
७ असोज, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक मनोज सिलवालले जस्तोसुकै चुनौती आएपनि पार गर्नेगरी काम गर्ने बताएका छन् ।
मंगलबार पदभार ग्रहणपछि आयोजित कार्यक्रममा बोल्ने क्रममा उनले यस्तो बताएका हुन् । प्राधिकरणमा ८ वर्षसम्म काम गरेका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ नै तालुकदार मन्त्रालयको जिम्मेवारीमा रहेको बताउँदै काम गर्न अझै सहज हुने उनको भनाइ थियो ।
‘म सँग १२ हजार कर्मचारी छन् । चारवटा सहयोगी ट्रेड युनियन छन् । चारवटा सहयोगी ट्रेड युनियन छन् । म पटक्कै विचलित छैन,’ सिलवालले भने, ‘जे जस्तो चुनौती आउँछ म पार गर्छु । चुनौतीसँग डराउने होइन, भिड्ने हो ।’
उनले सरकारबाट पनि सहयोग पाउने बताउँदै यस्तो परिस्थिति फेरि फेरि नआउने जिकिर गरे ।
‘यससँगै सकारात्मक कुरा के हो भने यहीँ ८ वर्ष भिडेर जानुभएको निवर्तमान कार्यकारी प्रमुखज्यू मन्त्री हुनुहुन्छ । नेपाल सरकारबाट पनि हामीले सहयोग पाउँछौं । यस्तो परिस्थिति भविष्यमा नआउला । अहिले हामीलाई काम गर्ने परिस्थिति एकदमै सहज छ,’ सिलवालले भने ।
आफूले पाएको नियुक्ति राजनीतिक भएको भन्दै उनले यसको अर्थ पनि बुझेको बताए ।
‘यो राजनीतिक नियुक्ति हो, यसको अर्थ मैले बुझेको छु । यो सधैं म बस्छु भनेर आएको होइन । म कुनै लोकसेवा लडेर आएको होइन,’ उनले अघि भने, ‘यसको अवधि हुँदैन । जति दिन बस्छु काम गर्छु । जुन दिन काम गर्न सक्दिनँ त्यो दिन छाडेर जान्छु । अर्को सरकार आएर छाड भनेको दिन छाड्छु ।’
उनले आफ्नो फोटो कार्यालयमा नटाँस्न पनि कर्मचारीलाई आग्रह गरे । यदी काम राम्रो भएको खण्डमा मात्रै फोटो टाँस्न उनको अनुरोध थियो ।
‘यहाँ कुनै फोटो टाँस्न पनि आवश्यक छैन । मैले राम्रो काम गरेँ भने फोटो टाँस्नुहोला नत्र पर्दैन,’ उनले भने ।
प्रतिक्रिया 4