परेका भिडियोहरू सार्वजनिक भएका थिए ।
महामन्त्री शर्माका अनुसार, यो विषय कांग्रेसका जिल्ला सभापतिहरूको बैठकमा पाल्पाका सभापति हिमाल श्रेष्ठ र इलामका सभापति डम्बर खड्काले सभापति निवासमा भेटिएको नोटका विषयमा प्रश्न उठाएका थिए ।
त्यसबेला पनि आफूले यसलाई (नोटका विषयमा) स्पष्ट पार्ने दायित्व सम्बन्धित (घरवाला) को भएको बताएको उनले दाबी गरे ।
उनले यो विषय वस्तुगत अनुसन्धान राज्यले नै गर्नुपर्ने बताए । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग लगायतका राज्यका निकायहरूले यस विषयमा अनुसन्धान गरिरहेको पनि उल्लेख गरे ।
‘निष्पक्ष रुपमा भएको अनुसन्धानको तहतबाट आएको जे विषय हुन्छ, त्यो विषयलाई हामी सबैले मानेर जानुपर्छ, महामन्त्री शर्माले भने ।
आफूले टेलिफोन सम्पर्क गरेर सभापतिलाई यो विषयमा ध्यानाकर्षण पनि गराएको उनले बताए ।
‘यसलाई स्पष्ट गर्ने दायित्व घरवालाकै हो, स्पष्ट गर्ने कुरा उहाँहरूले गर्नुपर्छ । मैले ध्यानाकर्षण पनि गराइसकेको छु,’ उनले भने,‘ यसलाई राज्यले अनुसन्धान गरेर हेर्ने हो, आशंका मात्रै हुन सक्छ । सत्य हुन सक्छ भन्ने कुरा त हामीले अनुमानका भरमा भन्ने कुरो भएन । यसलाई बस्तुगत हेर्ने दायित्व राज्यको हो,’ उनले भने ।
‘यसलाई धेरै चर्चा–परिचर्चामा जानुभन्दा नै समग्र देशमा जे जति प्रकारका क्षति अथवा जे जति प्रकारका प्रश्न उठ्दै गरेका, भएका, ध्वस्त भएका चीजहरु हुन्, यी सबै कुरा एउटा अनुसन्धानको तहतबाट आउँछ,’ उनले भने ।
जलेका नोट भेटिएको विषयमा सम्पति सुद्धिकरण विभागले अनुसन्धान गरिरहेको छ । सभापति शेरबहादुर देउवाको सचिवालयले भने भेटिएको भनिएको तस्बीर र भिडियो बास्तविक नभएको बताएको छ ।
पार्टी र सभापति स्वस्थ्य हुनुपर्छ
महामन्त्री शर्माले पार्टी र पार्टी सभापति शेरबहादुर देउवाको स्वस्थ्य आवश्यक रहेको बताएका छन् ।
नेतृत्व परिवर्तनको विषयमा उठेको प्रश्नमा उनले पार्टी सभापति र पार्टीको स्वस्थ्य हुनुपर्ने बताए ।
‘एउटा संकटमा परेको बेलामा पार्टीलाई उत्थान गरेर नयाँ सन्दर्भमा लिएर जाने दायित्व जति घनिभूत छ, त्यत्तिकै सभापतिको स्वास्थ्यका प्रति राख्नुपर्ने संवेदनशीलता पनि त्यत्तिकै जरुरी छ,’ उनले भने, ‘सभापतिजीको स्वास्थ्य लाभ हुँदै गरेको बेलामा स्वास्थ्य लाभ हुने कुरालाई जति शुभभाव राख्न जरुरी छ, त्यत्तिकै कांग्रेसकै स्वास्थ्य लाभ गर्ने कुरालाई पनि उत्तिकै प्राथमिकता र ध्यान दिएर जान जरुरी छ ।’
महामन्त्री शर्माले नयाँ परिस्थितिमा पार्टी पनि नयाँ ढंगले अघि बढ्ने बताए ।
‘कोइराला निवासको यो माटोमा उभिएर भन्छु, उनले भने,‘ हामी नयाँ ढंगले आउनेछौं, मुलुकको अवस्था सम्हाल्नेछौं । मुलुकलाई नयाँ सम्भावनातिर लिएर लैजान कृतसंकल्पित छौं ।’
प्रतिक्रिया 4